सरिता श्रेष्ठ
धादिङ -दसैंको रौनक सहरदेखि गाउँसम्म छाएको छ । टाढाटाढा रहेका परिवार, आफन्तजनको आगमनले दसैंलाई झनै रोचक बनाएको छ । परिवारसँग बसेर रमाइलो गर्ने, राम्रो लगाउने र मिठो खाने पर्वको रूपमा लिइने दसैंको उत्साह विदेश गएका परिवारजनमा भने खासै देखिएको छैन । धन कमाएर परिवारसँग खुसी साट्ने प्रण गरेर रोजगारीका लागि बिदेसिएकाहरू बेपत्ता भएपछि परिवारमा न दसैं आएको छ न खुसी नै । नीलकण्ठ नगरपालिकाकी खीनकुमारी लम्साल भन्छिन्, ‘छोरा मलेसियामा बेपत्ता भएको पनि १२ वर्ष भइसक्यो, छोरासँग बसेर रमाइलो गर्ने इच्छा पनि कहिल्यै पूरा हुने भएन ।’
विदेश जानुअघि दसैं मान्न आउँछु भनेर वचन दिएर मलेसियाको बाटो रोजेका कृष्णप्रसाद लम्सालको अत्तोपत्तो छैन । ‘न फोनमै कुरा गर्न पाइन्छ न घर नै फर्कन्छ, बुढेसकालमा सन्तानको माया पाउँछु भन्ने आस पनि म¥यो,’ खीनकुमारी रसिलो अनुहार लगाएर बिलौना गर्छिन् । सिद्धलेक गाउँपालिका–६ की देवकी पण्डितको पनि परिवारमा यसपालिको दसैं खल्लो हुने भएको छ । छोरा दामोदर पण्डित मलेसियामा बेपत्ता भएदेखि परिवारमा दसैंैको रौनक कत्ति पनि छाएको छैन । ‘दसैं आएपछि छोरा खुसी हुन्थ्यो, तर ऊ नै बेपत्ता छ मनमा खुसी छैन,’ देवकीले भनिन् । उनी भन्छिन्, ‘रुवाउने चाडपर्व कहिल्यै नआइदेओस् । दामोदर मलेसियामा बेपत्ता भएको पनि ११ वर्ष भइसक्यो, खोजीका लागि विभिन्न निकाय धाउँदासमेत कुनै अत्तोपत्तो छैन । हरेक दसैंैमा छोरा आउने प्रतीक्षामा देवकी बाटो कुरेर बसिरहेकी हुन्छिन्, तर छोरो आएको छैन ।’ धादिङ, नीलकण्ठ नगरपालिका–२ का सानुबाबु पौडेलको परिवारमा पनि दसैंैको रौनकले छोएको छैन । श्रीमती अस्मिता पौडेल वैदेशिक रोजगारका लागि कुवेत गएको ४ वर्ष भयो तर उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।
छोराहरू आमा आउने बाटो कुरेर बसिरहेका छन् तर आमाको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । ‘एक दसैं, अर्को दसैं भन्दै चार दसैं भइसक्यो आमालाई कुरेको, तर आमा आउनुभएन । यो दसैं पनि रुवाबासीमै सकिनेभयो,’ बच्चाहरूको यस्तो भनाइले सानुबाबु विक्षिप्त छन् ।
‘आर्थिक अवस्था सुधार गर्न बिदेसिएकी अस्मिताले छोराहरूलाई फोन गर्दा दसैंमा आउँछु भनेकी थिइन् तर छोराहरू दसैं आएपछि हाम्री आमा कहिले आउँछिन् भनेर सोध्छन्,’ श्रीमान् सानोबाबु पौड्यालले भने, ‘उनीहरूलाई कसरी बुझाउने ?’ यी त प्रतिनिधि पात्र मात्र हुन् । धन कमाएर परिवारलाई खुसी बनाउने अपेक्षा दिएर बिदेसिएकाहरू बेपत्ता भए पनि परिवारमा दसैंैको रौनक होइन, पीडा थपिएको छ । विदेशमा बेपत्ता भएका आफ्ना सन्तान घर फर्कने आशामा बसेका उनीहरूको आशा यसपालि पनि निराशामा परिणत भएको छ । खुसी, आत्मीयता र सम्बन्धलाई दरिलो बनाउने प्रण गर्दै बिदेसिएकाहरू विदेशी भूमिमै बेपत्ता हुनु परेको छ ।
विदेश उडाउने बेलामा बगाएको आँसु अहिलेसम्म रोकिएको छैन ।धादिङबाट बैदेसिक रोजगारमा गएकामध्ये ४५ जना अझै पनि बेपत्ता भएका छन् । जसमा ४० पुरुष र ५ महिलासमेत रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी मलेसियामा बेपत्ता भएका छन् । सुरक्षित आप्रवासी सामी परियोजना सञ्चालन गरिरहेको चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङले अभिलेखीकरण गरेको तथ्यांकअनुसार बेपत्ता हुनेहरूमा २५ जना मलेसियामा, तीन जना कतार, चार जना यूएई, तीन जना कुबेत, एक जना इराक, दुई जना जर्जिया, चार जना साउदी र तीन जना भारतमा बेपत्ता भएको सामी परियोजनाका कार्यक्रम संयोजक गंगा सुवेदीले जानकारी दिए ।
धादिङको उत्तरी क्षेत्रको रुविभ्याली, खनियाबास, गंगाजमुना लगातय गाउँपालिकाका झार्लाङ, तिप्लिङ, सेर्तुङ, री, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगिमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटारलगायत ठाउँबाट विदेशमा जाने र बेपत्ता हुने क्रम बढेको छ । सिड्स धादिङले सामी परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र स्थापना गरी वैदेशिक रोजगारीमा जाने, आउनेलाई परामर्शको कार्य सञ्चालन गरिरहेको छ । परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्न सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेका छन् ।
बेपत्ता हुनेहरूको खोजी गर्न सरकारबाट कुनै पनि निश्चित संयन्त्र नहँुदा विदेशमा बेपत्ता भएकाको खोजी गर्न अप्ठ्यारो परिरहेको छ । यद्यपि सूचना तथा परामर्श केन्द्र धादिङले विभिन्न छापा पत्रिका र अनलाइन मिडियासँग समन्वय गरी खोजी कार्यलाई तीव्र बनाएको छ ।
४५ बेपत्ताहरूमध्ये १४ जना मात्र सम्पर्कमा आएका छन् । अन्य कहाँ छन् र कस्तो अवस्थामा छन् अहिलेसम्म कुनै अत्तोपत्तो छैन । नेपालमा रोजगारीको अवसर नहुँदा लाखौं नेपाली वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेको छ ।
-राजधानी दैनिकबाट