मान्छेको रौस, गोरुको जुधाई

888 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फोटो १

कुरा २०३३ सालको हो।
तारुकाको माथिल्लो गाउँ कौसिनीका तामाङ र तल्लो गाउँका सिग्देलबीच गोरु जुधाउने बाजी पर्‍यो। दुवैले आफ्नै गोरुले जित्ने आत्मविश्वाससहित मैदानमा गोरु पठाए। तामाङको गोरुले जित्यो।
ती तामाङ मैदानमा पुगेर गोरुलाई सिन्दुर हाले र नाचे। सिन्दुर हालेपछि विवाद निस्कियो। त्यसपछि जसको गोरुले जितेपनि अबिर हाल्न र बाजा बजाउन नपाइने कडा नियम बन्यो। सिन्दुर नहाल्नुको कारण थियो,’गोरु धनीबीच इर्ष्या बढ्न सक्छ।’
जिताहा गोरुलाई सिन्दुर हाल्न छोडेपनि प्रत्येक माघेसंक्रान्ती नजिकिँदै गर्दा तारुकेलीको मनमा बाजा बज्न छोडेको छैन। मन पुलकित भएर अबिर जत्तिकै रंगिन बन्न छोडेको छैन।
माघेसंक्रान्ती इगोको सट्टा सपना, ऊर्जा र उल्लास बनेर आइरहन्छ। कारण हो, त्यहाँको ‘गोरु जुधाई’ पर्व । यहाँका किसानकै शब्दमा ‘गोरु जुधाई’ तारुकेलीका लागि कडा खाले ‘रौस’ बन्दै गएको छ।
                            …………….
तारुकेलीका लागि दशैंभन्दा ठूलो पर्व हो ‘गोरु जुधाई’।
पहिले कोदो टिपेपछिका बाँझा बारीमा टोलैपिच्छे गोरु जुधाइन्थ्यो। माघे संक्रान्तीका दिन प्रत्येक पाटामा हुने गोरु जुधाई तारुका र आसपासका गाविसका लागि मात्र चासोको पर्व थियो। २०६१ मा समिति बनाएर एउटै पाटोमा गोरु जुधाउन थालेपछि राष्ट्रिय चासोको पर्व बनेको छ।
काठमाडौंबाट गल्छी हुँदै करिब तीन घण्टा गाडीको यात्रा। त्यसपछि तारुकाघाट झरेर डेढ घण्टाको पैदल यात्रामा पुगिन्छ तारुका। गाउँसम्मै मोटरबाटो खुलेपछि उकालो कच्ची बाटोमा ‘खडेरी मासको धूलो’ उडाउँदै जान चाहनेका लागि तारुका ‘साहसिक आनन्द’ को ‘हब’ पनि बनेको छ। डाँडामा पुगेपछि चारैतिरबाट आउने ‘हावाको कावा’ खाँदा तारुकाले उकालो बाटोको थकान पनि झट्टै मेटाइदिन्छ।
जब पुस महिना आधाआधी हुँदै जान्छ, दशैंमा समेत घर नजाने तारुकेली गोरु जुधाईकै लागि विदेशबाट घर फर्कन्छन्। सहर बस्ने पनि माघेसंक्रान्तीमा उल्लास बोकेर घर फर्कन्छन्। देशविदेश हुनेदेखि गाउँमै रमाइरहेकाहरुको दिमागमा संक्रान्तीको घ्युचाकु र तिलको लड्डुभन्दा बढी गोरु जुध्न थाल्छन्।
कहिलेदेखि सुरु भयो त यो पर्व?
