ब्रुसवाङ (धादिङ) । मलेखु बजारबाट २ घण्टा मोटरमा र ६ घण्टा पैदल यात्रा गरेर पुग्न सकिने दक्षिणी धादिङको अति विकटमा रहेको ब्रुसवाङ गाँउमा बिहान सिस्नु र बेलुका गिठ्ठा र टाँकीको मुन्टाले छाक टार्न थालेको २ महिना बित्यो । कन्दमुलमा बाँचेको बु्रसवाङलाई अब छाक टार्न पनि मुस्किल भएको छ ।
बु्रसवाङकी सानुमाया चेपाङलाई बाबुआमा र तीन जना बच्चालाई बिहान बेलुकाको छाक टार्न मुस्किल भएको छ । घर छेउमा रहेको टाँकी को बोटमा मुन्टा टिप्दै गरेकी चेपाङले भनिन्, ‘खाए पनि टाँकी नखाए पनि टाँकी, बारीमा टिपे पनि टाँकी जंगल गए पनि टाँकी । दुई महिना भइसक्यो टाँकीको मुन्टा खाएको । हिँड्ने बोल्ने ताकत छैन । घरमा मकै पनि छैन ।’
बारीको डिलमा सिस्नु टिप्दै गरेकी दिलमाया चेपाङको पनि हाल उस्तै छ । ‘चैतको मध्यतिरबाट लगातार बिहान गिठ्ठा, बेलुका सिस्नु खाएको अब त खोज्न जान नसक्ने गरी गलिसक्यौँ । घरमा मकै पनि छैन’ उनले भनिन्, ‘लगाएको ८ महिनामा पाक्ने मकैले ८ जनाको परिवारलाई मुस्किलले ४ महिनासम्म खान पुग्छ । मकै पाक्न कार्तिक पर्खनु पर्छ कसरी बाँच्नु ?’
उनलाई खानेपानी लिन पनि साढे चार घण्टा हिँड्नुपर्छ । ‘पानी ल्याएर खान पनि नसक्ने अवस्थामा पुगिसक्याँै’ दिलमायाले मलिनो स्वरमा भनिन् । उनका श्रीमान् रामलालले वर्षभरमा ६०÷७० डोको बुनेर ८ हजारसम्म नगद हात पार्ने बताए ।
‘तर त्यो पैसाले लुगाफाटो नै पुग्दैन । तेल मसलाको त कुरै छैन । ज्याला मजदुरी गर्ने गाउँठाउँ पनि नजिक छैन । हामी चेपाङलाई हेर्ने कोही भएनन्’, रामलालले दुःखेसो पोखे ।
६७ वर्षीय चन्द्रमान चेपाङ बिहान छोरालाई साथी लिएर गिठ्ठा तास्दै थिए । अघिल्लो दिन बाउछोराले दिनभर वन चारेर आधा डोको गिठ्ठा ल्याएका रहेछन् । चन्द्रमानले भने, अब त जंगलमा टाँकी, गिठ्ठा, सिस्नु पनि मासिँदैं गइसक्यो । पहिला एक दिन वन गएपछि २÷३ दिन जानु पर्दैन थियो । अहिले त दिनभर चार्दा बेलुकाको छाक टर्दैन । यस्तै हो भने अर्को वर्ष भोकमरीले मरिन्छ ।’ यहाँका चेपाङ ज्यालामजदुरी गर्न पनि मनाङ जान्छन् । काम गर्न बेनीघाट गएमा दिनको २०० सम्म कमाउँछन् ।
प्रजा विकास कार्यक्रमले पनि बु्रसवाङका चेपाङलाई केही नगरेको गाँउका अगुवा टेकबहादुर चेपाङ बताउँछन् । गाउँमा सरकारी कर्मचारी प्रजा विकास कार्यक्रमबाट एक पटक आए, त्यसपछि कुनै कर्मचारी नआएको उनले बताए । ‘हामीलाई कि खानेपानी दिनुपर्छ कि प्रतिपरिवार खेतीयोग्य जमिन दिनुपर्छ’ उनले भने ।