अखिलमा नवीना-१७ पदाधिकारीमध्ये गौतम समूहबाट ३ सचिव मात्रै

587 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


nabinaकाठमाडौं, 
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा नवीना लामा निर्वाचित भएकी छन् । आइतबार राति सकिएको मतगणनामा प्रतिस्पर्धी दीपक गौतमलाई भारी मतले पराजित गर्दै लामा अध्यक्षमा निर्वाचित भएकी हुन् ।यो विजयसँगै अनेरास्ववियुको इतिहासमा लामा दोस्रो महिला अध्यक्ष बनेकी छन् । यसअघि रामकुमारी झाँक्रीले अखिलको नेतृत्व गरेकी थिइन् । लामा ८ सय ३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी दीपक गौतमले ६ सय ४९ मत प्राप्त गरेका छन् । लामा एमाले संस्थापन पक्षधर हुन् भने पराजित गौतम नेता माधवकुमार नेपाल पक्षधर हुन् ।

निर्वाचनमा अन्य पदाधिकारी सचिवालय सदस्य, केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्य (रापस) मा पनि अधिकांश लामा निकट उम्मेदवार विजयी भएका छन् । अध्यक्षसँगै चारैजना उपाध्यक्ष, महासचिव, चार सचिव र

कोषाध्यक्ष लामा समूहबाट विजयी भएका छन् । सातजना सचिवमा खुला एक र महिला एक र मधेसी सचिव भने गौतम पक्षधर विजयी बनेका छन् ।

तिन खुला, एक जनजाति गरेर चार सचिव लामा समूहका विजयी भएका हुन् । विजयी उपाध्यक्षमा लामा समूहकै महेश बर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बराल छन् । बर्ताैलाले ७ सय ८६, आचार्यले ७ सय ४२, बरालले ७ सय २१ र लामाले ६ सय ८२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उपाध्यक्षमा गौतम समूहबाट उम्मेदवार बनेका राधिका खतिवडा, सरोज यादव, निलकण्ठ आचार्य र जीवन राई पराजित भएका छन् । यस्तै महासचिवमा लामा समूहका ऐन महर ८ सय ३१ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी अब्दुल हुसेन खाँनभन्दा झन्डै २ सय बढी मत ल्याई महर विजयी भएका हुन् । खाँनले ६ सय ६० मत ल्याएका छन् ।

यस्तै, खुला सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का र सुदेश पराजुली विजयी भएका छन् । महिला सचिवमा आरती लामा, जनजाति सचिवमा अमृत बुढा मगर र मधेसी सचिवमा वसिम आलम विजयी भएका छन् । पराजुलीसहित जनजाति सचिवमा विजयी आरती र मधेसी सचिवमा विजयी आलम मात्रै गौतम पक्षधर हुन् । कोषाध्यक्षमा पनि लामाकै समूहका झपीन्द्र खत्री विजयी भएका छन् । उनले प्रतिस्पर्धी कमल शाहीलाई भारी मत अन्तरले पराजित गरेका छन् ।

पदाधिकारी सरहकै तिन आयोगमा पनि संस्थापन पक्षका उम्मेदवार नै विजयी भएका छन् । निर्वाचन आयोग अध्यक्षमा तुलसी मैनाली, अनुशासन आयोग अध्यक्ष निशा अधिकारी र लेखा आयोग अध्यक्ष धर्मेन्द्र रोकाय विजयी भएका हुन् । गौतम समूहबाट उम्मेदवार बनेका अनुशासन आयोगका गिरेन्द्र राई, निर्वाचन आयोगका प्रेम प्रधान र लेखा आयोगका शिवजी गुप्ता पराजित भएका हुन् । सचिवालय सदस्य र केन्द्रीय सदस्यमा पनि विजयी हुनेमा पनि अधिकांश लामा समूहकै छन् । कुल १ सय ४१ जनाको केन्द्रीय कमिटीमा थोरै संख्यामा मात्र गौतम समूहका उम्मेदवार विजयी बनेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २८ माघमा उद्घाटन गरेको अनेरास्ववियुको २२औं महाधिवेशनमा १५ सय ९७ जना प्रतिनिधि थिए । जसमध्ये १५ सय १९ मत खसेको थियो ।