‘कि मर्न देऊ, कि उपचार गर’
532 पटक पढिएको
धादिङः ‘कि छोरो मर्यो भनेर माया मारेर हिड्न पत्यो । कि आमाछोराले सँगसँगै प्राण त्याग्न पर्यो । मसँग अरु विकल्प रहेन ।’ यति भनिसक्दा नसक्दै धादिङको धुवाकोट-५ कि पार्वती न्यौपानेको आँखामा आँशु भरिसकेको थियो । भक्कानिदै उनले थपिन, ‘आजसम्म यही छोराको मायाले नै बाँचिहेको छु, यो मरेको दिन म पनि बाच्दिँन होला ।’
काखमा रहेको ४ वर्षे छोरालार्इ विश्वकै दुर्लभ रोगले सताएपछि उपचार गर्ने कुनैपनि विकल्प नहुँदा पार्वती न्यौपाने निकै निराश भएकी छिन् । छोराको उपचारको लागि पाटन अस्पतालको आर्इसीयू बेडमा तीन महिनासम्म राखेर ४ लाख रुपैया खर्च गरिसकेकी पार्वतीले अब छोरालार्इ बचाउने आश मारिसकेकी छिन् । उनले भनिन्, ‘एक्लो ज्यान, कमार्इ केही छैन, महिनाको दश हजार रुपैयाको औषधि खुवाएर म एउटीले कसरी यो छोराको प्राण धानु।’
पार्वतीको ४ वर्षे छोरा अनमोल न्यौपानेलार्इ मिर्गौलाभन्दामाथि हुने ग्रन्थीमा खराबी आएपछि बच्चाको विकासमै असर पर्ने किसिमको घातक रोग लागेको छ । मृगौला भन्दा माथि हुने ग्रन्थीमा खरावी आएपछि बच्चाको बृद्धि विकासमा नै असर पर्ने जन्मजात देखिने घातक रोग विश्वमै दुर्लभ भएको र हरेक २० हजार जनामध्ये १ जनामा देखा पर्ने चिकित्सकहरु बताउँछन् । ४ वर्षको भएका अनमोल न त उभिन सक्छन्, न त बोल्न नै । यताउता पल्टाउन पनि आमाले सहयोग गनुपर्ने अनमोललार्इ महिनाको १० हजार रुपैया बरावरको औषधि जीवरभर खुवाउनुपर्ने कुरा डाक्टरले बताएपछि छोरालार्इ बचाउने आस मरेको पार्वतीले बताइन् । ‘छोरालार्इ बचाउन जीवनभर औषधि खुवाउनुपर्ने र औषधि पनि सजिलै नेपालमा नपाइने भएका कारण मेडिकलसंग सम्पर्क गरेर भारतबाट मगाइरहेकी छु ।’ उनले भनिन् ।
सम्पतीको नाउमा पार्वतीसंग एउटा झोला छ । झोलाभित्र छ, औषधिको स्लिप, बिल र डाक्टरी काजगपत्र देखी गाउँ विकास समिति देखी जिल्ला प्रशासन कार्यलय र अस्पतालले सिफारिस लेखिदिएका अनेकथरी पत्रहरु । आजकाल यिनै पत्रहरु लिएर पार्वती छोरालार्इ औषषि खुवाउने र उपचार खर्च जुटाउन हिँडिरहेकी छिन् ।
घरमा अंश लिन जाऊँ कुटेर मारिहाल्छन्, अन्त जाऊँ ठाउँ छैन । धन्न एउटी बहिनी छे र आजसम्म यही कोठामा भएपनि सहारा पाएकी छु । पार्वती न्यौपाने
जीवनभरलार्इ साथ दिन्छु भनेर नुवाकोट फिकुरी गाविस वडा नं ६ ताजीका गोकर्ण प्रसाद न्यौपानेसँग विहे गरेकी पार्वतीले छोरा बिरामी भएदेखी घरबाट समेत अपमान सहनुपर्यो । पार्वतीले भनिन्, ‘बच्चा नपाउन्जेलसम्म श्रीमान र घरपरिवारको पनि राम्रै साथ थियो । जब छोरोलार्इ यस्तो रोग लागेको थाहा भयो त्यही दिनदेखी मेरा दुःखका दिन सुरु भए। सुरुमा अस्पतालमा राखेर उपचार गराएपनि धेरै खर्च हुन थालेपछि श्रीमान र घर परिवारबाट हेलाँ गर्न थालेको उनले बताइन्।
छोरोलार्इ बचाएर राख्न जीवनभर औषधि खुवाउनु पर्ने भएपछि सधैँ कुट्ने पिट्ने खान नदिने भएपछि बाध्य भएर छोरो लिएर घरबाट निस्कनुपरेको पार्वतीले बताइन् । ‘यतिसम्मको हुन थाल्यो कि छोरो छाडेर घरबाट निक्ली, मरेपछि लगेर फालिदिउँला भन्न थालेपछि एउटी आमाको मन न हो, आँखै अगाडी छोरो मरेको त कसरी हेर्न सक्थे र?’ भक्कानिदै उनले भनिन्, ‘जतिन्जेलसम्म बचाउन सक्छु बोकेरै हिड्छु भनेर छोरो लिएर घरबाट निक्लिए ।’
नुवाकोटको घरबाट निक्लिएपछि उनी माइतीको सहारामा आएपनि धादिङ धुवाकोटमा रहेको माइती पनि खासै सम्पन्नसाली नभएकाले उनले कुनै सहयोग पाइनन । अहिले उनी धादिङवेशीमा रहेको आफ्नै बहिनीको भाडाको कोठामा रहेर बच्चाको औषधि खर्च जुटाउनको लागि दिनहुँ महिला विकास कायर्ललय, जिल्ला विकास समिति अनि जिल्ला स्वास्थ्य कार्यलय धाइरहेकी छिन्।
आफ्नै बहिनी गोमा घिमिरेको सदरमुकाम स्थित भाडामा लिएको कोठामा खाँदिएर बस्दै आएकी उनलार्इ घर निकाला गरिएपछि जाने ठाउँ कतै छैन । ‘घरमा अंश लिन जाउ कुटेर पिटेर मारिहाल्छन, अन्त जाउँ कतै ठाउँ छैन ।’ पार्वतीले रुदै भनिन, ‘धन्न एउटी बहिनी छे र आजसम्म यही कोठामा भनेपनि सहारा पाइरहेको छु ।’
आफ्नै प्रयासले १२ कक्षा पास गरेर स्नातक तह तेस्रो बर्षसम्म अध्ययन गरेकी पार्वतीले छोरो जन्मिएदेखी पढाइलार्इ निरन्तरता दिन सकिनन । उनले सुनेकी पनि छन असाहाय महिलाहरुको लागि हातेबुनाइका कामहरु गर्न पाइन्छ भनेर तर उनलार्इ त्यो कहाँ हुन्छ र कसले काम गर्न दिन्छ केही थाहा छैन । पार्वती भन्छिन, ‘यो छोरालार्इ साथैमा राखेर औषधि किनेर खुवाउने पैसा पाउने गरि कसैले काम गर्न दिए विहान बेलुका दुःख गरेरै भएपनि काम गर्ने थिए ।’
-अन्नपूर्णबाट