कहिले चल्लान् सरकारी खानी ?

1093 पटक पढिएको

सम्पादक: Dhading News

oreind-magnesite-600x0-625x405

जस्ता, सिसा, फलाम, खरी र म्याग्नेसाइटका खानीमूलक उद्योग तयार छन्, सञ्चालनमा ल्याइँदैन

सरकारी स्वामित्व रहेका खानीमूलक उद्योग तथा तिनका पूर्वाधार जीर्ण बन्दै गएका छन् । सरकारले उत्खननका लागि तयार भइसकेका खानी उत्खनन नगर्दा तथा सञ्चालनयोग्य उद्योग नचलाउँदा एकातर्फ खनिज पदार्थ त्यसै खेर गइरहेको छ भने अर्कातर्फ पूर्वाधारहरू जीर्ण बन्दै गएका छन् । यसले गर्दा राज्यलाई वार्षिक करोडौँ रुपैयाँ नोक्सान भइरहेको सरोकारवाला बताउँछन् । नेपालमा ग्याग्नेसाइट, खरी, जस्ता, फलामलगायत खानी उत्खननका लागि तयारी अवस्थामा छन् । यी खानीको उत्खनन तथा प्रशोधनसमेत गरिएको थियो । तर, विभिन्न कारण बन्द भएका यस्ता उद्योग पुनःसञ्चालनमा सरकारले ध्यान दिएको छैन । ‘हरेकजसो उद्योगमन्त्री आउँदा म्याग्नेसाइट खानी सञ्चालनको घोषणा गर्छन्,’ नेपाल ओरिन्ड म्याग्नेसाइटका एक कर्मचारीले भने, ‘तर, मन्त्रीहरूको घोषणा केबल कागजमा मात्रै सीमित हुने गरेको छ नयाँ पत्रिका दैनिकमा खबर छ ।

म्याग्नेसाइट १८ वर्षदेखि बन्द
२५ मंसिर ०५५ देखि पूर्णरूपमा बन्द रहेको ओरिन्ड म्याग्नेसाइट उद्योग सञ्चालनका लागि स्थानीयवासी, पूर्वकर्मचरी एवं सरोकारवालाले माग गर्दै आएका छन् । तर, उद्योग मन्त्रालयले पर्याप्त चासो नदिँदा म्याग्नेसाइट खानी तथा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढ्न सकेको छैन । दोलखाको लामीडाँडा गाविसस्थित ओरिन्ड म्याग्नेसाइटको खानीमा १८ करोड मेटन म्याग्नेसाइट रहेको छ । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको उद्योगमा म्याग्नेसाइट प्रसोधन गरेर डिबिएम, क्याल्साइन र खरी पाउडर उत्पादन गर्न सकिन्छ । उद्योगबाट वार्षिक ३ अर्ब ११ करोड रुपैयाँबराबरको उत्पादन बिक्री गर्न सकिने कम्पनीका कार्यालय प्रमुख मोतीबहादुर गुरुङले बताए । म्याग्नेसाइट उद्योग सञ्चालन गर्न सकिए डिबिएमलगायत उत्पादनको आयात विस्थापन गर्नुका साथै निर्यातको समेत सम्भावना रहेको उनी बताउँछन् ।

ठोसेमा फलाम खानी अलपत्र, आयात बढेको बढ्यै
रामेछाप जिल्लाको ठोसेस्थित ‘ठोसे फलामखानी’ उत्खननको जिम्मा नेपाल एन्ड चाइना मिनरल्स प्रालि (एनएनसी मिनरल्स)लाई दिइएको छ । तर, सडक, विद्युत्लगायत पूर्वाधार नभएका कारण कम्पनीले खानी उत्खनन् गर्न सकेको छैन । ठोसेमा १९२१ सालमै फलामखानी सञ्चालनमा आएको थियो । तर, त्यसवेला व्यावसायिक रूपमा फलामको उत्खनन हुन सकेको थिएन । विभागले पटक–पटक गरेको अध्ययनबाट ठोसेमा करिब १ करोड मेट्रिकटन फलामको धाउ रहेको पत्ता लागेको छ । ती धाउमा २२ देखि ६५ प्रतिशतसम्म फलाम रहेको विज्ञहरूको अनुमान छ । रामेछापका चुचुरे, रस्नालु, बेताली, गुप्तेश्वर, प्रीति र कुभुकाँस्थलीमा समेत फलामखानी रहेको बताइन्छ ।

कहिले चल्लान् जस्ता र सिसा खानी ?
रसुवा र धादिङको उत्तरी भेगमा रहेको जस्ता तथा सिसा खानी उत्खनन गर्न पूर्वाधारसमेत तयार पारिएको छ । झन्डै पाँच दशकअघि नै अन्वेषण सकिएको उक्त खानीको हालसम्म पनि उत्खनन भने हुन सकेको छैन । अन्वेषणले त्यस क्षेत्रमा ११ दशमलव २६ प्रतिशत मेटल र २ दशमलव ०४ प्रतिशत सिसा रहेको धाउ देखाएको थियो । धाउमा ४ लाख २१ हजार टन जस्ता, ८८ हजार टन सिसा र ६० हजार किलो चाँदी उपलब्ध हुने अन्वेषणले देखाएको खानी तथा भूगर्भ विभागले जनाएको छ । धाउ प्रशोधन गर्ने गरी त्यस क्षेत्रमा खानी सञ्चालनका लागि करिब ८ वर्षअघि नै पूर्वाधार निर्माण भइसकेको छ । रसुवाको गोम्साङमा निर्माण भएको पूर्वाधार जीर्ण हुन थालिसकेको छ ।

क्रमशः सञ्चालन हुन्छन्ः मन्त्रालय
उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले सरकारी स्वामित्वमा रहेका सबै उद्योग पुनःसञ्चालनको प्रक्रिया सुरु भइरहेको बताइन् । ‘औषधि उद्योग र हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया सुरु भइसकेको छ,’ उनले भनिन्, ‘त्यस्तै, बुटवल धागो, वीरगन्ज चिनी कारखानालाई निजी व्यवस्थापनमा सञ्चालन गर्नेबारे प्रक्रिया सुरु भएको छ ।’ बन्द भएका सबै उद्योग सञ्चालन गर्दै जाने उनले बताइन् ।

सामान्य मर्मत गरे खरी उद्योग चल्छ
दोलखाको लामीडाँडा गाविसमै रहेको खरी खानी पनि अलपत्र छ । त्यहाँ ५ लाख मेट्रिकटन खरी रहेको अन्वेषणले देखाएको छ । उक्त खानी उत्खनन गरी लामोसाँघुस्थित उद्योगमा प्रशोधन गर्न सकिए वार्षिक ५ करोड रुपैयाँ आम्दानी हुने देखिएको छ । खरी प्रशोधन गर्ने उद्योग अहिले बन्द अवस्थामा छन् । सामान्य मर्मतसम्भार गरे उक्त उद्योग चलाउन सकिने कर्मचारीहरू बताउँछन् ।