धादिङबेसी- हरितालिका तीजका अवसरमा नीलकण्ठ नगरपालिकाले जिल्लास्तरीय प्रथम लाखे नाचको प्रतियोगीता आयोजना गरेकोछ । राजधानीसँग जोडिएको धादिङका विभिन्न बस्तीहरुमा लाखे नाच नेवार समुदायले मात्रै नाच्दैनन् । जिल्लाका विभिन्न गाउँबस्तीहरुमा नेवार, क्षेत्री, ठकुरीहरुले आ-आफनै तवरले सयौं वर्षदेखि लाखे जात्रा र नाचलाई निरन्तरता दिँदै आएका छन् ।
नेपाल सांस्कृतिक संघ र नगरपालिकाको आयोजनामा आयोजित उक्त कार्यक्रममा भक्तपुरका संस्कृतिविद महेशप्रकाश हाडाले पछिल्लो पुस्ताले सिक्न नचाहेकै कारण देशका महत्वपूर्ण लोक संस्कृतिहरु लोप हुँदै गइरहेको बताए । संस्कृतिविद् हाडाले बहुजातीय देशमा विभिन्न जातीय संस्कृतिका जगेर्ना गर्न लाखे नाचको भिन्नै महत्व रहेको बताए ।
‘स्थानीय लोक संस्कृतिको संरक्षण र सांस्कृतिक पर्यटनको प्रचार प्रसार गर्न स्थानीय निकायहरुको पनि महत्पूर्ण भुमिका रहने नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत देवराज चौलागाईं बताउँछन् ।
लाखे प्रतियोगितामा नगरपालिका क्षेत्रका संगमटोलसँगै खाल्टे, ढोला, मैदी, सल्यानटार, ज्याम्रुङ्ग लगायत ६ वटा गाविसका समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने नेपाल सांस्कृतिक संघका कृष्ण शिशिरले बताए । प्रथम हुने समूह चितवनमा आयोजना हुने राष्ट्रिय लाखे प्रतियोगीतामा भाग लिन छनौट हुनेछ इ कान्तिपुर डट कममा हरिहर सिंह राठौरले खबर लेखेका छन ।