केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा-१२ दलको हस्ताक्षर सहित उमेद्वारी दर्ता

1252 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Kp-oli-At-Press-Meet

२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ ।

व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् ।

केपी ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

Kp-Oli-Prachanda-And-Kamal-Thapa

ओलीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । एमाओवादी र राप्रपा नेपालको समर्थन पाएपछि ओली प्रधानमन्त्री हुने पक्कापक्की भएको छ ।

एमालेका १८३, एमाओवादीका ८३ र राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन छ ।

प्रधानमन्त्री बन्न ओलीलाई आवश्यक ३०० मत पुर्‍याउन तीन दलबाहेक थप ९ मतमात्रै चाहिन्छ । यसका लागि राप्रपासहितका दलहरुले सहमति जनाइसकेकाले ओलीको बहुमत निश्चित देखिएको छ ।

१२ दलको हस्ताक्षर

संसद सचिवालयमा उमेद्वारी दर्ता गर्दा ओलीको समर्थनमा एक स्वतन्त्रसहित १२ दलका नेताले हस्ताक्षर गरेर सहमति जनाएका छन् ।

ओलीलाई समर्थन जनाउनेहरुमा एमाओवादी र राप्रपा नेपालसहित नेकपा माले, राप्रपा, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टी, मधेस समता पार्टी, नेपा पार्टी, बहुजन समाज पार्टी लगायत रहेका छन् ।

बाह्र पार्टीका तर्फबाट सीपी मैनाली, चित्रबहादुर केसी, यशोदा लामा, विश्वेन्द्र पासवान, मेघराज नेपाली दुषाद, शिवलाल थापा लगायतले हस्ताक्षर गरेका छन् ।

राप्रपाका दीपक बोहोरा आउन ढीला भएकाले उमेद्वारी मनोनयनका बेला राप्रपाको हस्ताक्षर छुटेको छ । स्वतन्त्र सभासद अत्तहर कमाल मुसलमानले पनि ओलीको पक्षमा हस्ताक्षर गरेका छन् अनलाइन खबरले समाचार लेखेको छ ।