कोटवाडामा जहाज बस्दा धादिङमा रुवाबासी

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

111-6-800x445

केशव अधिकारी
धादिङ । कालिकोटको कोटवाडामा रहेको सुनथराली विमानस्थलमा वर्षौपछि विमान अवतरण भएको खबर सुन्दा धादिङ जोगिमाराकी ६६ वर्षीया धनमाया चेपाङको आँखा रसायो । मन थाम्न नसकेर उनी भक्कानिन् । जीवनमा देख्दै नदेखेको ठाउँमा विकास भएको सुन्दा धनमायाको आँखा रसाउनुमा ठूलो पीडा लुकेको छ । विमान अवतरणको खबरले कोटवाडाबासी जति खुसी हुन सकेका छन, धादिङको जोगिमाराका बासिन्दा भने त्यतिनै पीडामा तड्पिएका छन् ।
कालिकोटमा विमान पुग्दा धादिङका चेपाङ र अति विपन्न समुदायका परिवार दुःिखत भएको सुन्दा धेरैलाई आश्चर्य लाग्न पनि सक्छ । गाउँबस्ती छाडेर कतै नपुगेका जोगिमाराका १७ परिवारको लागि कोटवाडा मुटुमा विझेको काँडा भएर बसेको छ ।
मजदुरीका लागि धादिङबाट कोटवाडा पुगेका धादिङको जोगिमारा र धुषा गाविसका १७ र अन्य जिल्लाबाट गएका समेत गरी ३५ जना मजदुरलाई नेपाली सेनाले कोटवाडामा माओवादीको आशंकामा हत्या गरेको थियो । जसमध्ये चित्रबहादुर प्रजा, डिल्ली प्रजा, शेरबहादुर प्रजा, कुम्ले प्रजा, रामबहादुर प्रजा, विकास प्रजा, टेकबहादुर विक, सानु विक, टेकबहादुर गुरुङ, गोकर्ण बहादुर गुरुङ धादिङ जोगिमाराबाट कामको खोजीमा त्यहाँ पुगेका थिए ।
यसैगरी कान्छा प्रजा, मन्जु थापामगर, बुधबहादुर प्रजा ,राजकुमार श्रेष्ठ, राजकुमार विक, भीमबहादुर थापामगर, ज्ञानबहादुर थापामगर पनि त्यही घटनामा मारिएका थिए । मारिने मध्ये सबै भन्दा कान्छो थिए बुधबहादुर जसको सम्झनाले उनकी आमा धनमायालाई अहिले पनि सताइरहेको छ । ६६ वर्षीया धनमायाको एक मात्र छोरा थिए बुधराम ।
मजदुरीका लागि देशका विभिन्न जिल्लाबाट कालिकोट जिल्लाकोे कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३५ जना मजदुर मारिएको अहिले १४ वर्ष भइसकेको छ । घटना भएको १४ वर्ष भईसक्दा पनि कोटवाडामा मारिएकाहरुको लाश अहिलेसम्म परिवारले पाएका छैनन् ।
विमानस्थल निर्माणका लागि धादिङ जिल्लाको जोगिमारा र धुषा गाविसबाट कोटवाडा पुगेका १७ जना र देशका अन्य जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन १२ गते सुरक्षाफौजले घेराबन्दीमा पारेर गोली हानी सामूहिक हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका सबै जना अति विपन्न परिवारका थिए ।
कोटवाडा घटनामा निर्दाेष मजदुरहरु मारिएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट व्यापक विरोध हुँदै आइरहेको छ । कोटवाडा घटनाको सर्वत्र विरोध भएपछि लोकतन्त्र बहालीपछिको सरकारले त्यहाँ मारिएका मजदुरका परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले राहत दिने निर्णय गरेको भए पनि अहिलेसम्म उनीहरुले पाँच लाख मात्रै पाएका छन् ।
