गणेश हिमाल बेस क्याम्प नजिकै १६ जना पर्यटक फसे उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो
553 पटक पढिएको
धादिङ २८ कार्तिक २०८१। आन्तरिक पर्यटकको आकर्षणको केन्द्र वन्दै गएको गणेश हिमाल बेस क्याम्प घुम्न गएका डिभिजन बन कार्यालय धादिङका प्रमुख बिष्णुप्रसाद आचार्य सहित १६ जना हाई अल्टिच्युडका कारण विरामी परेर फस्न पुगेका छन् । हाई अल्टिच्युटका कारण गणेश हिमाल बेस क्याम्प नजिकै बिरामी परेर फसेकाहरूलाई उद्धार गर्ने प्रयास असफल भएको छ । विरामी भएकाहरुको उद्धारमा गएको नेपाली सेनाको हेलिकप्टर खाली फर्किएको छ ।
खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो। पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।
ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन्।
डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुंगाना बिरामी परेका छन्। सँगै ट्रेकिङमा रहेका ११ जना भने रुविभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइपुगेका छन्।
पर्या–पर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा छन्। सोमबार राति त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिच्युटका कारण बिरामी परेका थिए।
त्यस स्थान नजिक मानवबस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि आज बिहानदेखि छ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए।
‘फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दूरीमा छ। त्यहाँ फोन लाग्दैन। सोमबार राति त्यहाँ पुगेको हो। अहिले पनि त्यही छ। हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ’, तिमल्सिनाले भने। ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उनले जानकारी दिए।
को को छन भ्रमण टोलीमा ?
कात्तिक २२ गते बिहीबार टोली भ्रमणमा निस्किएको हो । गणेश हिमाल बेस क्याम्प, गणेश कुण्ड, कालो दह, सेतो दहको यात्रा गर्ने टोलीको कार्यक्रम रहेको थियो ।
डिभिजन वन कार्यालय धादिंगको संयोजन र रुबीभ्याली गाउँ पालिकाको समन्वयमा गणेश हिमाल क्षेत्रको पर्यापर्यटनको प्रवर्धनको उद्देश्यले डिभिजन वन कार्यालय, धादिंगका ६ जना कर्मचारी डिभिजन बन अधिकृतबिष्णु प्रसाद आचार्य, नासु सन्दिप पाण्डे, रेन्जर अनुसुया ढुंगाना, सहायक बन रक्षक प्रेम रिमाल, ज्ञानहरि कुमाल, कबुलियती वन सुपरभाइजर रोजी तामांग, प्राध्यापक डा नबिनबन्धु पहाडी, संचारकर्मी मिलन तिमिल्सिना ( उज्यालो नेट्वर्क) , आकाश लम्साल (नीलकण्ठ एफ एम) रहेका छन् ।
त्यसै गरी टोलीमा रुबीभ्याली गाउँ पालिकाबाट बिपिन तामांग,मिन घले, प्रकाश घले, स्थानीय गाइड मर्कुस तामंग, दारा सिंग समेत भ्रमण टोलीमा रहेका छन् ।