एमालेले भन्यो– ‘राजविराज घटना दुःखद्’

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 cpnuml.office-e1466513119873

फागुन-२३  । नेकपा (एमाले)ले राजविराज घटनालाई दुःखद् भनेको छ । यही फागुन २१ बाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान अन्यन्त भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र अभियानमा लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको अवस्थामा सोमबार राजविराजमा कम्तीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबाट पार्टी दुःखी भएको एमालेले जनाएको छ ।

‘संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको नेकपा (एमाले) लाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थल नजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गर्ने जस्ता कामहरु गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधिहरु प्रदर्शन गरेका छन्,’ एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘हाम्रो पार्टीले मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको थियो । आजको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र बिध्वांसात्मक गतिविधिलाई नै पुष्टि गरेको छ ।’

एमालेले स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै फागुन २४, २५ र २६ गते तीन दिनका लागि गर्ने भनेको अभियानका कार्यक्रम स्थगित गरेको छ । ‘फागुन २७ गतेदेखि मेची–महाकाली राष्ट्रिय अभियान पूर्ववत् सञ्चालन हुने एमालेको भनाइ छ ।