logo

राजविराज घटना एमाले नेतृत्वको सुनियोजित हत्या प्रयास-एमालेको ठहर

695 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं,-प्रमुख प्रतिपक्षी दल एमालेले जनताको बीचमा जाँदा सत्तारूढ दलबाटै नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको निष्कर्ष निकालेको छ । मेची–महाकाली राष्ट्रिय अभियानलाई अवरोध गर्दै सोमबार सप्तरीको राजविराजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा गरिएको आक्रमण पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित योजनाअनुसार भएको ठहर एमालेले गरेको हो ।

‘अभियानअन्तर्गत शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चासम्बद्ध मानिसहरूले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने र सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्नेजस्ता आततायी कार्य गरे । सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ताहरू राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हालेर आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरियो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले भने । एमालेका अनुसार गजेन्द्रनागराण सिंह औद्योगिक क्षेत्रस्थित कार्यक्रमस्थलमा पुग्ने बाटाका विभिन्न स्थानमा बमसमेत राखिएकामा सुरक्षाकर्मीहरूले निष्क्रिय पारेका थिए ।

स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्वनिर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटोसमेत परिवर्तन गरे पनि सामूहिक हत्या गर्ने योजनाका साथ आक्रमण भएको एमालेको भनाइ छ । एमालेले राजविराज आक्रमण नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्र्ण रूपमा सभा–सम्मेलनलगायतका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला भएको बताएको छ ।

मोर्चाको आक्रमणबाट अभियानमा सहभागी एमाले कार्यकर्ताहरू ढुंगा लागेर घाइते भएका छन् भने ५० भन्दा बढी गाडीमा क्षति पुगेको छ । यस्तै, आधा दर्जन मोटरबाइकमा आगो लगाइएको छ । ‘यसो गर्नेहरूले सभ्य समाज, लोकतान्त्रिक मूल्य र मानवअधिकारका मान्यताको खिल्ली उडाएका छन् । उनीहरूको त्यस्तो क्रियाकलापको परिणाम राजविराजमा तीनजनाको ज्यान गएको छ र कतिपय घाइते भएका छन् । राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसहरूको जघन्य आपराधिक प्रवृत्ति र कामको कारणबाट भएकाले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ,’ एमालेले भनेको छ । एमालेले निर्वाचन बिथोलेर मुलुकमा संकट निम्त्याउन मधेसी मोर्चा आतंकपूर्ण र अराजक काममा लागेको निष्कर्षसमेत निकालेको छ ।

‘नेपालको संविधान र लोकतान्त्रिक व्यवस्थाअनुरूप २०७४ साल वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा भइसकेको र २०७४ साल मंसिर महिनासम्म प्रादेशिक र केन्द्रीय निर्वाचन भइसक्नुपर्ने स्थितिलाई बिथोलेर देशलाई अन्योल, अनिश्चय, द्वन्द्व र संकटमा धकेल्ने दुराशयका साथ नेकपा एमालेको शान्तिपूर्ण कार्यक्रममा आक्रमण गरिएको छ,’ महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एमालेले गत २१ फागुनदेखि तराई मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको थियो । तराई मधेसका जनतालाई जगाउन सुरु गरेको अभियान सप्तरीको राजविराज पुगेपछि मोर्चाले अवरोध गरेको थियो । एमाले उपाध्यक्ष भीम रावलले कार्यक्रम बिथोल्ने, जनतालाई उक्साउने र भ्रम फैलाउने काममा मधेसी मोर्चा प्रत्यक्ष सहभागी भएको बताए ।

राजविराजको घटना, राजविराजलगायतका स्थानमा आगजनी, ढुंगामुढा गर्ने, पार्टी कार्यालयमा आगो लगाउने, राजनीतिकर्मीहरूलाई धम्क्याउँदै उनीहरूको अधिकारमा प्रहार गर्ने जस्ता कानुन र मानवअधिकारविरोधी कार्यमा संलग्नलाई कानुनी कारबाही गरी जनताको जीउधनको सुरक्षा र शान्तिको व्यवस्था मिलाउन एमालेले सरकारसँग मागसमेत गरेको छ । राजविराज आक्रमणका प्रत्यक्षदर्शी एमाले नेताहरूले मोर्चाको नाममा भएको वितण्डा कुनै पनि हालतमा क्षम्य नहुने भन्दै सरकार र मधेसी मोर्चाले घटनाको जिम्मेवारी लिनुपर्ने बताए । ‘यस्ता दुराशययुक्त कुकृत्यमा पर्दा हाल्न एमालेका कार्यकर्ताले मधेसी मोर्चाका मानिसलाई ढुंगा हानेको र एमालेको कारण घटना भएको जस्ता दुस्प्रचारको खण्डन गर्दै एमालेले राजविराज घटनाको यथार्थ छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न सरकार र राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरेको छ ।

राष्ट्रिय एकता, अखण्डता, स्वाभिमान, संविधान कार्यान्वयन, सामाजिक सद्भाव र समृद्धिका लागि एमालेले सञ्चालन गरेको अभियानका क्रममा जनताको व्यापक सहभागिता देखेर विरोधीहरू आत्तिएको एमालेले जनाएको छ । घटनापछि सरकारले चालेको कदमले झनै आशंका सिर्जना गरेको एमालेले जनाएको छ । सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई फिर्ता बोलाउने गृह प्रशासनको निर्णयले अझ आशंका बढाएको एमालेको भनाइ छ । अभियान सुरु गरेदेखि नै गृहमन्त्री विमलेन्द्र निधिले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रवैया र भूमिकाको पृष्ठभूमिले उनी उन्मुक्ति नपाउने अवस्थामा रहेको पनि एमालेले जनाएको छ ।

संविधान, विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मानवअधिकारका मान्यताअनुरूप शान्तिपूर्ण अभियान चलाउँदा त्यसलाई बिथोल्न धम्की दिने, रोक्नका लागि त्रास फैलाउने, नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरूलाई कालोमोसो दलेर अपमान गर्ने, सवारीसाधन तोडफोड गर्ने, ठाउँ–ठाउँमा विस्फोटक पदार्थ राखेर आतंक सिर्जना गर्ने, कार्यक्रममा सहभागी नहुनका लागि घर–घरमा पुगेर धम्क्याउने जस्ता निन्दनीय कामहरू मधेसी मोर्चाका कार्यकर्ता भनिनेहरूबाट भएको एमालेको भनाइ छ । सबै नेपाली जनताबाट निर्वाचित सार्वभौम संविधानसभाले बनाएको नेपालको संविधानलाई कार्यान्वयन हुन नदिने, देशमा सामाजिक सद्भाव, एकता, शान्ति, स्थायित्व र विकास हुन नदिने, नेपाली जनतालाई आफ्नो भाग्य–भविष्यको फैसला आफैं गर्न नदिने षड्यन्त्र भइरहेको ठहर पनि एमालेको छ । एमालेले तीन दिनका लागि स्थगित अभियान पूर्ववत् रूपमा सञ्चालन गर्ने जानकारी पनि दिएको छ ।

-राजधानी दैनिकबाट 


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic