कार्यान्वयन हुन सकेन त्रिशूली नदीमा पाँच वर्षभित्र तुईन हटाईने घोषणा

911 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumb

तुईनवाट जोखिमपूर्ण यात्रा गर्दै सलाङ गाविसका स्थानीय वासिन्दा। गाउं नजिकै पुल नभएका कारण यहाँका वासिन्दा दिनहुं सास्ती खेप्न वाध्य छन। तस्बिर  :  केशव अधिकारी /धादिङ


तुईन हटाउने मन्त्री परिषदको महत्वाकांक्षी निर्णयलाई बर्तमान सरकारले पनि निकै चासो देखाएपनि कार्यान्वयनमा आउन सकेको छैन । पाँच वर्षअघि सरकारले वजेट भाषण मार्फत घोषणा गरेको देशभरीका तुईन विस्थापन गरी सो ठाउंँमा झोलुङ्गेपुल निर्माण गर्ने योजना अझै पूरा हुन सकेको छैन। सरकारले वजेट वक्तव्य मार्फत घोषणा गरेको पाँच वर्षको अवधि सकिनै लाग्दा धादिङ जिल्ला विकास समितिले अर्को पाँच वर्ष भित्र त्रिशूली नदीमाथिका तुईन हटाएर सो ठाउँमा  झोलुङ्गे पुल निर्माण गर्ने नीति ल्याएको छ।

धादिङ जिल्ला विकास समितिको २२ औं जिल्ला परिषदवाट पारित गरिएको निति तथा कार्यक्रममा पारिएको यो प्रस्ताव पनि पांचबर्ष अघि सरकारी घोषणा जस्तै बन्ने धेरैको आशंका रहेको छ।
पाँच वर्ष अघि गोरखाको चाईनाघाटबाट धादिङको चरौंदी नजिकै पृथ्वीराजमार्ग तर्फ आवतजावत गर्ने त्रिशूली नदी माथिको तुईन छिन्दा तरकारी लिएर आउंदै गरेका पांच जना त्रिशूलीको भेलमा परेर वेपत्ता भएका थिए। नदी माथिको तुईन जिर्ण हुँदा पनि मर्मत सम्भार हुन ढिलाई भएको भन्दै सरकारको विरोध हुन थालेपछि तत्कालिन सरकारले देशभरीका तुईन हटाएर सो ठाउँमा झोलुङ्गेपुल निर्माण गरिने बताएपनि कार्यान्वयनमा आउन भने सकेको छैन।
राष्ट्रिय घोषणा कार्यान्वयन हुन ढिलाईभईरहेको बेला धादिङ जिल्ला विकास समितिले अबको पाँच वर्ष भित्रमा त्रिशूली नदीलाई तुईनमुक्त वनाउने योजना अघि सारेको हो। नदी तर्नका लागि जडान भएका तुइनको प्रयोगबाट बढ्दै गएको दुर्घटना, जोखिमपूर्ण यात्रा गरेर हिंड्नबाध्य, जेष्ठ नागरिक,विरामी, अशक्तहरुका साथै दैनिक आवतजावत गर्नुपर्ने विद्यालय जाने वालवालिका र तरकारी लिएर वजार जानुपर्ने किसानहरु ब्ढी मार खेप्न बाध्य भएका छन।
सर्वसाधारणले दैनिक जिवन निर्वाह गर्न तुईन तर्दा असुविधा भोगिरहेको अवस्थालाई ध्यानमा राखी तुइन विस्थापन गर्न लागिएको धादिङका तत्कालिन स्थानीय विकास अधिकारी तामाङले वताएका थिए ।  तामाङ पछि धादिङमा जति जना स्थानीय विकास अधिकारी आए ति सबैले २२ औं जिल्ला परिषदको निर्णय कार्यान्वयनको रटान भने छाडेका छैनन ।
त्रिशूली नदीमा कतिपय स्थानमा झोलुङ्गेपुल रहेपनि केही ठाउंमा अझै सम्म पनि पुरानो भईसकेको तुईन प्रयोग गर्नुपर्दा सर्वसाधारण निकै कष्ट सहन वाध्य भएका छन। अहिले धादिङ जिल्लाको सलाङ गाविस वडा नम्बर ५ मजुवाटार बाट पृथ्वीराजमार्गमा पर्ने वेनिघाट मालिङ्गा, कुम्पुर गाविसको खरमटारवाट गजुरी गाविसको चाम्वास, पीडा गाविसको जरेबगरबाट र कुम्पुर गाविसको वगैचा, बैरेनी गाविसको बेल्खुबाट कल्लेरी गाविसको वेलिनटार,बैरेनी गाविसकै चिरौंदीवाट कल्लेरी गाविसको राईगाँउ जोड्ने तुइन सञ्चालनमा रहेका छन्।
त्यसैगरी,धुषाको चरौदी र गोरखाको घ्यालचोक जोड्ने तुइन पनि सञ्चालमा रहेका छन। यि मध्ये पहिलो चरणमा कुम्पुरको खरमटारवाट गजुरी गाविसको चाम्वास जोड्ने तुईन आगामी बर्षनै हटाईनेछ। सो ठाउंमा पुल निर्माणका लागि आगामी आर्थिक बर्षको शुरुवात देखिनै प्रकृया अघि बढाउन १ करोड २० लाख रुपैया वजेट विनियोजन गरिएको छ। विनियोजन गरिएको वजेट मध्ये ३० लाख रुपैया स्विस सरकारको सहयोग रहने जिल्ला विकास समितिले जनाएको छ।
नदीमा पुल नहुँदा स्थानीयबासिन्दालाई तुइनबाट जोखिम मोलेर नदी तर्नु पर्ने बाध्यता छ। अरु समयमा तुइन तर्न सहज भए पनि बर्षातमा भने झनै समस्या हुने गरेको छ। पाइक पर्ने स्थानमा पल नभएकाले तुईन तर्नुको विकल्प स्थानीयबासिन्दासँग  छैन।  तुइन तर्दा केहीले त ज्यान नै गुमाउने पनि गरेका छन। स्थानीयबासिन्दाले वषौंदेखि पुल बनाईदिन माग गरे पनि सम्वन्धित निकायले सुनुवाई नगरिहेको बेला जिल्ला विकास समितिले पञ्चबर्षिय प्रस्ताव अघि सारेको हो।