सित्केन चाबा…..सित्केन चाबा

1468 पटक पढिएको

सम्पादक: Dhading News

15220063_1372204189464486_5696521828912088270_n.बुद्धिमान वाईबा

पहिला-पहिला चामलको भात खान दशैं नै कुर्नु पर्थ्यो । म सानै छदाँ दशैंको लागि चामल जोहो गर्न आलु र कोदोको भारी बोकेर बुवा र दाइहरु लाप्साङ्कर्पोको फेदीसम्म पुग्नु हुन्थ्यो अरे । धादिङ र नुवाकोटका गाउँ-गाउँ डुल्दा ६/७ पाथी धान लिएर बुवा फर्किनु हुन्थ्यो । बुवा आइपुगेको दिन हामी दिदी-भाइ बेस्सरी नाच्थ्यौं, चामलको भात खान पाइने भो भनेर । आमाको मुहारमा पनि खुशी हेर्न लायक हुन्थ्यो त्यो बेला । ६/७ पाथी धान ढिकीमा कुट्दा २ पाथी जती चामल निस्किन्थ्यो अरे । ठुलो परिवार अनि पाहुनपात गर्दा २ छाकमा चामल स्वाहा । एक सालको लागि ढुक्कै ।

समय बित्दै गयो, स्थितिमा केहि सुधार आयो अब दशैमा मात्रै नभएर महिनामा एक छाक भात खाने भयौं । खेतहरु जोरिए, महिनमा २/३ छाक बढ्यो । क्रमिक रुपमा हप्तामा एकचोटी खान सक्ने भयौं । हप्तामा एक चोटी चामलको भात खान पाउँदा र बर्ष दिनमा एकचोटी खान पर्ने बेलाको खुशीमा भने फरक थिएन, दुरुस्तै थियो । कहिलेकाही स्कुलबाटै भान्जाहरुलाई पनि लिएर आउँथें, मामाघर जाम भन्दा भान्जाहरु पनि खुसी हुन्थे । जब त्यो दिन भान्छामा चामल पाक्थ्यो अनि मामा-भान्जाको भुइमा खुट्टा हुँदैनथ्यो । हामी बेस्मारी नाच्थ्यौं-सित्केन चाबा…..सित्केन चाबा

आज समय बद्लियो, ढिडोको ठाउँ चामलले लियो । हप्तामा दुइ दिन, तीन दिन, चार दिन हुँदै हरेक दिन चामलको भात खाने भयौं । कहिले कही ढिडो खान मन हुन्थ्यो अनि हप्ता पन्ध्र दिनमा एकछाक पकाउनुहुन्थ्यो आमा ।
ढिडो खाएरै हुर्केको भएर होला ढिडोमोह नघटेको । अहिले पनि परदेशमा ढिडोको उल्का याद आउँछ र कहिले मकै, कहिले कोदो त कहिले फापरको ढिडो ओढालेर खाने गर्छु ।