तारुकेलीलाई ठ्याक्कै मिति थाहा छैन। कसरी सुरु भयो भन्ने पनि थाहा छैन। तर, विभिन्न किंवदन्तीहरु छन् यहाँ।
प्रचारमा त बझाङका राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला गोरु जुधाएको हेर्न मन गरेपछि मामासँग जिद्दी गर्दा मामाले भाञ्जाको मन बुझाउन जुधाइदिएको भन्ने छ। तर, तारुकेलीको मत यो मात्र छैन।
अर्थात्, यसको इतिहास अस्पष्ट छ। यसको इतिहास जयपृथ्वीबहादुर सिंहसँग जोडिएको कुरा स्थानीय बच्चुराम रिमालले २०६१ सालमा समिति बनेपछि मात्र थाहा पाएका हुन्।
‘गाउँका टोलटोलका बारीमा गोरु जुधाउने भएकाले माघेसंक्रान्ती हामीलाई बच्चा हुँदा मात्र होइन अहिले पनि उत्तिकै प्यारो लाग्छ।’ उनले भने, ‘तर, यो कहिलेदेखि सुरु भयो भन्नेबारे मेरा बा भन्नुहुन्थ्यो, तारुकामा एउटा ‘गुर्जु’ (जमिनदार) थियो रे। तारुकाका जमिन अरुलाई खेती गर्न दिएर ऊ काठमाडौं बस्थ्यो। मंसिर लागेपछि ऊ बाली उठाउन आउँथ्यो र पुस महिनाभरी उसले बाली उठाएर भ्याउँथ्यो र माघे संक्रान्तीका दिन जमिन कमाउनेहरुको गोरु जुधाएर आनन्द लिन्थ्यो। यो कुरा मेरा बालाई पनि हजुरबाले भन्नुभएको अरे। नढाँटी भन्दा बझाङी राजाको कुरा त समिति बनेपछि मात्र सुनेको हूँ।’
तर,  रिमालको कुरासँग अरु बुढापाकाको कुरा ठ्याक्कै मेल खाँदैन। बुढापाकाहरु ‘हामीले पनि अरे भन्ने मात्र सुनेका हौं’ भन्छन्।
इतिहास जे होस्, उनीहरुको ध्याउन्न त गोरु जुधाईको रौस बढाउनमा हुन्छ।
आफ्नो गोठमा जुध्न सक्ने गोरु हुनेहरु मंसिरदेखि नै गोरुको स्याहारमा लाग्छन्। मंसिरदेखि नै जोत्न लगाउँदैनन्। जायजेथा राम्रै भएकाहरुले गोरुलाई तोरीको तेल, अण्डासम्म खुवाउँछन्। अलि कम हुनेहरु कोदो, चामलको खोले खुवाउँछन्।
रिमालसँग सानो हुँदाको सम्झना छ,’३३ सालमा जुन गोरुले जित्यो र बाजा बजाउँदै ल्याइयो। मैले सम्झेसम्म मंसिरदेखि उता त त्यो गोरुको गोबर नै सोहोर्नु पर्दैनथ्यो किनकी गोबरमा कोदो, चामल मात्र आउँथ्यो। सबै कुखुराले खान्थ्यो।’
माघेसंक्रान्ती सकिइसकेपछि भने किसानहरु उति स्याहार गर्दा रहेनछन्।
तारुकामा गोरु जुधाउने ‘रौस’ बसेकाहरुचाहिँ वर्षैपिच्छे गोरु फेरिरहँदा रहेछन्। जोत्नकै लागि किनिने भएपनि त्यस्ता व्यक्तिहरुको ध्यान गोरुले जित्न सक्छ कि सक्दैन भन्नेमा हुँदो रहेछ।
जुधाउनका लागि दर्ता गरिने दिन हामी पुग्दा गोरुधनी तोयाप्रसाद ढकालले पाटाभरी देखिएका गोरु देखाउँदै भने,’यी देखिएका गोरुमध्ये सातवटा गोरु मेरै गोठबाट छुट्टिएका हुन्। पोहोर त झन् नौवटा थिए।’
