देशभर डढेलो, सरकार रमिते

986 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

new-fire-pic

काठमाडौं । देशभर भएको वनक्षेत्रमध्ये करिब २० प्रतिशत वनमा डढेलो लागेको छ तर सरकार यो समस्या रोक्ने कुनै उपाय अपनाउन सकिरहेको छैन । नेपाल सरकार विदेशी संस्था ईसिमोडको तथ्यांकका आधारमा समाचार संकलन र संप्रेषणमा मात्रै सीमित छ बाह्रखरी डट कममा खबर छ ।

ईसिमोडका अनुसार अप्रिल महिनाको १५ तारिखसम्म देशभर १७ सय ५५ स्थानमा आगलागी भएको छ । तराईका अधिकांश सबै जिल्लामा डढेलो लागिरहेको भएता पनि कुनै पनि जिम्मेवार निकाय त्यसको रोकथामका लागि सक्रिय हुन सकेको छैन । यो समाचार लेख्दैगर्दा पनि अछाम, बाँके, बर्दिया, दाङ, कैलाली, मकवानपुर र नवलपरासीका विभिन्न स्थानमा ढडेलो लागिरहेको जानकारी ईसिमोडले दिएको छ । यस बाहेक इलाम, धनकुटा, चितवन र रौतहटमा पनि अहिले डढेलो सक्रिय छ ।

सरकारले डढेलो नियन्त्रणका नाममा जिल्ला वन कार्यालयहरुलाई वार्षिक ५० हजार देखि एक लाखसम्म विनियोजन गरेको तर त्यो रकम अपर्याप्त भएको भन्दै कार्यालयहरूले अलिकति पनि काम नगरी वजेट सिध्याएको श्रोतले जनाएको छ । वन मन्त्रालय स्रोतका अनुसार ०६७ सालमा डढेलो नियन्त्रण रणनीति बनाइए पनि त्यसमा कुनै काम हुन सकेको छैन ।

ढडेलोको जोखिम बढी भएका जिल्लामा नियन्त्रणका लागि केही प्रयासहरु भएपनि त्यो प्रभावकारी हुन नसकेको बिभागका वन पैदावार अधिकृत श्री प्रसाद बराल बताउँछन । डढेलो नियन्त्रणका लागि अहिलेसम्म ससाना काम बाहेक ठूला योजना बन्न नसकेको स्वीकार्दै उनी यससम्बन्धि जनचेतना नबढेसम्म नियन्त्रणका उपाय प्रभावकारी नहुने बताउँछन ।
डढेलो लाग्नुका पछाडि विभिन्न कारण हुने भए पनि ९५ प्रतिशतभन्दा बढी डढेलो मानवीय कारणले लाग्ने गरेको छ । खासगरी फागुनदेखि वर्षा सुरु हुनुअघिसम्म मुलुकैभर डढेलो फैलिने गरेको छ । डढेलोले बोटबिरुवा, वन्यजन्तु र पशुपन्छीलाई प्रत्यक्ष असर गर्दछ ।

वनमा लाग्ने डढेलोप्रति जनता र सरकार उदासिन रहने गरेता पनि यसले विगतका वर्षमा धेरै व्यक्तिको ज्यान लिइसकेको छ । २०६६ सालमा देशका विभिन्न स्थानमा फैलिएकोे डढेलोमा परि ४९ जनाको ज्यान गएको थियो भने चारबर्षअघि रामेछापमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा १३ जना सैनिकको मृत्यु भएको थियो ।