‘स्वर्ग’जस्तै रुवीभ्याली
1190 पटक पढिएको
वैशाख १०, २०७४- रसुवाको लामटाङ र गोरखाको मनास्लु पदमार्गजस्तै उत्कृष्ट बन्नसक्ने सम्भावना भए पनि धादिङको रुवीभ्याली ओझेलमा छ । जुन सुन्दरतामा लाङटाङ र मनास्लुले चर्चा कमाएका छन् ती सबै विशेषता रुवी भ्यालीमा छ ।
रेडपाण्डासहित लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल, मनोरम बस्ती, नदी, सबैभन्दा सानो गुराँत सुनपातेसहित १४ थरिका लालीगुराँसका फूलका मनमोहन दृश्य यहाँका विशेषता हुन् ।
रुवी भ्याली काठमाडौंबाट सबैभन्दा नजिकको हिमाल प्याल्दोरको आधार शिविर हो । यो रसुवा, धादिङ र गोरखाको उत्तरी भेगमा पर्छ । यो पदमार्गलाई गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पहिचान गरेको हो ।
दुर्लभ बहुमूल्य पत्थर रुवी पाइने भएकाले यसको नामाकरण रुवी भ्याली गरिएको पर्यटन व्यवसायी कुलबहादुर गुरुङ बताउँछन् । यहाँका लापा, सेर्तुङ र तिप्लिङ गाविसलाई समाहित गरी रुवीभ्याली गाउँपालिका समेत नामाकरण भइसकेको छ ।
‘यहाँ कम्तिमा ५ देखि २१ दिनसम्मको लागि यात्रा गर्न सकिन्छ’, टानका पूर्व अध्यक्ष रमेश धमला बताउँछन् ।
रुवी भ्यालीमा लोपोन्मुख पाण्डा हाब्रेको बासस्थान पत्ता लागिसकेको उच्च पहाडी क्षेत्र संरक्षण अभियानका अध्यक्ष डेभिड घले बताउँछन् ।
तिप्लिङको तातोपानीका मुहान र सेर्तुङको तातोपानीका मुहान नेपालकै तातोपानीका ठूला कुण्डहरुमा पर्ने अध्यक्ष घलेको दावी छ ।
५ सय वर्ष पुराना बौद्ध गुम्वाहरु, ३ सय वर्ष पुराना ऐतिहासिक मठमन्दिरहरु रहेको यो भ्यालीमा मेन्हदोमाया लोकसंस्कृति, झाँक्रीनाच, लामा नाच, घोडानाचजस्ता परम्परा पर्यटकका लागि आकर्षणका केन्द्रविन्दु हुन सक्छन् ।
याक र चौंरीसँगै परम्परागत भेडीगोठ हरु पनि अवलोकन गर्न पाइन्छ ।
मनास्लुबाट लामटाङतर्फ जाने वा लामटाङबाट मनास्लु जाने पर्यटकले पनि २–३ दिन रुवी भ्यालीकै बस्ती हिंडेर पुग्छन् ।
-इ कान्तिपुर डट कमबाट