वर्षा लागेपछि सामूहिक आवास निर्माण तीव्र

836 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

असार-४,यस पटकको मनसुन सुरु भइसक्दा भूकम्पपीडितहरू पाल र जस्ताका पातामुनि बस्न बाध्य छन् । सरकारले भने बल्ल भूकम्प प्रभावित जिल्लामा सामूहिक आवास निर्माण थालेको छ ।

12062016080640nepal-army-dhading-(2)-1000x0पुनर्निर्माण प्राधिकरणले पीडितहरूको घर पुनर्निर्माणमा रकम दिन ढिलाइ गरेपछि सरकारले सामूहिक आवास निर्माणको योजनालाई अघि बढाएको हो । प्राधिकरणबाट स्वीकृत कार्यक्रमबमोजिम सहरी विकास मन्त्रालय र नेपाली सेनाले सामूहिक आवास निर्माण गरिरहेका छन् ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले १४ जिल्लामा ५५ अस्थायी/दीर्घकालीन सामूहिक आवास निर्माणको जिम्मा पाएको छ । ‘हामीले सेमी–पर्मानेन्ट किसिमको सामूहिक आवास निर्माण गर्न लागेका हौं, यो करिब १५ देखि २० वर्षसम्म टिक्छ,’ आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्माले भने । यस्ता सामूहिक आवास भूकम्पलगायत कुनै पनि विपत्ति पर्दा प्रयोग हुन सक्ने छ । निर्माण सम्पन्न गरेपछि गाउँ विकास समितिलाई हस्तान्तरण गरिनेछ । यसमा सामूहिक रूपमा बस्न, खाना पकाउन, शौचालयलगायत आवश्यक पूर्वाधार हुनेछन् ।

इकाईले निर्माण गर्न लागेको सामूहिक आवासमा ८ सय १६ परिवार अट्न सक्ने क्षमता छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसमा कुन स्थानमा बनाउने भन्ने निधारण गरिएको शर्माले जानकारी दिए ।

हरेक जिल्लाको कामलाई तीव्रता दिइएको उल्लेख गर्दै उनले भने, ‘कतिपयमा बोलपत्र आहवान गर्दा पनि नपरेपछि भने हामीले गर्न नसक्ने भनेर पुनर्निर्माण प्राधिकरणमा पत्र पठाइसकेका छौं ।’ असारभित्रमै बनाउने लक्ष्य रहेका ती आवास समयमा निर्माण गर्न फेरि बोलपत्र आहवान गर्दा ढिलाइ हुने उनले बताए ।

भूकम्पको केन्द्रविन्दु बारपाकसहित गोरखाका गुम्दा, लाप्राक, घ्याच्चोक तथा सौरपानीमा गरी १० वटा सामूहिक आवास निर्माण गर्ने लक्ष्य भए पनि बोलपत्र आहवान गर्दा नपरेको इर्काइले जनाएको छ । आयोजना कार्यान्वयन इकाईले फेरि बोलपत्रको प्रक्रियामा जाँदा समय लाग्ने भएकाले नेपाली सेनामार्फत गराउन अनुरोध गर्दै पुनर्निर्माण प्राधिकरणलाई वैशाख २६ मा पत्र पठाएको थियो । गोरखामा ५ फरक स्थानमा ६० परिवारका लागि १० वटा आवास निर्माण गर्ने कार्यक्रम थियो ।

अन्य जिल्लामा भने काम भइरहेका छन् । धादिङको सल्यानटार, नीलकण्ठ नगरपालिका, कटुन्जे, बेनीघाट र बैरेनी गरी ५ स्थानमा १० सामूहिक आवास निर्माण भइरहेका छन् । जसमा एक सय १२ परिवार अट्न सक्छन् । नुवाकोटको उर्लेनी, जिलिङ र तुप्चेका १० स्थानमा ९२ परिवारका लागि सामूहिक आवास निर्माण भइरहेका छन् ।

रसुवामा स्याफ्रुबेसी, धुन्चे, धैबुङ र लहरेपौवामा गरी ५ स्थानमा ६३ परिवारलाई पुग्ने सामूहिक आवास बन्दैछ । सिन्धुपाल्चोकको बाह्रबिसे, मेलम्ची, चौतारा र जलविरे गरी ५ स्थानमा ६३ परिवारलाई पुग्ने गरी आवास निर्माण भइरहेका छन् इ कान्तिपुरमा खबर छ ।

काभ्रेको शिखर ओम्बोटे, कोलाती भूमिडाँडा, यासिङखर्क, धुसेनी शिवालय, चौवास, बालुवापाटी देउपुर, याले, उग्रतारा जनगाल, बल्थली, सिल्थली, भीमखोरी र चलाल गणेशस्थान गरी १२ स्थानमा १ सय ६० परिवारलाई पुग्ने सामूहिक आवास निर्माण भइरहेका छन् । यस्तै, दोलखाको चर्नावती, सैलेगेश्वर, पवटी र सुष्मा क्षमावतीमा ४८ परिवार अट्ने १० सामूहिक आवास तथा रामेछापको रामेछाप, मन्थली–१ र मन्थली–२ मा ३२ परिवार अट्ने ३ वटा सामूहिक आवास निर्माण भइरहेका छन् ।  सिन्धुलीको कपिलाकोट, रामटार, गलटार, दुधौली नगरपालिका र कमलामाईमा गरी ८० परिवारलाई ५ स्थानमा सामूहिक आवास निर्माण हुँदैछ । ‘तीमध्ये दुई स्थानमा मात्र काम अघि बढेको छ,’ आयोजना प्रमुख शर्माले भने, ‘तीनवटाको उजुरी परेर छानबिन भइरहेको छ ।’

मकवानपुरमा बेतिनी रामेछाप, टिस्टुङ, महाकाल, खैराङ नामटार र कालीकाटारमा ८० परिवार अट्ने र ओखलढुंगाका खानीभञ्जाङ, रामपुर, खिजिफलाटे, घोराखरी फुवारी र केतुकीमा ४० परिवारका लागि आवास निर्माण भइरहेको छ । यस्तै, काठमाडौंमा १५ तथा ललितपुर र भक्तपुरमा १०/१० स्थानमा सामूहिक आवास निर्माण भइरहेको आयोजना इकाईले जनाएको छ । आयोजना प्रमुख शर्माले सम्पूर्ण काम वर्षायामअघि नै सम्पन्न गर्नुपर्ने लक्ष्य रहे पनि प्राविधिक कारणले सम्पन्न हुन नसकेको बताए । ‘टेन्डर प्रक्रियामा जानुपर्‍यो, त्यसमा पनि समय लाग्ने कारणले गर्दा ढिलो भएको छ । तर हामी सकेसम्म छिटो निर्माण गर्न लागिपरेका छौं,’ उनले भने ।

सेनाले भने असार १० भित्रमा आफ्नो सम्पूर्ण जिम्मेवारी पूरा गर्ने लक्ष्य रहेको उल्लेख गर्दै हालसम्म विभिन्न जिल्लामा ३६ वटा स्थानमा गरी ४ सय ६८ परिवारका लागि सामूहिक आवास निर्माण कार्य भइरहेको जनाएको छ ।