राष्ट्रपतिमा कांग्रेसले खिलराज र एमालेले विद्यालाई उम्मेदवार बनाउने सम्भावना
616 पटक पढिएको
धादिङ कात्तिक ९ – कांग्रेस र एमालेले आआफ्नो दाबी नछाडेपछि राष्ट्रपति र उपराष्ट्रपति चयन बहुमतीय प्रक्रियामार्फत हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाउनुभएको सर्वदलीय बैठकमा दुवै पार्टीले आआफ्नो तर्फबाट उम्मेदवार बनाउने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।
तर कांग्रेस र एमालेले उम्मेदवारको नाम भने तय गरिसकेका छैनन् । उम्मेदवारको टुंगो लगाउन सोमबार दुवै दल आन्तरिक छलफलमा जुट्दैछन् । कांग्रेसभित्र कुलबहादुर गुरुङ, मानबहादुर विश्वकर्मा र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको चर्चा भैरहेपनि पछिल्लोपटक मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको नाममा छलफल अघि बढेको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत रेग्मीलाई साझा उम्मेदवार बनाउन अनौपचारिक प्रस्ताव गरेको र रेग्मी स्वयं पनि इच्छुक देखिएकाले कांग्रेसले उहाँको नाम अघि सारेको हो । यस विषयमा कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग पनि छलफल गर्नुभएको छ । रेग्मीलाई उम्मेदवार बनाउँदा एमाले लगायतका दलहरुले समेत समर्थन गर्ने कांग्रेसको बुझाई छ ।
तर कांग्रेसभित्र वर्तमान राष्ट्रपति यादवलाई नै निरन्तरता दिनुपर्छ भन्ने आवाज पनि बलियो रुपमा उठेको छ । खासगरी भारतको चाहना र मधेसी दलको मागलाई समेत ध्यानमा दिंदै कांग्रेसले रेग्मी र यादवको नाम छलफलमा ल्याएको हो । यादव भन्दा रेग्मीको नाममा सहमति जुट्ने सम्भावना रहेकोले रेग्मीलाई नै उम्मेदवार बनाउनुपर्नेमा कांग्रेसका शीर्ष नेताहरुले लविङ थालेका छन् ।
कांग्रेसभित्र कुलबहादुर गुरुङको नाम पनि चर्चामा छ । उहाँ आफैंले इच्छा देखाएको र जनजातिका पुराना नेता भएकाले उहाँलाई उम्मेदवार बनाउनुपर्ने कांग्रेसका एकथरी नेताहरुले प्रस्ताव गर्दै आएका छन् । तर कांग्रेसभित्र उपराष्ट्रपतिको उम्मेदवारबारे चर्चा छैन । चित्रलेखा यादव या मानबहादुर विश्वकर्मालाई उपराष्ट्रपतिमा उठाउन सक्ने कांग्रेस नेताहरुको भनाई छ ।
एकीकृत माओवादी सहित सत्तारुढ दलको समर्थनमा एमालेले आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवार उठाउने तयारी गरेको छ । यसअघि विद्या भण्डारी, सुवासचन्द्र नेम्वाङ र झलनाथ खनालको चर्चा भएपनि पछिल्लोपटक खनालको सट्टा भण्डारी र नेम्वाङको नाम बढी चर्चामा छ । एमाओवादी अध्यक्ष प्रचण्डले समेत प्रस्ताव गरिसकेकाले भण्डारीलाई उम्मेदवार बनाउन सक्ने सम्भावना बढी रहेको एमाले नेताहरुले बताएका छन् ।
त्यसो त नेम्वाङलाई उम्मेदवार बनाउनुपर्छ भन्ने मत पनि बलियो छ । एमालेले जसलाई उम्मेदवार बनाएपनि एकीकृत माओवादीले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउने र एमाओवादीलाई उपराष्ट्रपति दिनेबारे दुई पार्टीबीच सहमति भैसकेको छ ।
यस अनुसार एमाओवादीले नन्दकिशोर पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बढाउने सम्भावना छ । तर अरु साना सत्तारुढ दलले समेत उपराष्ट्रपतिको दावी गर्दै आएका छन् ।