चेपाङ बस्तीमा भोकमरी गाउँमा न पानी छ , न अन्न

1147 पटक पढिएको

सम्पादक: Dhading News

chepnag-800x445

केशव अधिकारी

धादिङ । गाउँका सबैभन्दा साहु कहलिएका टेकबहादुर चेपाङको घरमा अन्न सकिएको निकै भइसक्यो । घरमा भएकालाई नै खानेकुरा छैन । बाहिरबाट पाहुना आउँछन, जो पाहुना आए पनि बास बस्ने घर टेकबहादुरकै हो । पाहुनालाई खाना खुवाउन नसकेर उनी सधै निराश हुन्छन् । जीवनभर कन्दमूल खोजेर साँझ बिहानको खानेकुरा जुटाउँदैमा मर्ने बेला भइसकेको ८० वर्षीय टेकबहादुरको भनाइ छ ।
दक्षिणी धादिङको महादेवस्थान गाविस– ३ बु्रसबाङका चेपाङ समुदायलाई वर्षको नौ महिना खानेकुराको संकट पर्ने गर्दछ । घरमा खानेकुरा सकिएपछि बेथेको साग र सिस्नुको मुन्टामा मकैको पिठो हालेर बनाएको खोले र कन्दमूलको भरमा छाक टार्नुपर्ने बाध्यता ब्रुसबाङबासीमा छ ।
हरेक दिन बिहान बच्चाहरू बेथेको साग खोज्दै हुन्छन् भने पाको उमेरकाहरु झाडीमा सिस्नो टिप्दै र जंगल तिर गएर कन्दमूल खोज्दै गरेको देखिनु यस बस्तीको दैनिकी जस्तै बनेको छ । ‘बिहान भएपछि अलि ठूलाहरू जङ्गलतिर गिठ्ठा भ्याकुर खोज्न हिँड्छन, महिला र केटाकेटी घर नजिकै सिस्नु, टाँकीको मुन्टा र बेथेको साग खोज्ने गर्दछन् । महिलाको मुख्य काम भने घरमा पानी ल्याउनु बनेको छ । पानी लिन गाउँ देखि तीन घण्टा तल झनुपर्ने भएकाले एक गाग्री पानीको लागि बिहान बित्ने गरेको छ । ’ स्थानीय अगुवा टेकबहादुरले बताए ।
गाउँको अवस्था दयनीय बन्दै गएको गाउँबासीको गुनासो बढ्दै गए पनि सरकारी तथा गैरसरकारी निकाय यसप्रति मौन छन् । एकतीस घर चेपाङ समुदायको बसोबास रहेको ब्रुसबाङ पुग्न पृथ्वीराजमार्गको मलेखुबाट दुई घण्टाको गाडीको यात्रा र पाँच घण्टाको उकालो पैदलयात्रा पार गर्नुपर्छ ।
महाभारतको डाँडामा खोरिया फाँडेर पुस्तौँदेखि बसोबास गर्दैआएका चेपाङलाई आफ्नो उत्पादनले खान नपुग्ने भए पनि उनीहरू आफ्नो थलो छाडेर बसाइँ जानसकेका छैनन् । गाउँमा खानेकुरा र पिउने पानी नभए पनि बाध्यताले गर्दा आफूहरूलाई आफ्नै जन्म गाउँ प्यारो भएको प्रेमबहादुर चेपाङले बताए ।
फागुनमा छरेको मकै कात्तिकमा पाक्छ । बाह्रै महिना जस्तो चिसो हुने यो बस्तीमा मकै र आलु खेती मात्रै हुने गर्छ । अन्य अन्नबाली नहुने र मकै पाक्न धेरै समय लाग्ने हुँदा वर्षको ९ महिना खाद्यान्न संकट पर्ने गरेको हो । आम्दानी गर्ने कुनै उपाय नभएकाले गाउँका सबैजनाको आर्थिक अवस्था निकै कमजोर रहेको छ ।
बजारमा गएर चामल किनेर ल्याउने सामथ्र्य नभएपछि जंगलमा जे भेटिन्छ त्यही खाएर बाँच्नु परेको उनीहरु बताउँछन् । ब्रुसबाङका नाममा सञ्चालन भएका गैरसरकारी संस्थाको कार्यक्रम हरेक वर्ष कागजमा सम्पन्न भए पनि गाउँबासीको जीवनस्तरमा भने खासै परिवर्तन आउन नसकेको ब्रुसबाङका चेपाङहरुको खाद्य अधिकारका निम्ति वकालत गर्दै आइरहेको खाद्य अधिकार जिल्ला सञ्जालको आरोप छ ।
सरकारले चेपाङ विकास कार्यक्रम २०३४ सालदेखि सञ्चालन गरिरहेको छ । यसै गरी गरिबी निवारण कार्यक्रम पनि चेपाङबस्तीमा सञ्चालनमा रहेको भए पनि समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन, खाद्यान्न संकट समाधान गर्न र खानेपानीको समस्या टार्न ती कार्यक्रमको ध्यान पुग्न सकेको छैन । गाउँ नजिकै विद्यालय नहुँदा पढ्ने उमेरका बालबालिका पढ्नबाट बञ्चित भएका छन् ।
सरकारी तथा गैरसरकारी निकायको पहलमा स्थापना भएको बाल शिक्षा केन्द्रमा पढाउने मान्छे नहुँदा बन्द हुन पुगेको छ । बस्ती नजिकै पढेका मान्छे छैनन्, टाढाका मान्छे ल्याएर राख्न खान, बस्न र पानीको दुःख छ, यिनै समस्याहरुले गर्दा ब्रुसबाङले कोल्टे फेर्न नसकेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङ बताउँछन् ।
सिस्नो, टाँकी, बेथे, गिठ्ठा, भ्याकुर, खोले खाएर कष्टकर जीवन बिताउनु ब्रुसबाङबासीको नियती बनेको छ । उनीहरूको सधैँको चासो भनेको कसरी खाने भन्ने मात्र हो । गाउँबासीको दुःखलाई कम गर्न यसै क्षेत्रबाट निर्वाचित धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र पाण्डेले बस्ती स्थानान्तरणका लागि जिल्ला विकास समिति र स्थानीय गाविस कार्यालयसँग समन्वय गरी ३१ परिवारलाई राख्न पुग्ने ठाउँको खोजीका लागि पहल गर्न छलफल सुरू गरेको बताएका छन् ।

फोटो क्याप्सन : घरमा अन्न सकिएपछि अब कसरी बाँच्ने भन्ने विषयमा निकै चिन्तित हुन पुगेका ब्रुसबाङका टेकबहादुर चेपाङ ।