पानी र अन्न नभएपछि चेपाङ वस्तीमा ‘ढुंगा खाउँ कि माटो खाउँ’को स्थिति
838 पटक पढिएको
केशव अधिकारी / धादिङ न्यूज
धादिङ, –जिल्लाको दक्षिणी भेगका विकटका वस्तिमा रहेका चेपाङ वस्तीमा बर्षौ देखि संकट रहेको छ ।
आफ्नो जमिनको उब्जनीले तीन महिना मात्रै धान्ने हुँदा बाँकी नौ महिना यहाँका अधिकांश चेपाङ समुदायले चरम खाद्य संकट भोग्नुपर्छ । घरमा अन्न नहुँदा बालबालिका, गर्भवती, विरामी र बुढाबुढीहरु बढी समस्यामा पर्ने गरेका छन ।
दशैं तिहार सकिएपछि चेपाङ यहाँका चेपाङहरुलाई ‘ढुंगा खाउँ कि माटो खाउँ’ को अवस्थामा हुने गरेको स्थानीय वासिन्दा बताउँछन् । जिल्लाको अधिकांश चेपाङ बस्तिको समस्या उस्तै छ तर पनि सवैभन्दा विकटमा रहेको महादेवस्थान गाविसको ब्रुसबाङमा भने झनै संकट रहेको छ । महादेवस्थान गाविस ३ मा पर्ने बु्रसबाङमा २८ घर परिवार चेपाङ छन् । एक बाली मात्र हुने भिरालो पखेराबारीमा फागुनमा छरेको मकै कात्तिकमा मात्र पाक्छ ।त्यसपछिको तीन महिना मकैको ढिंडो र खोले खान पाएपनि बाँकी समय अन्न संकट हुने गाउँका अगुवा ७८ वर्षका टेकबहादुर चेपाङले बताउनुभयो । अन्न सकिएपछि बारीको कान्ला र जंगलमा भेटिने सिस्नु र जंगली कन्दमुलले प्राण धान्ने गरेको उहाँ बताउनुहुन्छ ।
यहाँका चेपाङ परिवारले पुस महिनादेखि सिस्नु, टाँकीको मुन्टा, बेथेको साग र गिट्ठा तथा भ्याकुर खाएर जीवनयापन गरिरहेका छन् । गाउँ नजिकै ज्याला मजदुरी गर्न जाने ठाउँ नभएको र टाढा जान रकम खर्च गर्नुपर्ने भएकाले कन्दमूल खाएर जीवन धान्नुपरेको स्थानीय बुद्धिमाया चेपाङले बताउनुभयो ।
हिजोआज गाउँका वासिन्दा खानेकुरा खोज्न बिहानै जंगलतिर जानुपर्छ भने खानेपानीको समस्या पनि उत्तिकै छ । एक मात्र मुहान गाउँदेखि तीन घन्टा तल बाङकुर्तीको भिरमा छ । दिनदिनै त्यसै कुवामा पुगेर पानी ल्याउनुपर्ने बाध्यताले चेपाङ महिलाहरूको दैनिकी निकै कष्टकर बनेको छ । सरकारी तथा गैर सरकारी निकायको सहयोगमा सबै घरमा दुई हजार लिटरको प्लाष्टिक ट्याङ्की राखिएपनि वर्षायाममा संकलन गरेको पानी निख्रिसकेकाले कुवामा जानुको विकल्प नभएको स्थानीय सिद्धिवहादुर चेपाङले बताउनुभयो ।
चेपाङ वस्तीहरुमा खानेपानी, खाद्यान्न, शिक्षा, स्वास्थ्य, विकास जस्ता पुर्वाधार नभएको खाद्य अधिकारकर्मी राजेन्द्र बस्नेत बताउनुहुन्छ । आयआर्जनको श्रोत नभएका कारण खानेकुराको संकट पर्दा किनेर ल्याउन सक्ने अवस्थामा पनि उनीहरु छैनन् । बढ्दो जनसंख्या र संरक्षणको अभावले जंगली कन्दमुलसमेत लोप हुने अवस्थामा पुगेकोले ब्रुसबाङवासीलाई जीवन निर्वाह गर्न वर्षेनी सकस बढ्दै गएको छ । धादिङको जोगीमारा, धुषा, महादेवस्थान, बेनीघाट, गजुरी, पीडा गाविसका माथिल्लो बस्तीमा चेपाङ समुदायको बाक्लो बसोबास छ । कुम्पुर, गोगनपानी, थांक्रे, नौबिसे लगायतका गाविसमा भने केही संख्यामा चेपाङहरू छन् । जिल्लाको १० गाविसका गरी चेपाङहरूको जनसंख्या झन्डै १८ हजार रहेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङ बताउनुहुन्छ ।