जस्तापाता तत्काल ढुवानी गर्न गैरसरकारी संस्थालाई दबाब, धादिङबाट किन फर्कीयो एक्टेट नामक गैसंस

441 पटक पढिएको

सम्पादक: Dhading News

आफैंले गरेको सम्झौता अनुरुप भूकम्प पीडित बस्तीहरुमा जस्तापाता ढुवानी नगर्ने संस्थालाई स्थानीय प्रशासन र दातृ निकायहरुले तत्काल ढुवानी गराउन चरम दबाब दिएका छन् ।

जिल्लाको उत्तरी भेगस्थित ५ गाविसहरुमा अस्थायी आवास निर्माण गर्न जस्तापाता लगायत आवस्यक सामाग्री वितरण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिसँग सम्झौता गरि अहिलेसम्म ढुवानी नगर्ने संघसंस्थालाई स्थानीय प्रशासन र दातृ निकाय अन्तर्राष्ट्रिय आप्रवासी संगठन, विश्व खाद्य संगठनहरुले लिखित र मौखिक दबाब दिएका हुन् ।

जिल्लाको उत्तरी भेगका लापा र सेर्तुङ्का ५ हजार घरधुरीलाई जस्तापाता वितरण गर्न जिम्मा लिएको अन्तर्राष्ट्रिय गैसस एक्टेडले हालसम्म ढुवाना नगरेपछि दातृ निकायले उक्त संस्थालाई जिल्लाबाट फिर्ता गरेको छ ।

५ हजार घरधुरीलाई वितरण गर्न जस्तापाता खरिद गरि सल्यानटारमा मासिक २४ हजार खर्चेर गोदाम राखेको एक्टेडले उत्तरी भेकमा एक जना पनि कर्मचारी खटाउन नसकेर वितरणमा अवरोध भएको हो ।

हेलिकप्टरबाट ढुवानी गर्न भाडा रकमको अभावमा आलटाल गरि रहेको एक्टेडले स्थानीय प्रशासनसँग साउन मसान्तसम्म ढुवानी गरि सक्ने लिखित कागज गरे पनि भदौ अन्तिम सातासम्म नगरेपछी सबै कर्मचारी जिल्लाबाट फिर्ता गरेको छ ।

ढुवानी र वितरण नगर्ने र जिल्लामा खटिएका कर्मचारीहरु पनि नबस्ने भएपछि दातृ निकायहरुले सबै सामाग्री तत्काल फिर्ता गर्न परिपत्र गरेका छन् । एक्टेडबाट करिव एक लाख केजी जस्तापाता बुझेर पैदल मार्गबाटै ढुवानी गर्न जिम्मा लिएको संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का पदाधिकारीले जस्तापाता बुझ्न आउँदा जिल्लामा कर्मचारी फेला पारेनन् ।

विभिन्न संस्थाले कबुल गरेका पुननिर्माण सामाग्रीहरु सदरमुकाम लगायत जिल्लाका विभिन्न गोदामहरुमा ३ महिनादेखि थन्केका छन् ।

विनाशकारी भूकम्पपछि प्रतिस्पर्धामै विकट भेकमा अरुलाई जान नदिएर आफैंले जिम्मा लिएका अक्सफाम, एक्टेड नेपाल, ह्याण्डीक्याप, फोकस नेपाल, नेपाल जिसस सोसाइटी नामक संघसंस्थाहरुले खाद्यान्न लगायत उत्तरी भेकका ६ गाविसका सबै घरधुरीलाई ६२ केजी तौलको २ बण्डलका दरले जस्तापाता र आवश्यक सामाग्री ढुवानी गरि दिने जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग लिखित सम्झौता गरेका थिए ।

‘लिखित सम्झौता गरेका संघसंस्थाहरुले २ पटक समयसीमा नाघेर अन्तिम समय साउन अन्तिम सातासम्म तोक्दा पनि ढुवानी भाडा रकमको अभाव र हेलिकप्टर अभाव देखाउँदै निर्माण सामाग्री पुर्‍याउन सकेनन्, यथाशीघ्र पुर्‍याउन पत्राचार गरेका छौं,’ विपद् व्यवस्थापन समितिका सूचना अधिकारी भोला गौतमले भने ।

विस्व आप्रवासी संघको आर्थिक सहयोगमा लापाका १ हजार ३ सय ६८ घरधुरी र सेर्तुङका एक हजार १ सय ८६ घरधुरीलाई जस्तापाता वितरण गर्ने जिम्मा एक्टेड संस्थाले पाएको थियो । उसले सेर्तुङका ६ सय ४५ घरधुरी मात्रै वितरण गरि चुपचाप बसेकोछ । लापाका पुरै घरधुरी र सेर्तुङका ५ सय ४१ घरधुरीलाई वितरण गर्न बाँकी छ ।

सत्यदेवी गाविसका ९ सय २७ घरधुरी लाई वितरण गर्ने जिम्मा लिएको अक्सफामले पनि हालसम्म जस्तापाता जिम्मा लिएको गाविसमा निर्धारित समयमा पुर्‍याउन सकेन भने ओपेरनको सहयोगमा जस्तापाता वितरण गर्ने जिम्मा लिएका फोकस नेपाल तथा नेपाल जिसस सोसाईटीले झार्लाङका ९ सय ६६ घरधुरी लाई हाल सम्म वितरण गरेको छैन ।इ–कान्तिपुरबाट