ढकालले पनि एक वर्ष जोत्ने र जुधाएपछि अर्को वर्ष जुधाउने बेलासम्म नयाँ गोरु किनिसक्दा रहेछन्। उनी विगत १६ वर्षदेखि निरन्तर गोरु जुधाउँदै आएका छन्। एक वर्ष पाटोमा लगेर जुधाउन खोज्दा विपक्षी गोरुसँग जुधेन। सबै वर्ष आफ्नै गोरुले जितिरहेको पनि उनको दाबी थियो।
तारुकाको चन्दनी पाटोमा गोरु जुधाउनु भनेको टाढाका गोरुधनीहरुका लागि त सपना पनि हुँदो रहेछ। चन्दनी पाटोमा हामी पुग्दा धादिङ जिल्लाको धुवाँकोट गाविसबाट गोरुलाई ८ घण्टा हिँडाएर दर्ता गर्न ल्याएका डिल्लीप्रसाद घिमिरे भेटिए।
‘मलाई प्रायः गोरु जुधाउन रहर लाग्छ,’ डिल्लीले भने,’तारुकामा गोरु जुधाउने भन्ने सानैदेखि थाहा पाएको थिएँ। तर, आफ्नै गोरु जुधेर अर्को गोरुलाई जितेको मन भइरहन्थ्यो। त्यसैले माघेसंक्रान्तीमै म गाउँकै पाटामा अरुका गोरुसँग जुधाउँथेँ। तर, मेरो सानैदेखिको सपना भनेको तारुकाको पाटामा आफ्नै गोरु जुधेको हेर्न मन थियो। त्यसैले यो गोरु जोत्नसँगै तारुकामै जुधाउनका लागि किनेको।’
गोरु दर्तासँगै हल मिलाउने बेलामा गोरु जुधाउँदा डिल्लीको गोरुले जितेपछि माघेसंक्रान्तीमा पनि आफ्नै गोरुले जित्छ भन्ने उनमा आत्मविश्वास बढेको थियो।
टाढाबाट ल्याउने डिल्ली एक्ला मात्र भने होइनन्। धादिङका अन्य गाविससहित नुवाकोटको रातमाटे, बुधसिङबाट समेत गोरु जुधाउन ल्याइन्छ। स्थानीयको बुझाईमा चिसो हावापानीमा हुर्केको गोरुले बेँसीतिर हुर्केको गोरुलाई जित्छ। स्थानीयको भनाई छ,’जोत्नलाई बेँसीका गोरु बलियो, जुध्नलाई लेकका गोरु बलियो।’
त्यतिखेर आत्मविश्वास बढेपनि अघिपछि भने माघेसंक्रान्ती नजिकिँदै जाँदा गोरुधनीहरुमा छटपटी बढ्दो रहेछ। ठाकुरप्रसाद सिग्देल भन्छन्,’गोरुको स्याहार गर्न सुरु गरेसँगै मनमा ताना खेल्न थाल्छ।’
गोरु जुधाई मानिसको रमाइलोको लागि त छँदैछ कहिलेकाहिँ मानिस मानिसबीचको प्रतिष्ठाको लडाईं पनि बन्न पुग्दो रहेछ। स्थानीयबाट सुनियो, ‘पोहोरको वर्ष विष्णु श्रेष्ठको सुपारे नामको गोरु र मदन श्रेष्ठको काले बीचको जुधाई हुनुअघि श्रेष्ठद्वयले जसको गोरुले हार्छ उसले गोरु पनि चुकाउनुपर्ने शर्त राखेका थिए। पछि सुपारेले जित्यो। समितिले १८ हजारमा कालेको मोल छिन्यो र मदनले तुरुन्तै विष्णुलाई त्यति रकम दिए।
यसलाई ‘बुरुस’ छोड्ने चलन भनिँदो रहेछ। बुरुस छोड्ने चलन पहिलेपहिले पनि कहिलेकाहिँ हुने गर्थ्यो रे।
विष्णुले सुपारे बेचेछन्। तर, किन्ने मानिसले सुपारेलाई यसपाली पनि मैदानमा उतार्दै छन्। सुपारेका हालका धनी दीपक दाहाल यसपाली पनि सुपारेले जित्नेमा ढुक्क देखिन्थे। पोहोर कालेलाई हराउनुअघि पनि सुपारे दुईपटक बिजेता भइसकेको रहेछ।
