राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारतयात्रा चैतमा

425 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bidhyadevi_bhandari-58a24dfd6d1b94.35890834काठमाडौं: अन्तिम समयमा रद्द भएको राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारतयात्रा चैतमा हुने भएको छ । निश्चित मिति निर्धारण भइनसकेको तर चैतको पहिलो वा दोस्रो सातामा उक्त भ्रमण हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘राष्ट्रपतिको भ्रमणबारे कूटनीतिक तहमा छलफल चलिरहेको छ । यकिन मिति चाँडै तय हुनेछ’, स्रोतले भन्यो ।

माघ महिनाभित्रै राष्ट्रपति भण्डारीको नयाँदिल्ली भ्रमण गराउने प्रयास भएको थियो । भारतीय उच्च नेतृत्व भारतीय राज्यमा जारी विधानसभा चुनावमा व्यस्त रहेका कारण भण्डारीको भ्रमण तय हुन नसकेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । ‘यही वर्षको अन्तिमसम्म राष्ट्रपतिको भ्रमण गराउने प्रयास भइरहेको छ’, राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । परराष्ट्र सचिव शंकरदास वैरागीले राष्ट्रपति भ्रमणको ठोस मिति तय भइनसकेको बताए ।
राष्ट्रपति नियुक्त भएपछि भण्डारी दुवै छिमेकी चीन र भारतको भ्रमण गरेकी छैनन् ।

राष्ट्रपति भण्डारीको गत वैशाख पहिलो साताका लागि निर्धारित भारत भ्रमण सरकारले अन्तिम समयमा रद्द गरेको थियो । तत्कालीन केपी शर्मा ओली सरकार ढाल्न भारतले भूमिका खेलेको भन्दै सरकारले राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने तथा राष्ट्रपतिको भ्रमण रद्द गर्ने निर्णय गरेको थियो अन्नपूर्ण पोष्ट डट कममा खबर छ ।

दाहालको नेतृत्वमा नयाँ सरकार बनेपछि प्रधानमन्त्रीका विशेष दूतका रूपमा भारत गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति भण्डारीको चाँडै भारत भ्रमण हुने बताए पनि भारतीय पक्षले अनिच्छा देखाउँदा भण्डारीको भ्रमण हुन सकिरहेको थिएन । भण्डारीको वैशाखमा निर्धारित भ्रमण रद्द भएकोमा भारत असन्तुष्ट बनेको थियो ।

गत कात्तिक दोस्रो साता नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भण्डारीलाई भ्रमणको निमन्त्रणा दिएका थिए । भारतले राष्ट्रपति भण्डारीको भ्रमणका लागि सकारात्मक सन्देश कूटनीतिक भेटहरूमा दिइरहेको परराष्ट्र अधिकारी बताउँछन् । राष्ट्रपति भण्डारीको भारत भ्रमण हुन नसक्दा उनको उत्तरी छिमेकी चीनलगायत अन्य मुलुकको भ्रमण पनि तय हुन सकेको छैन ।

दुई महिनाअघि काठमाडौं आएका भारतीय राज्य आन्ध्र प्रदेशको विधानसभाका सभामुखले राष्ट्रपति भण्डारीलाई अमरावतीमा हुने भारतीय महिला सभासद्को सम्मेलनमा सहभागी हुन निम्तो दिएका थिए । तर परराष्ट्र मन्त्रालयले दिएको सुझावपछि उक्त सम्मेलनमा राष्ट्रपति सहभागी नहुने निर्णय गरिन् । भारतमा औपचारिक भ्रमण भएमात्रै जाने सोचमा राष्ट्रपति रहेको अधिकारीहरू बताउँछन् ।