गाउँमा बस्दैनन् इन्जिनियर
494 पटक पढिएको
धादिङः सत्यदेवी गाउँ विकास समिति २ का सोमबहादुर तामाङले भूकम्प प्रतिरोधी घर बनाउन सरकारले दिएको अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ दसैंअघि नै लिए । गाउँमा इन्जिनियर आउँछन् र घर बनाउन थालौँला भनेर कुर्दा कुर्दै ३ महिना बितेपछि अहिले आफैं घर बनाउन तम्सिएका छन् । उनी भन्छन्, ‘घर बनाउन भनेर लिएको पैसा मासिन लागिसक्यो । घर बनाउन पाइएन । त्यही भएर आफैंले जाने बुझेका आधारमा भूकम्प प्रतिरोधी घर बनाउन थालें ।’
गाउँ विकास समितिमा भूकम्प प्रतिरोधी घर बनाउने तरिका सिकेर आफैंले त्यही तरिकाअनुसार घर बनाउन थालेको सोमबहादुरले बताए । लापा-६ संगुलचोका तेसबहादुर तामाङको पनि समस्या उही हो । उनी भन्छन्, ‘गाउँमा इन्जिनियर छैनन्, पठाएका छौं भनेर रेडियोले पनि भनेको छ, सरकारले नै दिएको ५० हजार पनि सकिन लागिसक्यो । अनि त आफूले जस्तो जान्यो त्यस्तै नबनाएर के गर्नु त ? ‘ आवास निर्माणका लागि सरकारले दिने अनुदानको पहिलो किस्ताको ५० हजार दसैंअघि नै बुझेर बसेका भूकम्पपीडितको आक्रोश हो यो ।
धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट गाविसहरूमा अहिलेसम्म न गाउँमा इन्जिनियर गएका छन् न त त्यहाँका नागरिकले घर कसरी बनाउने भन्ने जानकारी नै पाएका छन् । संगुलचोका तेसबहादुरजस्तै धेरैले पुरानै शैलीमा घर निर्माण गर्न थालेका छन् । गाउँमा घर थालेका र निर्माण गरिसकेका अधिकांशले आफ्नै बिवेक प्रयोग गरेका छन् । अधिकांशले पहिलो तलासम्म ढुंगाको गारो लगाएका छन् त्यसमाथि जस्ताले बार लगाएर अर्को तला थपेका छन् । केहीले काठ र जस्ता मात्रै प्रयोग गरेका छन् ।
मापदण्डमा भनिएअनुसार बनेकै छैनन् । यसरी घर निर्माण गर्नेमा लापा गाविस अगाडि छ । लापा -७ खादिङमा एक सय ६० घरधुरीमध्ये करिब ५० वटा नयाँ घर निर्माण सम्पन्न भइसकेका छन् भने आधा घर निर्माणको चरणमा छन् । केहीले भने थालिसकेको घर पनि अधुरै छोडेका छन् । मापदण्ड नपुगे अनुदान नपाइने खबरले घर निर्माण सम्पन्न गरिसकेकाहरू चिन्तामा परेका छन् । अनुदान नपाइने चिन्ताले आधा बनाइसकेको घर पूरा गर्नु कि इन्जिनियर कुरेर बस्नु, दुविधामा परेको उनीहरूले बताए ।
धादिङभर इन्जिनियर खटाउने र उनीहरूलाइ तलब खुवाउने जिम्मेवारी पाएको सहरी आवास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय धादिङले पनि सबै गाउँ विकास समितिमा इन्जिनियरलगायत ४ जना प्राविधिक जनशक्ति पठाइसकिएको बताएको छ तर कुनै पनि गाउँ विकास समितिमा बनिरहेका घर हेर्न इन्जिनियर पुगेको भेटिएको छैन ।
घर बनाउन थाल्नेहरूले पनि आफूले सुनेको र जानेबुझेको भरमा नै भूकम्प प्रतिरोधी घर बनाउन थालेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाईका संयोजक एवं सहरी विकास तथा भवन निर्माण विभागका प्रमुख दिलीप भण्डारीले गाउँ विकास समितिका सचिवहरूको असहयोगका कारण गाउँमा इन्जिनियर नबसेको आरोप लगाए ।