गोरु जुधाईमा अनेक किंवदन्ती पनि जन्मिसकेका छन्। स्थानीयको भनाईमा पहिलेपहिले गोरुको घाँटीमा बाघको बोसो दलेर पनि जुधाइन्थ्यो रे! यसो हुँदा विपक्षी गोरु बाघ सम्झेर भाग्छ रे। तर, उनीहरुले पनि देखेका भने होइनन्। सुनेका मात्रै। स्थानीय गोविन्द ढकाल भन्छन्,’बाघको बोसो लगाउने कुरा त हामीले पनि बुढापाकाबाटै सुनेका हौं। हामीलाई पनि थाहा छैन। अहिले त बाघको बोसो त के जुरोमा तेलसम्म लगाउन पाइँदैन। भेटनरी डाक्टरले चेक गरेपछि मात्र जुधाउन पाइन्छ। सिङ तिखारेको मात्र भेटियो भने त्यसलाई बहिष्कार गरिन्छ।’
समिति बनेर यस्ता नियम बनेपछि गोरु मालिकलाई पनि सहज भएको छ। यदि गोरु घाइते भएको खण्डमा बीमाले तिरिदिने भएपछि जुधाउन आँट नगर्नेहरुमा पनि आँट आएको छ। जित्नेहार्ने दुवैले पुरस्कार र प्रमाणपत्र पाउने भएपछि गोरुधनीहरु थप हौसिएका छन्।
मेलामा राजनीति घुस्यो
समिति बनेपछि मेला व्यवस्थापन धेरै राम्रो भएको महशुस भएको थियो। सञ्चारमाध्यमले समेत विशेष महत्व दिन थालेपछि नेपालभरका मानिसका लागि आकर्षणको केन्द्र बन्ने क्रममा थियो। तर, एक्कासी राजनीतिको नराम्रो रुप मेलामा छिर्‍यो।
२०६९ सालको कुरा हो यो। कांग्रेस र एमाओवादीले एउटा पाटोमा र एमालेले अर्को पाटोमा गोरु जुधाए। प्रमुख अतिथि पनि दुई पार्टीका भए। कांग्रेस/एमाओवादीको मैदानमा पर्यटनमन्त्री पोष्टबहादुर बोगटी हेलिकोप्टर चढेर पुगे भने एमालेको मैदानमा महेश बस्नेत कार चढेर पुगे।
यसपछि भागबण्डामा समिति बन्न थाल्यो। पछिल्लो वर्षबाट प्रत्येक वर्ष प्रत्येक पार्टीले पालैपालो नेतृत्व लिन पाउने, जसको नेतृत्व उसले नै प्रमुख अतिथी बोलाउन पाउने सहमति भयो। यसवर्ष एमाओवादी तर्फबाट जनकराज ढुंगाना समितिका अध्यक्ष छन्।
मेलाका अप्ठ्यारा
समितिका पदाधिकारीहरुको भनाईमा मेला जति लोकप्रिय बन्दैछ त्यति नै अप्ठ्यारा बढ्दै गएका छन्। गाविसले दिने वार्षिक ४० हजारले मेला चलाउन अपुग हुने भएकाले दाता खोज्नमै समस्या हुने उनीहरुको भनाई छ।
मेला व्यवस्थापनका अध्यक्ष ढुंगानाको भनाईमा एकपटक गोरु जुधाउँदा पुरस्कार र खाजा खर्च गरेर गोरु दुई लाख खर्च हुन्छ। ‘चमक हराइसकेको गोरु जुधाईको समिति बनेपछि महत्व बढेको छ। अहिले हामीलाई दर्ता नहुँदा समस्या भएको छ। सरकारबाट आइसकेको बजेट पनि फुत्केको छ।’
-सेतोपाटीबाट 

उनले थपे,’अरुले रमाइलो गरेको त मिडियामा सधैं आउँछ। कृषकले एक दिन गर्ने रमाइलोबाट देशविदेशका मानिसले पनि रमाइलो पाउँछन् भने सरकारले पनि हेर्नुपर्ने हो।’