धादिङ सहित भूकम्प प्रभावित जिल्लामा कोषको सहयोग

497 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ पुस ४- गरिबी निवारण कोषले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माण र पुनःस्थापनासँगै आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने गरी भूकम्प प्रभावित क्षेत्र सहयोग कार्यक्रम सुरु गर्ने भएको छ ।

गोरखा भूकम्पबाट कोषले पहिले नै कार्यक्रम सञ्चालन गरेका मकवानपुर, चितवन, रसुवा, धादिङ, रामेछाप, सिन्धुपाल्चोक, खोटाङ, सिन्धुली, सोलुखुम्बु र ओखलढुङ्गा तथा यसैवर्षदेखि कार्यक्रम लागू भएका गोरखा, दोलखा, नुवाकोट र लमजुङ गरी १४ जिल्ला प्रभावित बनेका छन् ।

परियोजना लागू भएका १० जिल्लाका ८२६ वटा परियोजनामध्ये ५७ वटा पूर्ण क्षति र २३३ वटा आंशिक क्षति भएका छन् । ती परियोजनाको नवनिर्माण तथा पुनःनिर्माणका लागि एक करोड १९ लाख अमेरिकी डलर लगानी गर्ने कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिनुभयो ।

कोषले कार्यक्रम सञ्चालनका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति र जिविससँग समन्वय गर्ने गरी कार्य गर्न एक व्यवस्थापकीय टोलीको गठन गरिसकेको छ भने पुनःनिर्माण र नवनिर्माणका लागि आवश्यक जनशक्तिका लागि स्थानीयस्तरमै मिस्त्री, कार्पेन्टर, सिकर्मीसम्बन्धी क्षमता अभिवृद्धिका तालिम सञ्चालन गर्नेछ ।

भूकम्प प्रभावित जिल्लाका कतिपय बस्तीका बासिन्दा बसाइँ सराइ भएर अन्यत्र गएकाले उनीहरूलाई आफैँ गाउँमा फर्काउन सामुदायिक परिचालनका माध्यमबाट सहयोग गर्नेछ ।

समावेशीकरण र सौहाद्र्धताका साथ उनीहरूलाई समुदायप्रति जवाफदेही गराउन सामुदायिक संस्थालाई सक्रिय गराउने र विभिन्न आयमूलक सीप तालिम सञ्चालन गरिनेछ – केसीले भन्नुभयो ।

भूकम्प प्रभावित समुदायको आर्थिक सशक्तीकरणका लागि घुम्ती कोषमार्फत सहुलियत कर्जा सुविधा तथा सामुदायिक संस्थाको आयवृद्धिका लागि थप सहयोग गरिनेछ । कुल ४ हजार ९ सय सामुदायिक सस्थाहरू कुनै न कुनै रूपमा भूकम्पबाट प्रभावित भएका कोषले जनाएको छ । यी सस्थाका सदस्यहरूले व्यवशायमा गरेको लगानीमा भएको क्षतिको आधारमा अधिकतम रु चार लाख प्रति सामुदायिक सस्थाका दरले सहयोग गरिने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।

भूकम्पले झन्डै सात लाख परिवारलाई थप गरिबीको रेखामुनि पु¥याएको र झन्डै २.७९ प्रतिशत गरिबी वृद्धि भएको अवस्थामा उनीहरूको जीवनस्तरलाई माथि उठाउन कोषले दुई वर्षका लागि उक्त कार्यक्रम ल्याएको कोषका उपाध्यक्ष युवराज पाण्डेले स्पष्ट गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय मानव विकास सूचकाङ्कमा नेपाल अघिल्लो वर्षमा एक स्थान तल झरेर १४६ औँ स्थानमा पुग्नुमा एउटा मुख्य कारण भूकम्प नै भएकाले ती ती क्षेत्रको गरिवी निवारणका कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ ।

यसैगरी यो कार्यक्रम कार्यन्वयनका लागि अहिले १४ वटै जिल्लाहरूमा सहयोगी सस्थाहरूलाई अभिमुखीकरण गर्ने कार्य र सुचना संकलन भैरहेको भुकम्प प्रभावित समुदाय सहयोग कार्यक्रमका टिम लिडर तथा कोषका उपकार्यकारी निर्देशक छवि पोख्रेलले बताउनुभयो ।

कोषले २०६० सालदेखि ५५ जिल्लामा आयआर्जनतर्फ पशुपालन, कृषि, लघुउद्यम, साना व्यवसाय, व्यापार तथा क्षमता विकास र सेवा क्षेत्रजस्ता विषयमा लगानी गरेको छ भने भौतिक पूर्वाधारतर्फ सडक विस्तार, कल्भर्ट एवम् पुल निर्माण, रोपवे, लघु जलविद्युत््, मिल, सिँचाइ, सरसफाइ, सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, भण्डारण भवन, बजार केन्द्र निर्माणजस्ता कार्य गर्दै आएको छ ।