राजमार्गमा ठगिँदै ग्राहक

740 पटक पढिएको

सम्पादक: Dhading News

जेष्ठ ३०, २०७३- ६ वटा पकौडाको मूल्य ५० रुपैयाँ, आलुचप प्रतिगोटा २५ । चाउचाउ प्रतिप्याकेट ३०, बिस्कुट ५० र पकाएको एउटा चाउचाउ एक सय ५० रुपैयाँ । यो कुनै पाँचतारे होटेलको मेनु होइन, पृथ्वी राजमार्ग आसपासका पसल र रेस्टुराँको मूल्य हो ।

120620160841291-07061-1-Highway-public_To-1000x0ती पसल र रेस्टुराँमा अण्डा २५, चना प्रतिप्लेट ५०, कुरकुरे ६०, कोकाकोलालगायत पेय पदार्थ ४० र बोतलको पानी ३० रुपैयाँ । राजधानीबाट सय किलोमिटर दूरीमा यात्रीले तिर्नुपर्ने मूल्य हो यो । उक्त राजमार्ग हुँदै दैनिक ६८ जिल्लाका हजारौं यात्रु ओहोरदोहोर गर्छन् । ती पसल र रेस्टुराँ पुग्ने जोकोहीले चर्को मुल्य तिर्नैपर्छ । नियामक निकाय मौन बस्दा सर्वसाधारण निरन्तर ठगिइरहेका छन् ।
शौचालय बनाएर त्यसको छेउमा पसल राख्ने र दिसापिसाब गराउने नाममा यात्रु ओर्लेको मौकामा चर्को मूल्य असुलिन्छ । पछिल्लो समयमा शौचालय त्यसका लागि बहाना बनेको छ । ‘पिसाब लागेपछि गाडीबाट ओर्लनै पर्‍यो । भोक लागेका बेला जति पैसा लिए पनि नतिरेर के गर्ने ?’ बबई म्युजिकका निर्देशक शान्तबहादुर रावतले भने, ‘राजमार्गमा एउटा सानो पकौडाको नौ रुपैयाँ तिर्नुपर्छ ।’
नेपालगन्ज धम्बोजीका अम्बिका श्रेष्ठ महिनैपिच्छे राजधानी आउजाउ गर्छिन् । ‘जानाजान राजमार्गका पसलेबाट ठगिनुभन्दा डेराबाटै पानी र नास्ता ल्याउन थालेकी छु,’ उनले भनिन् । पसलेहरू यात्रुलाई पासो थापेझैं बसेका छन् । ‘नास्ताको होटल थापेर ब्रह्मलुट भइरहेको छ,’ उनले भनिन् ।
गल्छीदेखि नौबिसेसम्म यस्तो व्यापार गरेर दैनिक सयौं यात्रु ठगिने गरेका छन् । बाहिरबाट हेर्दा सामान्य लागे पनि सार्वजनिक शौचालयको आडमा खोलिएका पसलबाट दैनिक लाखौंको व्यापार हुन्छ । उपभोक्ता ठगिने क्रम रोकिनु साटो दिनप्रतिदिन बढेको छ । यात्रु भोक, प्यास र दिसा पिसाबले अत्तालिएको जानकारी चालकलाई हुन्छ । शौचालय नजिक पारेर गाडी रोकिदिन्छन् । चालक तिनै होटेलमा छिर्छन् । उनकै होटेल र आसपासका पसलमा झुम्मिनु यात्रुको बाध्यता हुन्छ ।
नौबिसे सिक्रेखोलासम्म १२ वटा त्यस्ता शौचालय छन् । अधिकांशले होटेल, पसल र शौचालय सार्वजनिक जग्गामै निर्माण गरेका छन् । कतिपयले राजमार्गको मापदण्ड नै मिचेर पसल थापेका छन् र शौचालय निर्माण गरेका छन् । सडक छेउका ती पसल कतै दर्ता छैनन् । कुनैमा मुल्यसूची देखिँदैन । जबकि, हरेकमा दैनिक डेढ लाख रुपैयाँसम्मको व्यापार हुन्छ । नौबिसे ५ टायलघरको २० किमि खाजा घरले लहरै पाँच वटा शौचालय बनाएको छ । भाडा तिरेर निर्माण गरेको शौचालय तथा खाजा घरमा पनि शौच गरेबापत ग्राहकले चर्को मूल्य तिर्नुपर्छ । ‘तीन आना जग्गा प्रयोग गरेबापत मासिक ५० हजार भाडा तिरेपछि लगानी त उठाउनै पर्‍यो,’ खाजा घरका सञ्चालक नवराज अधिकारीले भने ।
अधिकांश पसलमा शौचालयको बोर्ड देखिन्छ । तर, होटेल र पसलको भने बोर्ड छैन । पसलको मूल्यसूची, दर्ता वा अरू कुनै पनि कागजपत्र भेटिँदैन । पसलेको ज्यादतीमा स्थानीय प्रशासन मौन छ । जिल्ला कोष तथा लेखा नियन्त्रक यज्ञप्रसाद ढकालले जनशक्ति अभावमा पनि नियमित अनुगमन हुन नसकेको बताए ।
‘सबै निकायले एकसाथ अनुगमन भएको छैन । बेलाबेलामा औपचारिकता भने निभाइने गर्छ । सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुली प्रभावकारी अनुगमन हुन नसकेको स्वीकार्छन् । जिल्ला होटेल संघका अध्यक्ष राजकुमार प्याकुरेलले प्रशासनले महँगी र अवैध व्यवसाय नियन्त्रणमा ध्यान दिनुपर्ने बताए इ कान्तिपुरमा खबर छ ।