बाबुराम भट्टराई हङकङ अध्यागमनको कष्टडीमा

555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images-cms-image-000006587बाबुराम भट्टराईको ट्वीटरबाट

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई चीनको सेन्झेनबाट हङकङ छिर्ने क्रममा शनिबार दिउँसो हङकङ अध्यागमनले झण्डै एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ।

चीन सरकार निकट संस्थाले ग्वान्झाओमा आयोजना गरेको सिल्करोड सम्बन्धी सेमिनारमा शुक्रबार मन्तव्य दिएपछि भट्टराई हिसिला यमी र विश्वद्वीप पाण्डेसहित नजिकैको शहर हङकङ आउँदै थिए। ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै दिउँसो १ बजेतिर हङकङ आउन लाग्दा अध्यागमनमा भट्टराईले आफ्नो परिचय नखुलाई पासपोर्ट मात्र दिएका थिए।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ आएलगत्तै नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रममा भट्टराईले हरियो पासपोर्ट देखेर आफुलाई अपमान गरिएको बताए। नेपाली हरियो पासपोर्ट अपहेलित भएको पहिले सुन्दै आएको बताउँदै भट्टराईले थपे, ‘अहिले म आफैँले पनि अनुभूती गरेँ, आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण व्यावहार गरे।’

‘हङकङ अध्यागमनले सजिलैसँग छोडिदिन खोज्यो भन्ने ठानेर हामी तीन जना गयौँ, जाँदै गर्दा त हामीलाई पीपुल इन कष्टडी एण्ड पीपुल अण्डर इन्भेष्टिगेसन भन्ने ग्रुपमा पो लगेर राख्यो’, आफुलाई राखिएको कोठाको सूचना पढेर छानविनमा परेको महशुस गरेका भट्टराईले भने, ‘अनि हामीले पनि के गर्ला भनेर हेर्यौँ, तर झण्डै एक घण्टा बित्न लागिसक्यो केही वास्ता गर्दैन। हामीलाई भर्चुअल कष्टडीमा राखेको जस्तो भयो त्यहाँ।’

आफुलाई सरकारले कुटनीतिक पासपोर्ट उपलब्ध गराएको भए पनि त्यो प्रयोग नगरेर हरियो पासपोर्ट मै हिँड्ने गरेको पूर्व प्रधानमन्त्री भट्टराईले त्यहाँ खुलाए।

‘हामीले पहिले नै भिसा लिएका थियौँ, भिसा लिइसकेपछि अध्यागमनमा त दर्ता गर्ने हो, आयो भनेर रेकर्ड राख्ने मात्र हो’, हङकङस्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराई सहित नेपाली संघसंस्थाका प्रतिनिधिसमक्ष बोल्ने क्रममा केही आक्रोशित देखिएका भट्टराईले भने, ‘कि त भिसा नै दिनु हुँदैन, दिइसकेपछि अध्यागमनमा सामान्य प्रहरीले रोक्ने होइन। हरियो पासपोर्ट देख्ने बित्तिकै अपमान गरियो।’

हरियो पासपोर्टलाई यसरी अपमान गरिन्छ भन्ने सुनेको तर आफुलाई अति नै गरिएको भट्टराईले बताए । ‘यो त अति भयो, हामीलाई त यस्तो गर्यो भनेपछि अरुलाई के होला?’, भट्टराईले प्रश्न गरे।

झण्डै एक घण्टा नियन्त्रणमा राखेपछि गल्ती भयो भन्दै माफी मागेर आफुहरूलाई छोडिएको भट्टराईले बताए।

नेपालीहरू अनधिकृत रुपमा प्रवेश गरेर शरणार्थी दावी गर्दै बस्ने गरेको भन्दै हङकङले हरियो पासपोर्ट बोक्ने नेपालीलाई भिसा दिन समेत कडाई गर्दै आएको छ। काठमाडौँस्थित चिनियाँ दूताबासबाट दिइँदै आएको भिसाका लागि अहिले हङकङ अध्यागमनमै आवेदन दिनु पर्ने व्यावस्था गरिएको छ ।

‘एक घण्टा बित्न लागेपछि हामीले हङकङका नेपाली महावाणिज्यदूतलाई पनि सूचना गर्यौँ’, भट्टराईले थपे, ‘म आफैँले पनि तिमिहरूले खोजेको के हो भनेर कस्सिएपछि गल्ती भो गल्ती भो भने । के गल्ती भो भन्दा केही भन्दैनन्।’

‘सरी सरी भनेपछि ह्वाट डु यू मिन वाई सरी भनेर सोधेँ, तर सरी मात्र भने, त्यसपछि तिमिहिरूले नेपाली पासपोर्टलाई जे गर्यौ त्यो ठिक होइन भनेर हामी त्यहाँबाट आयौँ’, भट्टराईले भने।

कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले यो विषयलाई गम्भिर ढंगले उठाउन महावाणिज्यदूतलाई आग्रह गरे।

‘अरु थुप्रै देशका मानिस खुरु खुरु गइरहेका थिए, हामीलाई चाहीँ छानविन पनि केही छैन, लगेर कष्टडी राखे। यो राष्ट्रिय अपमान हा, नेपाली पासपोर्ट प्रतिको अपमान हो’, भट्टराईले भने, ‘म पनि यसलाई गम्भिर ढंगले उठाउँछु, चीन सरकारसँग नै उठाउँछु, किनकी हङकङ चीनकै एउटा अंग हो।’