अध्यक्षमा चुनाव लडेका डा. भीम रावल एमालेबाटै बर्खास्त

102 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ,११ पुस २०८१ ।  नेकपा एमालेका नेता डा. भिम रावल एमालेको संगठित सदस्य समेत नरहने गरी पार्टीबाट हटाईएका छन् । बुधबार ललितपुरको च्यासलमा अध्यक्ष ओलीको अध्यक्षतामा बसेको एमालेको सचिवालय बैठकले डा रावललाई संगठित सदस्य समेत नरहनेगरी पार्टीबाट कारबाही गरेको पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको छ ।

११ औँ महाधिवेशनमा  फेरि अध्यक्षमै प्रतिस्पर्धा गर्ने भन्दै आन्तरिक गतिबिधिमा लागिरहेका रावल अन्ततः एमालेबाटै गलत्याइएका छन् । पार्टीको नीति र निर्देशन नमानेको भन्दै रावलप्रति एमालेको मुल नेतृत्वले विगतदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सचिवालय बैठकको निर्णय को जानकारी दिदै रावललाई संगठित सदस्यबाट हटाएको जानकारी दिएका हुन् । रावलले सल्लाहकारको भूमिका ननिभाएको र उनले दिएका अभिव्यक्तिले पार्टीलाई कमजोर गरेको बताउदै पार्टीको संगठित सदस्यबाट निलम्बन गरिएको ज्ञवालीले बताए ।

सचिवलायले रावल माथि पार्टीको निर्देशन नटेरेको आरोप लगाएपनि उनलाई पार्टीबाट निष्काशन गर्नुको मुख्य कारण भनेको आगामी महाधिबेशनमा अध्यक्ष पदको उम्मेदवार बन्नबाट रोक्नु रहेको बुझिएको छ । रावल १० औं महाधिबेशनमा पनि अध्यक्ष पदमा उम्मेदवार भएर केपि शर्मा ओली संग पराजित हुन पुगेका थिए ।

त्यस्तै एमालेको  बैठकले पार्टीको केन्द्रिय कार्यालय बनाउन मिनबहादुर गुरुङबाट दान लिएको विषयमा टिप्पणी गरेको विषयमा केन्द्रीय सदस्यद्वय बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको ज्ञवालीले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले पुस २१ र २२ गते च्यासलमा बस्ने गरी बैठकको मिति तय गरेको उनले जानकारी दिएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *