चुनावमा मतदातालाई प्रलोभनमा पार्न खोज्नेहरु सावधान !

413 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bllot-box_hgqq07xequ_Kg1YdmDHG1काठमाडौं : निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक संसदबाट पारित भएको छ। सोमबार संसद बैठकले सो विधेयक पारित गरेको हो। तीनवटै तहको निर्वाचन सम्पन्न गर्न आवश्यक ९ मध्ये संसदले पारित गरेको यो तेस्रो विधेयक हो। यसअघि संसदले मतदाता नामावली र निर्वाचन आयोगको काम कर्तव्यसम्बन्धी विधेयक पारित गरिसकेको छ। सोमबार दोस्रो बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले पेस गरेको विधेयक पारितसम्बन्धी प्रस्ताव संसदले बहुमतले पारित गर्‍यो। विधेयकमा नेपाल मजदुर किसान पार्टीले फरक मत दर्ता गरेको थियो। निर्वाचनसँग सम्बन्धित अन्य दुई विधेयक राज्य व्यवस्था समितिमा छलफलका क्रममा नै छन्। पारित विधेयकअनुसार निर्वाचन कसुरमा अब अधिकतम तीन वर्षसम्म कैद हुन सक्नेछ। निर्वाचनका क्रममा मतदातालाई प्रलोभनमा पार्ने, हातहतियरासहित मतदानस्थलमा प्रवेश गर्नेलाई दुई लाख रुपैयाँसम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजाय पनि हुनसक्ने विधेयकमा उल्लेख छ। निर्वाचनमा प्रयोग गरिने मतपत्र खोस्ने, च्यात्ने, लुट्ने काम गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। मतदान केन्द्रबाहिर मतपत्र लगेमा २५ हजार रुपैयाँ जरिवाना, हातहतियार साथमा लिएर हिँडे वा प्रदर्शन गरे दुई वर्षसम्म कैद हुने व्यवस्था विधेयकमा गरिएको छ। एक पटकभन्दा बढी मतदान गरेमा २५ हजार हुनेछ भने मत संकेत सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना हुनेछ। – गोरखापत्रबाट