फागुनमा पनि धमिलो त्रिशूली नदी
1915 पटक पढिएको
धादिङः यतिबेला त्रिशूली नदी सफा र कञ्चन हुनुपर्ने हो । पृथ्वीराजमार्गमा यात्रा गर्ने जोकोही यात्रुले धमिलो बगिरहेको त्रिशूली हेर्दै भन्ने गर्छन्, ‘फागुनमा समेत नदीमा बाढी आउने रहेछ, नदी धमिलो हुने रहेछ ।’
कुनैबेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्ट र्रयाफ्टिङ गर्ने नदीको उपमा पाएको त्रिशूली पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । नुवाकोट र धादिङ जिल्लाका त्रिशूली नदी किनारमा खोलिएका अव्यवस्थित बालुवा प्रशोधन केन्द्र र ढुँगा तथा बालुवा खानीले त्रिशूली नदी प्रदूषित बन्ने क्रम बढ्दै गएको हो । पृथ्वीराजमार्गको छेवैमा रहेको त्रिशूली नदी बाह्रै महिना धमिलो देखिने गरेको छ अन्नपूर्ण पोष्टमा खबर छ ।
त्रिशूली नदी किनारमा जताततै खुलेका फिरफिरेबाट निस्किएको हिलो र लेदो पानी सिधै नदीमा मिसाइने गरेकाले फागुनको मध्यतिर पनि त्रिशूली नदी मध्य बर्खाको भेलजस्तै धमिलो देखिने गरेको हो । त्रिशूली नदीलाई आधार बनाएर खोलिएका बालुवा प्रशोधन केन्द्रले फिरफिरेबाट निस्किएको फोहोर सिधै त्रिशूली नदीमा मिसाएका मात्रै छैनन् नदीमै डोजर र स्काभेटरले खोतलेर प्रदूषण फैलाउने कामसमेत गर्दै आइरहेका छन् ।
धार्मिक एवम पर्यटकीय महत्व बोकेको त्रिशूली नदीमा हिजोआज पनि धमिलो पानी बग्ने गरेको छ । राजमार्ग र त्रिशूली नदीको बीचमा खुलेका बालुवा प्रशोधन केन्द्रले त्रिशूली नदीलाई मात्रै होइन पृथ्वीराजमार्गलाई पनि उत्तिकै प्रदूषित बनाइरहेको छ ।
ह्वाइट वाटर र्रयाफ्टिङका लागि लोकप्रिय मानिने त्रिशूली नदी प्रदूषित बनेपछि पर्यटक नै आउन छाड्ने हुन कि भन्ने चिन्ताले र्रयाफ्टिङ व्यवसायीलाई सताउन थालेको छ । धादिङको चरौंदीमा रिसोर्ट सञ्चालन गरेका एक व्यवसायीले भने, ‘अहिले र्रयाफ्टिङको सिजन हो, तर पहिलेजस्तो नदी सफा नभएकाले र्रयाफ्टिङ गर्न आउनेको संख्या बर्सेनि घट्दै गएको छ ।’
त्रिशूली नदीको धादिङ खण्डअन्तर्गत बैरेनीदेखि गजुरीसम्मको खण्डमा अव्यवस्थित ढंगबाट खुलेका झन्डै एक सय र त्यत्तिकै संख्यामा नुवाकोटमा रहेका फिरफिरेले हरेक दिन त्रिशूली नदीलाई प्रदूषित बनाइरहेका छन् । व्यवसायका रूपमा खोलिएका धेरैजसो फिरफिरे कुनै पनि निकायमा दर्ता भएको पाइँदैन । साझा सञ्जाल धादिङका संयोजक उत्तम कँडेलले त्रिशूलीसफा राखौं, अतिक्रमण नगरौं, मेसिन प्रयोग गरेर वातावरण नबिगारौं भन्दा ढुंगा, गिट्टी र बालुवाका तस्करले तारो बनाएको अनुभव सुनाए । उनले बालुवा गिट्टी व्यवसाय गर्नेले मापदन्डबमोजिम गर्नुपर्ने बताए ।
त्रिशूली नदी माथिको अतिक्रमण र प्रदूषण रोकथामका लागि जिल्ला विकास समिति धादिङ र प्रमुख राजनीतिक दलले चासो नदिएको र यो क्रम नरोकिए त्रिशूली पनि बागमती र विष्णुमतीको हालतमा पुग्ने उल्लेख गरे । प्राकृतिक सम्पदा संरक्षण समितिका संयोजक एवं त्रिशूली बचाउ महाअभियानका सदस्य श्रवण त्रिपाठीले बालुवा र क्रसर उद्योगीको दादागिरीका कारण कतिपय त्रिशूलीको धार नै परिवर्तन गर्न थालेको बताए ।
डिभिजन सडक कार्यालय भरतपुरले केही वर्षअघि नै राजमार्ग क्षेत्रमा रहेका ८१ वटा फिरफिरेले सडकमा प्रदूषण फैलाउनुका साथै दुर्घटनामा बढाउन सहयोग गरेको भन्दै अन्यत्र सार्न आग्रह गरेको थियो । सडक विभागको आग्रहलाई मान्ने क्रममा केही फिरफिरेलाई सडक सीमाभन्दा बाहिर राखिए पनि त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन हुन नसक्दा सिधै त्रिशूली नदीमा मिसिने गरेको छ ।
राजमार्गको किनारमा रहेको त्रिशूली नदी दिन प्रतिदिन प्रदूषित बन्दै गइरहेको भए पनि सरकारी निकायले यसको रोकथाममा कुनै पहल गरेको पाइँदैन । जिल्ला प्रशासन कार्यालय धादिङले बालुवा धुने फिरफिरेलाई धोएको पानी खाल्डोमा जम्मा गरी सफा बनाएर मात्रै नदीमा मिसाउन आग्रह गरे पनि कतिपय प्रशोधन केन्द्रले प्रशासनको आग्रहलाई टेरेका छैनन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘हामीले निश्चित समयसीमा राखेर मापदन्डअनुसार उद्योग चलाउन सचेत गराएका छौं । अटेर गर्नेलाई कारबाही गर्छौं ।’
त्रिशूली नदीमा प्रदूषण हुने क्रम बढ्दै गए पनि जिल्ला विकास समिति र अन्य सरकारी निकायले चासो नदिएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । बालुवा तथा रोडा ढुंगा निकासी गरेर वार्षिक करौडौं रुपैयाँ राजस्व हात पार्ने जिल्ला विकास समिति धादिङले आम्दानीको केही प्रतिशत मात्रै त्रिशूलीको संरक्षणमा खर्च गर्ने हो भने मात्रै पनि प्रदूषण रोकिने सरोकारवालाको भनाइ छ ।