यस्तै समस्याले पिरोलेका बु्रसबाङका चेपाङ समुदाय बस्ती सर्न तयार भएका छन् । ‘घर, करेसाबारी, स्वास्थ्यचौकी, विद्यालय, शौचालयजस्ता सुविधा मिले बस्ती सर्न तयार छौं,’ बु्रसबाङका ईश्वरी माया चेपाङले भनिन् । खानेपानीसमेत पेटभरि खान नपाएको बताउँदै ईश्वरीले बालबच्चाको शिक्षा र स्वास्थ्यका लागि पनि आफू सर्न तयार भएको बताइन् । यहाँ भर्खर जन्मेका बालबच्चाको पनि उचित स्याहारसुसार हुँदैन । पौष्टिक आहार त परैको कुरा हो राजधानी दैनिकमा खबर छ ।
चेपाङका दुःख
उनी भन्छिन्, ‘लेकको छोरी लेकमा रमाउँछ, जंगलको छोरी जंगलमा रमाउँछ, ६ महिनासम्म आमाको दूध, त्यसपछि साग सिस्नु ।’गाउँका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा जन्माएका छैनन्, घरमै जन्माउने गर्छन् । कसैले त अकालमै ज्यान गुमाउनुपरेको छ ।
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ को महाभारत पर्वत शृंखलामा रहेको गाउँ ‘ब्रुसबाङ’ का चेपाङ समुदायले बस्ती सारिदिन माग गर्दै सर्न तयार भएको बताएका छन् । खानेपानीको चरम संकट भोग्नु परेका चेपाङ समुदायका लागि पानी रगत जस्तै महँगो हुने गरेको छ । खानेपानीको समस्या समाधान हुने अवस्था नदेखेपछि उनीहरूले आफ्नो बस्ती नै सारिदिन जिल्लाका सरोकारवालाहरूसँग माग गरेका थिए । सरोकारबालासँगको छलफलमा बस्ती सर्न आफूहरू तयार भएको उनीहरूले बताएका छन् ।
आफ्नो पाखोबारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने चेपाङहरूमा खानेपानीको समस्याले बालबालिकाको शिक्षादीक्षा, खेतीपाती र पशुपालनमा समेत ठूलो समस्या पैदा गरेको छ । पूर्णबहादुर चेपाङ भन्छन्, ‘गाउँमा अहिलेसम्म मोटर बाटो पुग्न सकेको छैन भने विद्यालयको नाममा बाल विकासको एउटा कक्षा मात्रै छ । भावी पुस्ताका लागि पनि हामी बस्ती सर्न तयार भएका हौं ।’ सो वडामा खुला दिशामुक्त क्षेत्र अभियानका क्रममा विभिन्न संघसस्थाले शौचालयसमेत बनाइदिएको छ । तर पानीको अभावमा शौचालय प्रयोगविहीन अवस्थामा छन् । ब्रुसवाङको चेपाङहरूका लागि खाद्य अधिकारको वकालत गर्दै आएको फियान नेपालका राजेन्द्र बस्नेतले भने, ‘बु्रसवाङका चेपाङहरूले अहिलेसम्म धित मर्नेगरी पानी त खान पाएका छैनन् भने शौचालयको प्रयोग कहाँबाट गर्नु ?’ समुद्री सतहदेखि १ हजार ८ सय ४५ मिटर उचाइमा रहेको बु्रसबाङमा ३६ घर चेपाङ समुदायको बसोबास रहेको छ । ब्रुसवाङसम्म पुग्न पृथ्वी राजमार्गको मलेखु बजारदेखि एक दिनको पैदल यात्रा गर्नुपर्छ । ब्रुसबाङको खानेपानी समस्या समाधान गर्न धादिङका तत्कालीन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले १ करोड ४० लाख रुपैयाँ पनि विनियोजन गरिदिएका थिए । तर सम्भाव्यता अध्ययनको क्रममा गाउँमा कतैबाट पनि खानेपानी लैजान सम्भव नदेखिएपछि सो रकमले गाउँकै अन्य ठाउँको योजना निर्माणमा खर्च गरिएको थियो ।
ब्रुसबाङको स्थलगत अवलोकनका लागि सांसद एवं पूर्वस्थानीय विकासमन्त्री राजेन्द्रप्रसाद पाण्डे, जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपाल र विभिन्न संघसंस्थाका प्रतिनिधि पुगेका छन् । ब्रुसबाङमा कुनै पनि प्रविधिले खानेपानी र सडक बनाउन नसक्ने अवस्था नरहेकाले त्यहाँको बस्ती नै सार्ने योजनामा रहेको बताएका छन् । नयाँ बस्ती बसाउन उपयुक्त स्थानको खोजी भइरहेको पनि बताएका छन् ।