कार्यकर्ताको भावनाको कदरका लागि सभापतिमा उम्मेदवारी

662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ramchandra paudelकाठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले कार्यकर्ताको भावनाको कदर गर्दै आफूले पार्टीको सभापतिका लागि उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।

 विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै उहाँले पार्टीमा आफू विजयी भए सबै कार्यकर्ताको भावनालाई मूर्त रुप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो — “म काम गर्ने व्यक्ति हुँ, काम गर्न पद चाहिने भएकाले मात्र मैले पदका लागि सभापतिमा उम्मेदवारी दिएको छु, तपार्इंहरु ढुक्क हुनुहोस्, म सबैको भावनालाई पुूरा गर्नेछु ।”

नेता पौडेलले अहिलेको राष्ट्रिय दायित्व पूरा गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा आएकाले उम्मेदवारी दिन आवश्यक रहेको प्रस्ट पार्नुभयो । उहाँले १३औँ महाधिवेशनले पार्टीलाई नयाँ जीवन्तता दिने खालको नेतृत्व चयन गर्न सक्नुपर्ने भएकाले सबै प्रतिनिधिलाई कसैको दबाबमा नपरीकन जिल्लाबाट आउँदा जे निर्णय लिएर आउनुभएको छ त्यही निर्णयमा अडिग रहन आग्रह गर्नुभयो ।

अहिले काँग्रेसका सामु आफ्नो पार्टीको मात्र अभिभारा नभई देशको विद्यमान परिस्थितिलाई सम्हाल्ने अभिभारा पनि थपिएकाले काँग्रेसको अधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताउनुभयो ।