कांग्रेस केन्द्रीय कार्यसमितिको समावेशी २२ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक

937 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • देउवा प्यानलका १३, पौडेलका ८ विजयी, ३९ जनाको परिणाम आउन बाँकी
12032016084928NC-1000x0

 फागुन ३०- कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारसम्मको मत परिणामले सभापति शेरवहादुर देउवालाई सुविधानजक बहुमतमा पुर्‍याएको छ ।

सभापतिसहित तीन पदाधिकारी र २२ केन्द्रीय सदस्यको नतिजा आउँदा देउवा प्यानलमा सभापति सहित १५ सदस्य र पौडेल प्यानलमा महामन्त्री, कोषाध्यक्षसहित १० सदस्य छन् ।

शनिबार महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी कोटाका २१ केन्द्रीय सदस्यको नतिजा आएको छ । मुस्लिम तर्फका एक सिटमा देउवा प्यानलका फरमुल्ला मन्सुर यसअघिनै निर्वाचित भइसकेका छन् ।

महिला आरक्षतर्फको ६ केन्द्रीय सदस्यमा देउवा प्यानलका चार र पौडल प्यानलका दुई निर्वाचित भएका छन् । देउवा प्यानलकी डिला संग्रौला पहिलो नम्वरमा निर्वाचित भएकी छिन् । उनी महिला संघकी अध्यक्ष समेत हुन । देउवा प्यानलकै पुष्पा भुषाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र पौडेल प्यानलबाट कमला पन्त र सरिता प्रसाई विजयी भएका छन् । बस्नेत, न्यौपाने, पन्त र प्रसाई सांसदसमेत हुन ।

आदिबासी जनजातिको खुला ३ पदमा देउवा प्यानलबाट बहादुरसिंह लामा, पौडेल प्यानलबाट चीनकाजी श्रेष्ठ र नेविसंघका पूर्वअध्यक्ष कल्याण गुरुङ निर्वाचित भएका छन् । श्रेष्ठले ९ सय ४७, लामाले ७६७ र गुरुङले ७ सय ३४ मत ल्याए । लामा सांसद हुन । श्रेष्ठ पूर्वमन्त्री एवं संसदीय दलका प्रमुख सचेतक हुन् ।

आदिवासी जनजाति महिला २ पदको आरक्षणमा सीता गुरुङ र रत्ना शेरचन विजयी भएका छन् । गुरुङ देउवा प्यानल र शेरचन पौडेल प्यानलका हुन् । दुवै सांसद हुन् । १२ औं महाधिवेशनमा पनि यीनै दुई यहि कोटाबाट निर्वाचित भएका थिए ।

मधेसी ३ पदको खुला केन्द्रीय सदस्यमा देउवा प्यानलका अजय चौरसिया, महेन्द्र यादव र पौडेल प्यानलका रामकृष्ण यादव निर्वाचित भएका छन् । चौरसियाले १३४१, महेन्द्र यादवले १२३६ र रामकृष्ण यादवले १२०० मत पाएका छन् ।

यसै कोटाबाट प्रतिस्पर्धा गरेका नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जीत कर्ण भने झिनो मतान्तरमा पराजित भएका छन् । १२ औं महाधिवेशनमा पनि चौरासिया र यादव यही कोटाबाट सदस्य निर्वाचित भएका थिए । मधेसी कोटाबाट निर्वाचित रामकृष्ण यादव नयाँ अनुहार हुन । उनी पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सांसद पनि हुन् ।

मधेसी  २ पदको महिला आरक्षणमा किरणदेवी यादव र पार्ववती डिसी चौधरी विजयी भएका छन् । यादव सबभन्दा बढी मत ल्याई विजयी भएकी छिन् । प्रत्यक्ष सिटमा निर्वाचित सांसद समेत रहेकी यादव पौडेल प्यानलकी हुन् । देउवा प्यानलबाट उम्मेदवार भएकी चौधरी पनि प्रत्यक्ष सिटमा निर्वाचित सांसद हुन् ।

आरक्षण दलित ३ को खुला पदमा जीवन परियार, मीन विश्वकर्मा र मानवहादुर विश्वकर्मा विजयी भएका छन् । तीनै जना सांसद हुन् । परियार १४८१, मानबहादुर १४०२ र मिन १३१३ मत ल्याई विजयी भएका हुन् ।

परियार पौडेल प्यानलका हुन् भने मानवहादुर र मीन देउवा प्यानलका हुन् । मानवहादुर केही समयअघि मात्रै संस्थापन छाडेर देउवा प्यानलमा प्रवेश गरेका हुन् । पछिल्लोपटक संस्थापन छाडेर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा मन्सुर र मानवहादुर हुन् ।

दलित आरक्षण महिला २ पदमा लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । यी दुवै देउवा प्यानलका हुन् ।

केन्द्रीय कार्यसमितिको सदस्यका लागि खुला र आरक्षण तर्फ गरी ४६ पदका लागि भइरहेको मतगणनामा अब ३९ सदस्यको परिणाम आउन बाँकी छ । शनिबारदेखि प्रदेशबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ ।

खुला २५ मा शनिबार १५ सय मतको गणना सकिएको छ । १५ सय मत गणना हुँदा देउवा प्यानलका १४ र पौडेल प्यानलका ११ सदस्य अग्रस्थानमा छन् । एक नम्वर को हुने भन्नेमा शेखर कोइराला, प्रकाशमान सिंह र खुमवहादुर खड्काबीच कडा प्रतिस्पर्धा चलेको छ । शनिबार शेखर पहिलो, प्रकाशमान दोस्रो र खुमवहादुर तेस्रो स्थानमा पुगेका छन् ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार आइतबार बेलुका सम्म सवैको मत परिणाम आउन सक्ने बताए इ कान्तिपुर डट कममा खबर छ ।