नयाँ घर बनाउँदै हुनुहुन्छ ? आयो २७ बुँदाको भवन निर्माणसम्बन्धी मापदण्ड

621 पटक पढिएको

सम्पादक: Dhading News

bhawanधादिङ साउन ३१–तपाई नयाँ घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईले २७ बुँदाको कडा सर्त पालना गर्नुपर्छ । सरकारले स्थानीय विकास मन्त्रालय मार्फत बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धि आधारभूत मार्गदर्शन २०७२ ल्याएको छ ।

मन्त्रालयले राष्टिय भवन संहिता २०६० तथा भवन सम्बन्धी परिमार्जित मापदण्डहरुलाई सहरी विकास मन्त्रालयको प्राविधीक सहयोग र समन्वयमा सबै नगरपालिका तथा गाविसहरुमा कार्यान्वयन गरी सुरक्षित एंव भूकम्प प्रतिरोधात्मक आवास, व्यवस्थित बसोबास प्रवद्र्धनको निमित्त यस्तो सहरी योजना तथा भवन निर्माण मापदण्ड ल्याएको हो ।

उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी सो मार्गदर्शन सार्वजनिक गरेका हुन् ।

मार्गदर्शनमा सडकको चौडाइ, खाली राख्नुपर्ने जमिन र खुला क्षेत्रलगायत ५५ वटा मापदण्ड जारी गरिएको मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिए ।

“मापदण्डमा सडकको न्यूनतम चौडाइ छ मिटर हुनुपर्ने, सडकको न्यूनतम सेडव्याक सडक किनाराबाट १.५ मिटर छोड्नुपर्ने र सडकको न्यूनतम क्षेत्राधिकार छ मिटर कायम हुनुपर्नेलगायत मापदण्ड रहेको छ”– उनले भने ।

मापदण्ड अनुसार अब नयाँ बन्ने हरेक घरको वरपर ३० देखि ४० प्रतिशत जमिन खुल्ला हुनुपर्ने छ । सरकारी, अर्ध सरकारी वा सार्वजनिक प्रयोजनका लागि बनाइने भवन वरपर भने ५० प्रतिशत जमिन खाली हुनुपर्नेछ । यस्तै सार्वजनिक ऐलानी जग्गालाई खुदा क्षेत्र घोषणा गरी हरियाली पार्कको रुपमा रुपान्तरण गर्नुपर्नेछ । मन्त्रिपरिषदको निर्णयविना सार्वजनिक जमिन कसैलाई भाडामा वा कुनैपनि सर्तमा उपयोगका लागि दिन पाइने छैन । सडकको चौडा न्युनतम ६ मिटर

स्थानीय विकास मन्त्रालयले ल्याएको नयाँ मापदण्ड अनुसार अब हरेक सडकको चौडाइ कम्तिमा ६ मिटर हुनेछ । यो समथर र शहरी क्षेत्रका लागि हो । भिरालो र हिमाली क्षेत्रमा भने सडक चौडा न्युनतम ४ मिटर हुनुपर्नेछ ।

सडक देखि १ दशमलब ५ मिटर छोडेर मात्र घर बनाउन पाइनेछ ।

पर्खालको पनि नक्सा पास/अग्ला पर्खाल भत्काउने

पर्खाल बनाउनु पूर्व स्थानीय सरकार अर्थात गाविस वा नगरपालिकाबाट अनिवार्य नक्सा पास गराउनु पर्नेछ । विभिन्न प्रयोजनमा लगाइने पर्खालको अधिकतम उचाइ ४ फिट तोकेको छ । र, चारफिट भन्दा अग्ला र जोखिमयुक्त पर्खाल भत्काइने उल्लेख छ । चारफिट भन्दा अग्लो बार आवश्यक परे, ४ फिट पर्खालमाथि बढिमा ३ फिट जाली राख्न पर्नेछ । र घर तथा जग्गा जमिनका लागि हरितबार प्रयोग गर्नुपर्नेछ ।

पाखामा घर बनाउँन नपाईने

अब भिराला जमिनमा मनलागी घर बनाउन प्रतिवन्ध लगाएको छ । नयाँ मापदण्ड अनुसार ३० डिग्रीभन्दा भिरालो जमिन र भुगर्भ विभागले जोखिमयुमक्त भनी तोकेको क्षेत्रमा भवन बनाउन रोक लगाएको घर बनाउन पाइदैन । गाउँमा समेत घर बनाउँदा जिल्ला दैवीक प्रकोप वा भुगर्भ विभागले बस्न मिल्ने स्थान भनी प्रमाािण्त गरेको हुनुपर्छ ।

मान्छे बस्न बनाएको घरमा कार्यालय खोल्न नदिने

अबबाट आवासका लागि नक्सापास भएको भवनलाई व्यवसायीक प्रयोजनमा भाडामा लगाउन पाइने छैन । यस्तै भवन निर्माण सम्पन्न प्रतिवेदन नभएका भवनलाई स्कुल, अस्पताल जस्ता सार्वजनिक प्रयोजनमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

घरको नक्सा पास गाविस वा नगरपालिकाले गर्न नपाउने

स्थानीय निकायका कर्मचारीले आफ्नो स्थानीय निकाय भित्रका भवनको नक्सा पास गर्न पाउँदैनन् । तर हरेक नगरपालिकामा इञ्जिनियर काउन्सिलमा दर्ता भएका २ जना इञ्जिनियर हुनुपर्नेछ ।

यसैगरि अब नयाँ भवन निर्माणाधिन स्थलमा अनिवार्य रुपमा भवन निर्माण इजाजत पत्र राख्नु पर्नेछ । एक हजार भन्दा बढि घरधुरी भएका गाविसहरुमा समेत यो मापदण्ड लागु हुनेछ ।

यस्तै शहरभित्र रहेका अहिलेका स–साना गल्लिको चौडाइ समेत कम्तिमा ४ मिटर तोकिएको छ । भवनको एकरुपता र शहरी सौन्दर्यताका लागि संहिताले अब हरेक क्षेत्रमा सरकारले तोकेको डिजाइन, तला र रंगमा मात्र घर बनाउन पाइनेछ । सरकारले हरेक क्षेत्रमा छुट्टा छुट्टै रंग, आकार र डिजाइन तोक्नेछ । bhawan-sanhita a

b