धादिङ- अर्गानिक तरकारी तथा फलफूलको माग सर्वत्र हुन थालेपछि धादिङका तरकारी उत्पादक किसानले रासायनिक मलको प्रयोग गर्न छाडेका छन् । उनीहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्न थालेका छन् । केही बर्ष यता धादिङका किसानमा रसायनिक मलको प्रतिकूल प्रभावबारे जनचेतना बढ्दै गएकाले प्राङ्गारिक मलको प्रयोग गरी तरकारी खेती गर्नेतर्फ किसानहरु लागेका हुन् ।
धादिङको दक्षिणी र मध्ये भेगका दुई दर्जन भन्दा बढि गाविसमा व्यवसायिक रुपमा तरकारी खेती हुँदै आएको छ । पछिल्लो समयमा धुषाको चरौंदी, सलाङ, केबलपुर, गोगनपानी र छत्रेदेउराली गाविसका किसानले आफ्नो खेतवारीमा रासायनिक मलको प्रयोग गर्न छाडेका छन् । किसानहरुले तरकारीको फललाई किरा र चराबाट जोगाउन समेत थोत्रा प्लाष्टिक र कपडाको झण्डा बनाएर राख्ने गरेका छन् । उनीहरुले विषादीको साटो विभिन्न जडिबुटी र पशुको मुत्रबाट बनाइएको औषधी प्रयोग गर्ने गरेका छन् । रासायनिक मल तथा बिषादीको प्रयोगबाट तत्काल आयआर्जन लिन सकिने भए पनि यसबाट तरकारी उत्पादक किसानदेखि उपभोक्तासम्मको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएपछि किसानहरुले आफ्नो खेती गर्ने शैलीमा परिवर्तन गरेको किसानहरु बताउँछन् । शैली परिवर्तन गरे पनि अर्गानिक खेतीको परिचान हुन नसक्दा विक्रि गर्न समस्या भएकाले अर्गानिक प्रमाणीकरण गरिदिन सरकारसँग माग गरेका छन् ।
राजधानी र देशका अन्य ठुला शहरको नजिक भएका कारण धादिङ जिल्लामा उत्पादित तरकारीले बजारको अभाव झेल्नु नपरेको व्यवसायिक किसानहरुको भनाई छ । किसानले व्यवसायिक रुपमा अर्गानिक खेती थालेपछि धादिङ जिल्लामा कृषि पर्यटनको सम्भावनासमेत बढेको छ । तर व्यापारीहरुले मनोमानी ढंगबाट भाउ घटाउने बढाउने गर्दा आफूहरु समस्यामा परेको किसानहरुले गुनासो गर्ने गरेका छन् ।
काठमाडौं उपत्यकालाई चाहिने तरकारी मध्ये करिव ३० प्रतिशत तरकारी धादिङ जिल्लाले पूर्ति गर्दै आएको छ । त्यसबाहेक यहाँ उत्पादित तरकारी पूर्वपश्चिमका विभिन्न जिल्लामा समेत पुग्ने गरेको छ । राष्ट्रिय जनगणना २०५८ अनुसार धादिङ जिल्लाका आर्थिक रुपले सकृय जनसंख्याको ८४ दशमलव ८५ प्रतिशत कृषिमा निर्भर छ । जिल्लामा कुल खेती योग्य जमिन मध्ये ३५ हजार ३०० हेक्टर जमिनमा विभिन्न किसिमका खेतीवाली हुंदै आईरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धादिङको तरकारीको पहिचान फेरिएर जिल्लाभर बिषादीरहित तरकारी उत्पादन हुन सकेमा स्थायी बजार विस्तार हुने बिज्ञहरुको भनाई छ ।