मजदुरका नानीलाई मालिकको स्याहार

590 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- रंगी-बिरंगी अक्षर र शैक्षिक सामग्री। भित्ताभरी चित्र टाँसिएका छन्। बेलुन झुन्डाइएको छ। ‘क, ख, ग..’ १, २, ३…’ लेखिएका ठुल्ठूला अक्षरले कोठा सजिएका छन्। स–साना बच्चाहरु कोही खेलिरहेका हुन्छन् कोही सुतिरहेका।

यो दृश्य एभरेस्ट इँट्टा उद्योगमा स्थापना गरिएको प्रारम्भिक बालविकास केन्द्रको हो। इँट्टा उद्योगमा काम गर्ने मजदुरका बालबच्चा दिनभर यहीँ खेल्छन्, यही सुत्छन्, यहीँ सिक्छन्, साँझ आफ्नो ‰याउलीमा फर्कन्छन्। दिनभर आमाबुबाले जहाँ काम गर्छन् त्यहीँ धुलोमाटो खेल्न बाध्य बालबालिकाको दैनिकी अहिले फेरिएको छ।

‘बालबालिका अहिले आमाबुबासँग बस्नै मान्दैनन्। उनीहरुलाई साथीसँग रमाउने बानी परिसकेको छ। मान्छे नचिनिने गरी धुलोमैलोमा भात पकाइ खेल्ने बालबालिका हिजोआज भाँडाकुटी खेलाउन र कखरा सिक्न व्यस्त छन्। अभिभावक भन्छन्, ‘छोराछोरी भेट्ने भनेको छ बिहान बेलुका मात्रै हो।’

‘उतै साथीसँग खेल्न पाउँछ, खाजा पनि खान दिन्छ, र त बच्चाहरु घरमा बस्नै मान्दैन,’ दाङकी विमला पुनले खुसी व्यक्त गरिन्। विमला गत ३ वर्षदेखि थाक्रेस्थित एभरेस्ट इँट्टा उद्योगमा काँचो इँट्टा बोक्ने काम गर्दै आएकी छिन्। उनको काखमा डेढ वर्षको छोरो छ। बालविकास केन्द्रमा छोरा पठाएपछि दिनभर निर्धक्क काम गर्न पाइएको र कमाइ पनि बढेको विमलाले बताइन्।

उक्त उद्योगमा सञ्चालित बालविकास केन्द्रमा अहिले ४५ जना बालबालिका छन्। बालबालिकालाई धुँवा, धुलो र फोहोरबाट जोगाउन उद्योगकै लगानीमा केन्द्र स्थापना गरिएको हो। बालबालिकाको हेरचाह र स्याहारसुसारको लागि ग्लोबल फेयरनेस इनिसिएटिभसँगको साझेदारीमा प्रयास नेपाल नामक गैरसरकारी संस्थाले दुई कर्मचारीको व्यवस्था मिलाइदिएको छ।

बालविकास केन्द्रमा बालबच्चा खेल्न थालेेदेखि आफूहरुले निर्धक्क काम गर्न पाएको मजदुर बताउँछन्। ‘भुइँमा राख्यो लड्ला भन्ने डर, काखीमा च्यापेर इँट्टा कसरी बोक्ने?’ दुई छोरी र एक छोराकी आमा कलाश्री बिक भन्छिन््, ‘बच्चा च्यापेर काम गर्न साह्रै गाह्रो हुन्थ्यो, अहिले त दिनभर ढुक्कसँग काम गर्न पाएका छौं।’ आफ्ना छोराछोरीलाई केन्द्रमा राखेर मिसहरुले स्याहारसुसार गरेकोमा कलाश्री निकै खुसी छन्।

‘नानी लिएर काम गर्दा चिसो लाग्ने, रुघाखोकी लाग्ने भइरहन्थ्यो अहिले चार महिना भयो बिरामी भएकै छैन,’ सुनिता चौधरीले खुसी व्यक्त गरिन्। एक वर्षमाथिका दुधे बालबालिकालाई उनका आमाहरु दिउँसो एकपटक दूध चुसाउन केन्द्रमा पुग्ने गरेका छन्। केन्द्रमा पुगेका मजदुरका बालबालिकालाई कखरा सिकाउने, १,२,३.. गन्ती सिकाउने र सँगै मनोरञ्जन गराउने गरिएको छ।

जिल्लाको पाँचवटा इँट्टा उद्योगले बालबिकास केन्द्र नै स्थापना गरेर मजदुरका बालबालिकाको स्याहार गर्न थालेको छ। एभरेस्ट इँट्टासहित नौबिसेको रक्तकाली इँट्टा उद्योग, जीवनपुरको हिमाल इँट्टा उद्योग, थाक्रेको यति टायल एन्ड ब्रिज प्रालि र पिडाको राजधानी इँट्टा उद्योगमा ग्लोबल फेयरनेस र प्रयास नेपालले बेटर ब्रिक नेपाल कार्यक्रम सञ्चालन गरिरहेको छ। बालविकास केन्›को शैक्षिक र प्राविधिक व्यवस्थापनको जिम्मेवारी लिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए।

बालबालिकाको शिक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर बालविकास केन्द्र स्थापना गरिएको एभरेस्ट इँट्टा उद्योगका सञ्चालक रामकुमार चापागाईंले बताए। बालश्रम निषेधित क्षेत्र बनाउने अभियान स्वरुप यस्तो काम थालेको पनि उनले बताए। एभरेस्ट इँट्टा उद्योगमा हाल एक सय २० परिवारका पाँच वर्षमुनिका ४५ बालविकास केन्द्रमा र विद्यालय उमेरका ३० जना नजिकैको विद्यालयमा पढ्न थालेका छन्।

बेटर ब्रिक कार्यक्रम सञ्चालन गरिएका पाँच उद्योगमा विभिन्न जिल्लाका करिब नौ सय मजदुर कार्यरत छन्। उनीहरुका एक सय ५० विद्यालय उमेरका र एक सय २५ पाँच वर्षमुनिका बालबालिका रहेको बेटर ब्रिक कार्यक्रमका फिल्ड संयोजक प्रदिन श्रेष्ठले जानकारी दिए। तीमध्ये रामेछाप, सर्लाही, मकवानपुर, हेटौंडा, पर्सा रोल्पा जिल्लाका धेरै छन्।

विद्यालय उमेर पुगेर नजिकैको सरकारी विद्यालयमा पढ्दै गरेका इँट्टाभट्टाका मजदुरका बालबालिकालाई प्रयास नेपालले गत आइतबार झोला, स्कुल पोसाक, जुत्तामोजा सहित शैक्षिक सामग्री उपलब्ध गराएको थियो। पोसाक र शैक्षिक सामाग्री नहुँदा विद्यालय जान नमानेकालाई विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको हो।

-नागरिक न्यूजबाट