भण्डारीले भने, ‘हामीले जिल्ला कार्यलयबाट पत्र थमाएर इन्जिनियर, सब इन्जिनियर र २ जना असिस्टेन्ट गरी ४ जनाका दरले प्रत्येक गाविसमा जनशक्ति खटाएका छौँ । विशेष गरी सदरमुकाम केन्द्रित गाविस सचिवहरूले आफू पनि गाविसमा नबस्ने अनि गाविसमै नगएका प्राविधिकको पनि सदरमुकामबाटै हाजिर प्रमाणित गरिदिने समस्या आएकाले गाउँमा इन्जिनियर नभेटिएका हुन् ।’
उत्तरी धादिङका दुर्गम र भौगोलिक रूपमा विकट गाविसहरूका गाविस सचिवहरू सदरमुकाम केन्द्रित छन् भने केही गाविस सचिवले २÷३ वटा गाउँ विकास समितिको काम हेर्नु परेकाले पनि समस्या भएको छ । केही गाविसका इन्जिनियरले त नियुक्ति लिएदेखि नै एकपटक पनि गाविस नगई अहिलेसम्म सदरमुकाममै बसेर तबल खाइरहेको भेटिएको छ ।
उत्तरी धादिङका दुर्गम र भौगोलिक रूपमा विकट गाविसहरूका गाविस सचिवहरू सदरमुकाम केन्द्रित छन् भने केही गाविस सचिवले २/३ वटा गाउँ विकास समितिको काम हेर्नु परेकाले पनि समस्या भएको छ । केही गाविसका इन्जिनियरले त नियुक्ति लिएदेखि नै एकपटक पनि गाविस नगई अहिलेसम्म सदरमुकाममै बसेर तबल खाइरहेको भेटिएको छ ।
‘जसलाई खटायो उसले छोडेर हिँड्छ, विकटमा बसेर काम गर्न कोही इन्जिनियर मान्दैनन्, त्यसले गर्दा समस्या भएको हो’, भण्डारीले भने, ‘विकट गाउँमा खटिनेहरूलाई सरकारले सहरबजारमा बस्ने सरहको तुलनामा थप सुविधा दिन नसकेकाले पनि समस्या थपिएको छ ।’ हाल जिल्लामा १ सय ३० जना इन्जिनियर कार्यरत छन् भने त्यति नै संख्यामा सब इन्जिनियर र असिस्टेन्ट खटाइएको छ ।
उत्तरी धादिको लापा गाविस ६ संगुलचोका तेसबहादुर घलेले दसैंअघि नै अनुदानको पहिलो किस्ता बुझेर घरको जग राख्न जमिन खारेको पनि महिनौं भइसक्यो तर घर बनाउन भने थालेका छैनन् । उनी भन्छन्, ‘इन्जिनियरले नापिदिन्छ भन्छन्, खै हाम्रो गाउँमा त कोही आएका छैनन्, यसपाली पनि घर बनाउन नपाइने भयो ।’
विकटमा पर्ने लापा, री, झार्लाङ, तिप्लिङ, सेर्तुङ गाविसलाई सडक सञ्जालले पनि छोएको छैन । सदरमुकामबाट कम्तीमा २ दिन पैदल हिँडेर मात्रै पुग्न सकिन्छ । यी गाउँहरूमा सरकारको कुनै प्राविधिक पनि बस्न मान्दैनन् । हाजिर प्रमाणित गराइदिने गाविस सचिवहरू पनि सदरमुकाममै भएकाले गाउँमा इन्जिनियर भेटिन गाह्रो छ ।
घर बनाउने पैसा जोहो गरेर बसेकाहरूले घर निर्माण सुरु गर्न सकेका छैनन् । सरकारले ५० हजार दिएपछि घर बनाउने भनेर अरू पैसा ऋण थापेर राखेको पनि महिना बित्यो । ‘घर बनाउन लिएको ऋणको ब्याज बढ्दै छ, यता जस्ताको टहरामा चिसोले रोग बढाउँदै छ’, लापा सायनकी कान्छीमाया तामाङ भन्छिन्, ‘इन्जिनियर पर्खेर बस्दा यस वर्षको जाडो पनि टहरामै कटाउनु पर्नेभयो ।’
कि आफ्नै सुरमा बनाऊ भने हुन्थ्यो, कि त चाँडै इन्जिनियर आइदिए हुन्थ्यो, घर बनाउन इन्जिनियर पर्खेर बसेकाले जाडोमा बालबच्चालाई टहरोमै राख्नुपरेको री गाविस ६ धुसेनीका बलसिंह तामाङले बताए । बलसिंह वडा नागरिक मञ्चका संयोजक पनि हुन् । बलसिंह भन्छन्, ‘इन्जिनियर आएर यस्तो खालको घर बनाउनुस् भन्नेबित्तिकै गाउँमा सबैले घर बनाउन थाल्छन् ।’ धुसेनी गाउँमा करिब ८५ घर छन् । गाउँका केही व्यक्तिले आफ्नै सुरमा घर थालेका छन् भने अधिकांश इन्जिनियरको पर्खाइमा छन् यो खबर हामीले अन्नपूर्ण पोष्ट डट कमबाट लिएका हौं ।