बालिका बलात्कार गरेको कसुरमा नुवाकोट तारकेश्वरका कुमार मजकोटीलाई ११ वर्ष कैद फैसला

440 पटक पढिएको

२५ फाल्गुन २०८१, आईतवार ०७:०४ सम्पादक: धादिङ न्यूज

धादिङ ।  बालिकालाई जर्वजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोटको तारकेश्वर गाउँपालिका–३ का २६ वर्षीय कुमार मजकोटीलाई जिल्ला अदालत धादिङले  ११ वर्ष कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायधिस मनकुमारी वि.क. जिएमको २२ गतेको इजलासले अपांगता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मजकोटीलाई १० वर्ष कैद र न्यून दृष्टि तथा न्यून सुनाइ (अपांगता) भएकी पीडित भएकोले थप १ वर्ष गरी ११ वर्ष कैद गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो।

जिल्ला न्यायधिस जिएमले कैदसँगै ५ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गर्नुभएको छ भने पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गर्नुभएको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।

कसुरदार मजकोटीले गल्छी गाउँपालिका–८ मा बालिकालाइ ०८१ मंसिर २९ गते बलात्कार गरेपछि निज बिरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा मंसिर ३० गते उजुरी परेको थियो ।

बालिकाको मंसिर ३० गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो।

कसुरदारलाई ३० गते गिरफ्तार गरि हिरासतमा राखेकोमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत पुस २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरि पुस २२ गतेदेखि कसुरदार पुर्पक्षका लागि थुनामा पठाएको हो।