उत्तरी बस्तीमा बूढापाका मात्र
683 पटक पढिएको
सेर्तुङ (धादिङ), श्रावण १९ – धादिङका उत्तरी बस्तीमा युवायुवतीहरू फेला पर्दैनन् । भूकम्पपीडितको राहत र परिचयपत्र लिने लाममा होस् वा अन्य कुनै भेलामा होस् सबै बूढापाका मात्रै जम्मा हुन्छन् । तामाङ समुदायमात्र बसोबास उत्तरी भेकका बूढापाकालाई अरू परिवार खै भनेर सोध्दा जबाफ आउँछ, छोरा बुहारी उतै शिविरमा गएका छन्, घर भत्केको छ, खाने कुरा छैन । गाउँमा हामी बूढाबूढी मात्रै छौं ।
युवा नबस्ने उत्तरी बस्तीमा भूकम्पपछि आएका पनि फर्के, बस्तीमा भएका पनि श्रीमती लिएर विस्थापित भई सदरमुकामका विभिन्न शिविरमा छन् । उत्तरी धादिङका दर्जनौं तामाङ बस्ती यतिखेर युवाविहीन भएको छ । भूकम्पपीडितलाई सरकारले सदरमुकाम वा तराईमा घडेरी दिने गलत प्रचारले वृद्ध आमाबावुलाई जोखिमयुक्त बस्तीमा छोडेर सबै उतै झरेका हुन् ।
छोरा तोर्केल तामाङलाई सदरमुकामको अल्छीडाँडा पठाएका बावु सुकसिंह सेर्तुङ–९, हिन्दुङमा एक्लै छन् । ‘पूरै बस्ती जोखिम छ भनेर बूढापाकाकै भरमा छोडे,’ सुकमानले भने । सुकमानका छोरामात्र होइन, १९ वर्षीय सुरेन्द्रले ८५ वर्षीय बावुलाई चर्केको घरमा एक्लै छोडेका छन् ।
छोरा तुलुमान र बुहारी लुलीमायाले पनि वृद्ध बावु नाङ्गे तामाङलाई छोडेका छन् ।
बस्तीमा अहिले बूढापाकाको काम भत्केको घर कुर्ने, संस्थाको राहत थाप्ने र भएका गाईबस्तु चराउने हो । आपत विपत् पर्दा र मकै, धान, कोदो रोप्ने बेला आएर उनीहरू पुन: सदरमुकाममा रहेका अस्थायी विस्थापित शिविरमै फर्केका छन् । राहत लिनेले बस्तीमा पनि विस्थापितको नामसमेत जनाएर लिन्छन् । शिविरमा बस्नेले पनि घरका बूढापाकाको नाम जोडेर लिन्छन् । सरकार र अन्य दाता परिवार संख्या यकिनै नगरी शिविरकै अगुवाकै विश्वासमा राहत बाढिरहेका छन् ।
हाल सेर्लुङमा १५ सय ३० घरधुरी छ । ७० प्रतिशतभन्दा बढी थपेको लापाका बस्तीमा बूढापाका र घरपालुवा पशुबस्तुमात्रै छन् । गाउँबस्ती सुनसान छ । सदरमुकामका ८ र सल्यानटारका शिविरमा ६४ जना बूढापाका मात्रै छन् । अन्य युवाहरूको संख्या ४ हजार ७ सय नाघेको छ ।
भूकम्पले विनाश गरे लगत्तै बैदेसिक रोजगार, भारतीय तथा बेलायती सेना, कालापारलगायत विभिन्न पेसामा राजधानीलगायत अन्य जिल्लामा बस्ने युवाहरू सबै जिल्लामा फर्केका थिए ।
‘सबै युवाहरू बस्तीमा आएर तत्काल अस्थायी टहरा निर्माण गरी जस्तापाता र कर्कटपाता सहयोग पाएर आवास व्यवस्था गरी सदरमुकाम लगायत अन्य जिल्ला फर्केका छन् ।’ तिप्लिङका गाविस कार्यालय सहायक बुद्धि थापा तामाङले बताए ।
सदरमुकाममा घर निर्माण गरेका, दशकौंदेखि व्यापार गरिबसेका, श्रीमान् विदेश गएपछि केटाकेटी पढाउन सदरमुकामै बसेकाहरू पनि अस्थायी शिविरमा त्रिपाल हालेर राहत लिने गरेका छन् । शिविरमा उनीहरूको त्रिपालमात्रै हुन्छ सुत्ने र भान्सा बजारकै घरमा हुन्छ । सदरमुकाममा त्रिपालमा बसेका १ हजार ४५ घरधुरी र सल्यानटारमा बसेका ६८ घरधुरीका ४ हजार ६ सय जनसंख्यामा आधा पनि फेला पर्दैनन् । बूढापाकाको संख्या न्यून छ ।
-इ कान्तिपुरबाट