पृथ्वी राजमार्ग गोरखासँग जोडिने, नागढुंगा-मुग्लिन सडक चार लेनको हुने

461 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 देशकै ब्यस्त र महत्वपूर्ण मानिने पृथ्वी राजमार्ग अब गोरखासँग पनि जोडिने भएको छ ।  नागढुंगा नौविसे मुग्लिन सडकखण्डका नामले चिनिने राजमार्ग अन्तर्गतको झण्डै २० किलोमिटर सडकखण्ड गोरखासँग पनि जोडिने भएको छ ।

अहिले काठमाडौंबाट धादिङ र चितवन हुँदै पूर्व पश्चिम राजमार्ग जोडिने सडकलाई चार लेनको बनाउने क्रममा गोरखातर्फ दुई लेनको नयाँ सडकमार्ग बनाउन लागिएको हो । अहिलेको दुई लेनको सडकलाई चार लेनको बनाउँदा कृष्णभीर र जोगीमाराको भीरमा फेरि पहिरो जानसक्ने भएकाले गोरखा तर्फ नयाँ ट्रयाक बनाउन लागिएको हो ।

धादिङको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालय नजिकैबाट राजमार्गको एउटा खण्ड घ्याल्चोकमा जोडिने छ । त्यहाँबाट भूम्लीचोक, ताङलीचोक, मकैसिं हुँदै ताक्लुङबाट सडकलाई कुरिनघाटमा साविककै राजमार्गमा जोडिनेछ । यसो गर्दा पृथ्वी राजमार्गको झण्डै २० किलोमिटर सडकले गोरखाका ५ गाविसलाई समेट्ने छ । गोरखातर्फ बन्ने सडक पनि दुई लेनको हुनेछ ।

अहिलेकै सडकलाई चार लेनको बनाउँदा कृष्णभीर र जोगिमाराको पहिरोका कारण समस्या हुने भएकाले मात्रै गोरखातर्फ दुई लेनको नयाँ ट्रयाक बनाउनु परेको सडकले पार्ने वातावरणीय प्रभाव मुल्याङ्कनमा खटिएका वातावरणविज्ञ रिकेश चित्रकारले बताउनुभयो । उहाँ सहितको टोलीले सडकलाई फराकिलो पार्दा हुने वातावरणीय, सामाजिक, आर्थिक प्रभाव लगायतका विषयमा अध्ययन थालेको हो । प्राविधिकहरुको अर्को छुट्टै समूहले सडकको डिजाइनको काम गरिरहेको छ । सडक विस्तारका लागि विश्व बैंकले ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको ऋण सहयोगमा नेपाल भारत क्षेत्रीय ब्यापार तथा यातायात आयोजना अन्तर्गत सडक विभागले सडक स्तरोन्नती गर्न लागेको हो ।

आयोजना अन्तर्गत अहिले मुग्लिनदेखि नारायणगढ र कलङ्कीदेखि नागढुंगासम्मको सडकलाई पनि चार लेनको बनाउने काम भैरहेको छ । यस्तै पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिनबाट पोखरासम्मको सडकलाई पनि चार लेनको बनाउने दिर्घकालीन योजना रहेको सडक विभागका उपमहानिर्देशक दयाकान्त झाले जानकारी दिनुभयो ।

सडक फराकिलो बनाएपछि राजधानी प्रवेशको यो महत्वपूर्ण सडकमा सवारी सञ्चालनमा सहजता आउने सडक विभागको विश्वास छ । सबै तयारी सकिएर निर्माणको चरणमा प्रवेश गर्न भने अझै केही वर्ष लाग्ने भएको छ । विस्तृत आयोजना प्रतिवेदन तयार पारेपछि ठेक्काको प्रक्रिया सकेर सडक विस्तार र निर्माण थाल्न तीन वर्षजति लाग्ने अनुमान गरिएको उज्यालो अनलाइनले खबर लेखेको छ ।  ।