कालिकोटको कोटवाडामा बनिरहेको सुनथराली विमानस्थल निर्माणका लागि धादिङ, रामेछाप, सिन्धुली, गोरखा, सिन्धुपाल्चोक र काभ्रेलगायतका जिल्लाबाट मजदुर लगिएको थियो । गरिबीको चपेटामा परेर जीवन निर्वाहका लागि काम खोज्दै कालिकोट पुगेका ती मजदुर माओवादी र सेनाको द्वन्द्वको चपेटामा परेर मारिएका थिए । कोटवाडा घटना हुनु केही दिनअघि मात्रै माओवादीले अछाम सदरमुकाम मंगलसेन आक्रमण गरेर भागेका थिए ।
माओवादीलाई पछ्याउँदै आएको सेनाको हेलिकप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएर माओवादीहरु भने त्यहाँबाट सुरक्षित स्थलतर्फ भागेको मानवअधिकार आयोग तथा अन्य मानव अधिकार संस्थाहरुले विभिन्न समयमा गरेको अध्ययन अनुसन्धानले देखाएको छ । माओवादी त्यहाँबाट भागेपछि सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३५ जना मानिस एकै चिहान भएका थिए । मारिनेमा कामदार, ठेकेदार, स्थानीय बासिन्दा र दुईजना बालकसमेत ३५ जना थिए । कमाउन गएका घर मूली तथा परिवारका सदस्यहरु मारिएपछि जोगिमाराका चेपाङ, दलित र अन्य विपन्न परिवारको अहिले सम्म बिचल्ली भएको छ ।
२०५८ मङ्सिरमा कालीकोटको कोटवाडा विमानस्थल खन्न काम पाइने खबर फैलिएपछि धादिङको जोगीमारा र धुषाका १७ जना कामको खोजी गर्दे ऋण काढेर ठेकेदारको पछि लागेर कालीकोट गएका थिए । १४ वर्ष बित्यो उनीहरु अहिलेसम्म घर फर्किएका छैनन् । उनीहरूका आफन्तले अहिलेसम्म कोही मरेको देखेका पनि छैनन र मरे भनिएकाको लाश पनि पाएका छैनन । ती १७ परिवार अहिलेसम्म अन्यौलमा पिल्सिएका छन् ।
कोटवाडामा मारिएका १४ मजदुरका आफन्तले तात्कालीन प्रधानमन्त्री तथा हालका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तात्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवालका विरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् ।
कोटवाडास्थित निर्माणाधीन विमानस्थलमा मारिएका जोगीमाराका मजदुरहरुका आफन्तजनहरुले देउवा र कटुवाल तथा तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीविरुद्ध धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका हुन ।
धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ, कोचराङका १७ जना त्यतिबेला विमानस्थलमा मजदुरी गर्ने मजदुरहरु थिए । तात्कालीन सेनाको आक्रमणमा उनीहरु लगायत गरी ३५ मारिएका थिए । उनीहरूका विरूद्द १४ पिडित परिवारले केही महिनाअघि धादिङमा उजुरी दर्ता गराएका हन ।

कालिकोट घटनामा धादिङ बाहेक जतारे लतामगर– तनहुँ, प्रदिप राई–इलाम, कुमार थापा–गोरखा, प्रेम लामा माइला –काभ्रे, हर्क तामाङ–रामेछाप,पासाङ लामा–काभ्रे, बुद्धमान च्याङ्बा–मकवानपुर,चित्रबहादुर राई सोलुखुम्बु, निरकुमार खत्री भोजपुर, कृष्ण थापा मोरङ्, लालबहादुर कठायत कोटवाडा,भिमबहादुर कठायत कोटवाडा, गोर्खे कठायत कोटवाडा, गणेश विष्ट कोटवाडा, टेक विष्ट कोटवाडा, गंगा विष्ट कोटवाडा, तेन्जिङनोर्बु शेर्पा र नोर्बु शेर्पा सोलुखुम्बु रहेका छन् ।