भेडाच्यांग्राको मूल्य दोब्बर

688 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

vedaआश्विन २७, २०७२- यहाँका ग्रामीण क्षेत्रमा दसैंका बेला जनजिब्रोमा एउटा भनाइ छ ‘प्रसादका रूपमा भए पनि दसैंमा च्यांग्राको मासु चाख्नैपर्छ ।’ तर, अब यो प्रसाद यसपटक सामान्य आर्थिकस्तर हुनेको पहुँचभन्दा निकै परको कुरा भएको छ । 

यो वर्ष मुस्ताङी भेडाच्यांग्राको मूल्य गत वर्षको तुलनामा दोब्बर महँगो भएको छ । कुस्मालगायत जिल्लाका विभिन्न बजार क्षेत्रमा किनबेच सुरु भएको च्यांग्राको मूल्य सुनेरै उपभोक्ता तर्सिन थालेका छन् । ‘पोहोर १२ हजारमा किनेको जत्रै च्यांग्रो अहिले २५ हजारसम्म पर्छ,’ कुस्माका तारानाथ शर्माले भने, ‘यसपालि दसैंको प्रसाद चाख्न पनि मुस्किल हुने भयो ।’ व्यापारीहरूले १० देखि १५ किलोका च्यांग्रालाई १८ देखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । च्यांग्राको मासु ३ हजार रुपैयाँसम्म प्रतिकिलो पर्ने भएपछि उपभोक्ताले खान नसकिने भन्दै रैथाने खसीबोका किन्न थालेका छन् ।

विशेषगरी दसैंका लागि मुस्ताङी च्यांग्राका मासुको माग बढी हुने गर्छ । मुस्ताङीहरूले वर्षभरि पालेका च्यांग्रा दसैंमै बेच्छन् । चिसो हावापानीमा हुर्किएर हिमाली जडीबुटी खाएको हुनाले च्यांग्राको मासु स्वस्थकर हुने उपभोक्तामा विश्वास छ । यसैले दसैंका बेला बढी माग हुने गर्छ । ‘पोहोरभन्दा दोब्बर महँगो पर्‍यो,’ कुस्माका सोमलाल आचार्यले भने, ‘यस्तै भए दसैंमा च्यांग्राको मासु खान सकिन्न ।’

यसपालि मुस्ताङमा च्यांग्राको उत्पादन कम भएका कारण मूल्य महँगो परेको व्यवसायीहरूले बताएका छन् । ‘पोहोर १० देखि १२ हजारमा पाइने च्यांग्राको भाउ अहिले मुस्ताङमै १८ हजारसम्म परेको छ,’ व्यापारी रामबहादुर केसीले भने, ‘तीन/चार ठाउँमा गरी एउटा च्यांग्राको कर मात्रै हजारभन्दा बढी तिर्नुपर्छ । अनि आतेजाते भाडा जोडदा दुई/चार सयभन्दा नाफै आउँदैन ।’ यातायातको सुविधासँगै मुस्ताङमा च्यांग्राको भाउ बढी पर्न थालेको उनले बताए ।

दसैंका लागि खसी भित्रिँदै 

मुगु– दसैंका लागि व्यापारीहरूले छिमेकी जिल्लाबाट खसीबोका भित्र्याउन थालेका छन् ।

जुम्ला बुडु गाउँका दल बुढाले बिक्रीका लागि २ सय खसी मुगु ल्याएका छन् । उनले तौल हेरेर प्रतिखसी ७ हजारदेखि १३ हजार रुपैयाँसम्ममा बेच्ने गरेका छन् । घटस्थापना सुरु भएलगत्तै खसीबोकाको खरिद बिक्री बढेको हो ।
दुई सय खसीमध्ये १ सय ५० जति बिक्री भइसकेको र अरू व्यापारीले पनि खसी ल्याउँदै गरेको उनले बताए । केही स्थानीयवासी खसी ल्याउन छिमेकी जिल्लातर्फ लागेका छन् । पुख्र्यौली चलनअनुसार यहाँका स्थानीय
दसैंको बेला घरमा पालेका खसी काट्नुभन्दा बाहिरको काट्छन् ।

घरमा पालेको खसी अर्कालाई बिक्री गरी मूल्य तिरेर खाने चलन छ । यसपालि तिब्बतमै एउटा भेडा वा च्यांग्राको मूल्य १५ हजार रुपैयाँभन्दा बढी पर्न थालेपछि स्थानीय खसीको बिक्री बढेको हो । महँगोले गर्दा विगत दुई वर्षदेखि तिब्बती भेडाच्यांग्रा आएका छैनन् । तिब्बतबाट भेडाच्यांग्रा नआएपछि स्थानीय खसी किनेर दसैं मनाउनुपर्ने अवस्था आएको पिना गाविस टोप्ला गाउँका लालबहादुर मल्लले बताए । स्थानीय खसी पनि धेरै महँगो मूल्य पर्ने उनको भनाइ छ ।

दसैंको बेला जिल्लामा ५ देखि ६ हजारसम्म खसीबोका बिक्री हुने गरेको छ । हरेक वर्ष खसीको मूल्य वृद्धि हुँदै गएको छ । २ हजार ५ सयमा बिक्री हुने खसी अहिले १३ हजारसम्म पर्न थालेपछि आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई दसैं महँगो भएको छ ।

दसैंका लागि खसीबोका लगिँदै
सल्यान– निगालचुलाका दलबहादुर घर्तीले दुई साताअघि गाउँघरबाट संकलन गरेका ५० खसीबोका काठमाडांै लगेर बिक्री गरे । अहिले थप ६० लग्दै छन् । अर्का स्थानीय पूर्णबहादुर थापाले पनि दसैंका लागि ८० खसीबोका काठमाडौंमै लगेर बिक्री गरेका छन् । त्यहाँ माग बढेपछि जिल्लाका व्यापारी गाउँघरबाट संकलन गरेर राजधानीमा बिक्री गर्दै आएका हुन् । गाउँघरमा भन्दा राम्रो मूल्य पाइने भएकाले संकलन गरेर सधैं काठमाडौं लगेर बिक्री गर्दै आएको घर्तीले बताए । ‘राम्रो मूल्य पाएपछि एउटा खसीबाट गाडीभाडा, खानेबस्नेबाहेक एक हजारभन्दा बढी फाइदा भयो,’ उनले भने, ‘सयजति खसीबोकाबाट एक महिनामा ७० हजार कमाएँ ।’ पूर्णबहादुर थापाले पनि सजिलै दसैं मान्ने पैसा कमाएको बताए । दसैंको समयमा माग बढेपछि जिल्लाको कपुरकोट र सल्लीबजार नाकाबाट यसपालि मात्र ५ सयभन्दा बढी खसीबोका निकासी भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वर्षभरि १० हजारभन्दा बढी खसीबोका काठमाडौं, बुटवल, नारायणघाट लगायतमा जाने गरेका छन् ।