भूकम्पपीडितलाई खानेपानीको जोहो गर्न सकस
579 पटक पढिएको
धादिङको खरी–१, धुसेनीका २०५ घरधुरीमा अहिले खानेपानीको हाहाकार छ। वर्षौंदेखि पानी अाइरहेका घर नजिकका मुहान र धारामा पानी सुकेपछि स्थानीयलाई पानीको जोहो गर्न ठूलै सकस बेहोर्नु पर्छ। बिहान उज्यालो नहुँदै एक गाग्री पानीका लागि खोला धाउँदा पनि घन्टौं पालो कुर्नु पर्छ।
धुसेनीको चारघरे, कुवापानी, ढाव, जुँगे धारा, सातबोटे लगायत दर्जन बढी पानीका मुहान सुकेका छन्। जन्मेदेखि पानी खाएको मुहान एकाएक सुकेको देख्दा स्थानीयवासी अचम्मित छन्। स्थानीय कर्णबहादुर आचार्यले आफ्ना पुस्ता नजिकै पानीको मुहान देखेर यो ठाउँमा बसाई सरेको तर अहिले पानीको हाहाकार भएको बताए।
पानी नहुँदा गाउँमा हुने साँस्कृतिक चलन रोकिएका छन्। विवाह, व्रतबन्धमा भोज पनि खुवाउन छोडिएको छ। स्कुले केटाकेटीको बिहान बेलुकाको काम नै घरमा पानीको जोहो गर्नु बनेको छ सेतोपाटीमा खबर छ ।
धुसेनी प्रतिनिधि गाउँमात्रै हो, भूकम्पपछि धेरै पहाडी जिल्लामा पानीको मुहान सुक्दै गएका छन्। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्राज्ञ रञ्जनकुमार दाहालले भूकम्पले जमीनमुनिको पानीको अवस्थिति परिवर्तन गरिदिएकाले मुहान सुकेको बताए। ‘भूकम्पले जमीन हल्लिदाँ पानीको नियमित बाटो बदलिन्छ, कतै चट्टान छुटिन्छन्, कतै प्वाल पर्छ,’ दाहालले भने ‘त्यसो हुँदा पहिलेकै मुहानबाट पानी आउँदैन, त्यो अन्तै जान्छ।’
यसअघि पनि जलवायु परिवर्तन लगायतका कुराले पानीका मुहान सुक्न थालेका थिए। प्रतिष्ठानकी वरिष्ठ वैज्ञानिक अधिकृत विमला देवकोटाले बन जंगलको विनास, पहिरो आदि कारणले पानीका मुहान क्रमशः सुकिरहेको र भूकम्पपछि त्यो क्रम ह्वात्तै बढेको बताईन्। ‘पानीका मुहान सुक्ने समस्या यसअघि पनि थियो, अहिले भूकम्पले त्यो क्रम ह्वात्तै बढेको छ,’ देवकोटाले भनिन्।
खानेपानी तथा ढल निकास विभागले सुकेका खानेपानीको विवरण संकलन गरिरहेको बताएको छ। विभागको सामाजिक परिचालन शाखा प्रमुख उपसचिव प्रेमनिधि केसीले कुन जिल्लामा कति पानीका मुहान सुकेको एकीन विवरण आइनसकेको बताए। ‘धेरै जिल्लाबाट पानीका मुहान सुकेको गुनासो आइरहेको छ,’ केसीले भने ‘अब कसरी ती बस्तीमा पानी उपलब्ध गराउने भन्ने विषयमा थप अध्ययन गर्नुपर्छ।’