ग्यांसको अभाव कायमै उद्योगबाटै कालोबजारी

650 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फाल्गुन २९, २०७२- चितवनको कुरिनटारदेखि नौविसेसम्म पृथ्वीराजमार्गमा मात्रै १९ वटा ग्यास भर्ने उद्योग छन् । नाकाबन्दीपछि ती उद्योगमा मासिक कोटाअनुसार ग्यास धमाधम आउन थालेको छ । ठूला होटल, अस्पताल र रेस्टुरेन्टहरूले आफ्नै सवारी साधन लिएर ग्यास लिन आउने गरेका छन् ।

21022016085525Gas-Bullet-1000x0धादिङमा मात्र १३ ग्यास उद्योग छन् । तिनले दैनिक २० हजार सिलिन्डर भरेर राजधानी पठाउन मासिक २ सय ५ बुलेट ग्यास आयात गर्छन् । ‘नाकाबन्दी खुलेयता अधिकांश उद्योगमा कोटाअनुसार ग्यास आएको छ’, धादिङ प्रहरीका प्रमुख डीएसपी सविन प्रधानले भने, ‘तर अभाव कायमै छ ।’

राजधानी, पृथ्वीराजमार्ग र सदरमुकामसमेत १० लाख सिलिन्डर बजारमा पठाएका छन् । ‘उद्योगहरूले ग्यास पठाउने बेला डिपोको रेकर्ड दिँदैनन् । कसले कति कसलाई दियो थाहै हुन्न, कतिपयले रेकर्ड नै दिन मान्दैनन्’, राजमार्गमा पर्ने बैरेनीस्थित प्रहरी चौकीका इन्चार्ज सई सुरेन्द्र यादवले भने ।

कतिपय उद्योगले सदरमुकामलगायत राजमार्गमा अनुमति नै नलिएका डिपो स्थापना गरी साबिकभन्दा महँगोमा बेच्ने गरेका छन् । नाकाबन्दी हटेपछि १४ केजीकै ग्यास ल्याउन थाले पनि कतिपय डिपोले ७ केजीको बेच्न छाडेका छैनन् ।

धादिङ सदरमुकाममा श्रीमाया ग्यास उद्योगले बिनाअनुमति नक्कली डिपो खडा गरी आधा सिलिन्डरलाई ३१ सय ५० मा बेचेको पाइयो । आधा सिलिन्डिर ग्यास अरू डिपोले २९ सयमा बेच्दै आएका थिए ।

‘श्रीमायाको डिपो राख्ने उत्तम थापाले दर्ता नगरेको र बढी मूल्य लिएको गुनासो आएपछि अब त्यसो नगर्न २ पटक पक्राउ गरी कागज गराएर छोडेको’ डीएसपी प्रधानले जानकारी दिए । लाखौं सिलिन्डर ग्राहकहरूकै घरमा ‘होल्ड’ भएपछि मागेजति बजार पठाउन नसकिएको धादिङका १३ उद्ययोगीहरूले बताएका छन् ।

नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले उद्योगका ७५ प्रतिशत सिलिन्डर बजारमा पुगे । सबै बजारमै अड्केका हुन् । ग्राहकहरूले घरमै भण्डारण
गरी रित्ता सिलिन्डर नफर्काएपछि उद्योगहरूलाई समस्या परेको हो ।

राजधानीको बजारमा सबैभन्दा बढी १ लाख ८८ हजार सिलिन्डर पठाएको खेतान समूहको हिमालय पेट्रो केमिकल्समा अहिले ६ हजार पनि सिलिन्डर छैनन् । यौटा बुलेटले २४ सय आधा सिलिन्डर भर्न पुग्छ । ‘१४ केजीकै ग्यास भर्न अनुमति दिए केही समस्या समाधान हुने थियो’, एचपी ग्यासका व्यवस्थापक एलके शर्माले भने ।

धादिङका उद्योगहरूले करिब १० लाख सिलिन्डर बजार पठाएका छन् । सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउने गरेका थिए । ‘नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै पठाउने प्रावधानले उद्योगहरूसँग पुगनपुग १ लाख मात्रै रित्ता सिलिन्डर भएको तथ्यांक लिएका छौं,’ डीएसपी प्रधानले भने, ‘ग्यासका बुलेट आउने क्रम जारी छ । हरेक दिन बिनाअवरोध राजधानीतर्फ जाने गरेको पाइएको छ ।’

दैनिक २० भन्दा बढी ग्यास बुलेट आउने गरेको खानीखोलास्थित इलाका प्रहरी इन्चार्ज यादव थापाले बताए । घरायसी प्रयोजनका लागि बिक्री गर्नुभन्दा छिट्टै प्रयोग गरिसक्ने, चाँडै रित्ता सिलिन्डर फर्काउने र अरूभन्दा बढी मूल्य दिने भएकाले उद्योगीहरू होटल रेस्टुरेन्टलाई एममुष्ठ बिक्री गर्न रुचाउँछन् ।

वरिपरिकालाई १४ केजीको ५ हजार, राजधानीका होटल–रेस्टुरेन्टलाई ६ हजारमा समेत उनीहरूले बेचे । उद्योगमा कार्यरत स्थानीय कर्मचारी र नजिकैका डिपोहरूको मिलोमतोमा ग्यासको कालोबजारी हुने गरेको छ इ कान्तिपुरमा खबर छ ।