इँटा भट्टाको धुवाँले तरकारी बाली बिगार्‍यो

882 पटक पढिएको

सम्पादक: Dhading News

फाल्गुन १४, २०७२- पृथ्वीराजमार्ग वरपरका गाविसहरुमा जथाभावी सञ्चालनमा आएका इँटा उद्योगबाट निस्केको धुवाँले उद्योग छेउछाउका तरकारी खेती र पशुपालनमा असर पुगेको छ । भूकम्प पछि सञ्चालनमा आएका १ दर्जन सहित २६ वटा इँटा उद्योगले पोलेको कोइला र टायरको धुवाँले ढम्म ढाँकिदा बिहान स्थानीयवासीले राम्रोसँग घामताप्न सम्म पाएका छैनन् ।

राजधानीको बजार लक्षित बेमौसमी तरकारी, दूध, फलफूल र माछा उत्पादन गरि वर्षेनी लाखौं आयआर्जन गर्ने थाक्रे, छत्रेदेउराली, जीवनपुर, नौविसे गाविसका किसानलाई असर पारेको छ ।

इँटा उद्योगले वातावरणमा गर्ने प्रदुषण र स्थानीय तहमा पर्ने प्रभावको अनुमानै नगरि अन्धाधुन्ध उद्योग सञ्चालन अनुमति दिएपछि तरकारीबाली र पशुपालनमा प्रत्यक्ष प्रभाव पारेको सरोकारवाला र स्थानीय बताउँछन् ।

नौविसे–१, गणेशफाँटकी सीता आचार्यको खेत नजिकै गत वर्षदेखि सञ्चालनमा आएको जाल्पादेवी इँटा उद्योगको प्रदुषणले सिमी र फर्सी बाली पनि बिगार्‍यो । यसपाली उनले काउली लगाएकी छिन् । तर उक्त काउलीमा पनि कालो कालो धब्बा लागेर बिग्रेको छ ।

26022016122902naubise-1_jalpadevi-Itta_dhading-(7)-1000x0

सीताले भनिन्, ‘यसपाला पनि काउलीको फूल र पातमा काला काला थोप्ला बसेकोले तरकारी संकलन केन्द्रमा कम मूल्यमा बेच्न पर्‍यो । अरु खेतका २५ रुपैयाँ प्रति केजी थोकमै बिक्री भएको काउली मैले २२ रुपैयाँमा मै बेच्नु पर्‍यो’ ।

यस्तै अर्का किसान सुदर्शन खतिवडाले लगाएको काउलीमा पनि कालो कालो दाग देखेपछि चालिसेस्थित तरकारी संकलन गरि थोकमा बेच्ने कृषि सहकारीले ७ रुपैंया प्रति केजी पनि किन्न मानेन । अन्तिममा इँटा उद्योगकै मजदुरलाई त्यो भन्दा पनि सस्तोमा बेच्नु पर्‍यो।

गाविस सचिव र स्थानीय दलीय संयन्त्रको मिलोमतोमा नक्कली मुचुल्का, नामै मात्रको वातावरणीय प्रभाव अध्ययन र उद्योग वरपरका स्थानीयसँग छलफल नै नगरि उद्योग सञ्चालनमा ल्याउँदा समस्या भएको स्थानीय बासिन्दाको आरोप छ ।

इँटा उद्योगलाई वालश्रम मुक्त गर्ने अभियानमा बिहीबार भेला भएका स्थानीयले भाडामा जग्गा दिने समूह, उद्योग सञ्चालक र दलीय संयन्त्र बलिया भएकोले आफूहरु पीडित बन्नु परेको गुनासो गरे ।

‘हामीले धेरै पटक भन्यौं वातावरण प्रदुषण भयो, तरकारीवाली बिग्रे, बालबालिकालाई आँखाको रोग र अधबैंसेमा समेत दमका रोग देखिन थाले भनेर । तर कतै सुनुवाइ भएन,’ नेकपा एमाले थाक्रे गाउँ कमिटीका सचिव रावकुमार बस्नेतले भने ।

‘जाल्पादेवी उद्योगले बिहानीपख कोइला सल्काउन प्रयोग गर्ने रवर टायरले उद्योग वरपरका १० किलोमिटर सम्मको वातावरणमा प्रभाव पारेको छ । स्वच्छ हावा खाने बेला टायर पोलेको गन्धले ३२ घरधुरी भएको बस्ती गणेशेमा बसी नसक्नु हुन्छ,’ स्थानीय विक्रम गजुरेलले भने ।

उनले फटपुर, गौचरण, सुगुँरे फाँटमा समेत धुवाँले प्रभाव पारेको बताए ।

‘खेत तथा तरकारी बालीमा सिंचाई गर्ने सबै पानी इँटा उद्योगले लिएपछि कैयन पटक विवाद समेत भएको छ । ‘कस्ले र कसरी उद्योगलाई यो बस्तीमा ल्यायो थाहै भएन,’ विमल खतिवडा भन्छन् ।

यो क्षेत्रका किसानले दु:ख गरेर खानु भन्दा इँटा उद्योगलाई वर्षेनी प्रति रोपनी १५ देखि २० हजार रुपैयाँसम्म भाडामा लगाएका छन् । हरेक उद्योगले कम्तीमा सय रोपनीदेखि ३ सय रोपनीसम्म जग्गा भाडामा लिएका छन् । ‘भाडामा लिएका बाहेक वरपरका जग्गामा पनि धुलो र कोइलाले अन्य बाली नहुने भएपछि कि बाँझै राख्ने कि भाडामै दिन बाध्य भएका छन् किसान,’ स्थानीय युवा नहकुल आचार्यले भने ।

एउटा उद्योगले इँटा पोल्न ६ महिनामा १ सय मेट्रिक टन कोइला खपत गर्ने गरेको छ । भारतबाट आउने न्युन गुणस्तर र सस्तो कोइला धादिङसम्म ल्याउन २० रुपैंया प्रतिकेजी खर्च हुन्छ भने एउटा इँटा पोल्न ३ रुपैयाँ बराबारको कोइला खर्च हुने उद्योगी बताउँछन् ।

गत वर्ष ३ लाख मात्रै इँटा पोलेको जाल्पादेवी उद्योगले यसपाला ६ लाख इँटा पोल्न करिव १ सय टन कोइला आयात गरेको छ । उद्योग रहेका सबै गाविसका जम्मा २६ वटा उद्योगले हरेक सिजनमा १ सय देखि १ सय २५ टन कोइला  उखुको धुलो, धानको भुस पोल्दा करिव २५ सय देखि ३ हजार टन कोइलाको धुवाँ यस क्षेत्रमा फैलिने गरेको छ । उक्त धुवाँले छत्रेदेउराली, नाविसे, जीवनपुरका घरकान्लामा रोपेका डालेघाँसको पातमा समेत कालो लेप बस्ने गरेको छ ।

उक्त घाँस गाईभैंसीले पनि खान छोडेको स्थानीयले अनुभव गर्न थालेका छन् । घाँस नखाएपछि गाइभैसीको दूध उत्पादन समेत ह्रास आएको किसानरु बताउँछन् ।

‘विकाससँगै विनास हुने भएपनि हामीले स्थानीयलाई रोजगार दिएका छौं, व्यापार बढेको छ । सहुलियत दरमा इँटा दिएका छौं । तरकारी बाली नोक्सान भएकोबारे उद्योगमा आएर कसैले गुनासो गरेको छैन,’ जाल्पादेवी इँटा उद्योगका म्यानेजर बदी गजुरेलले भने इ कान्तिपुर डट कममा खबर छ ।