भूकम्पका कारण विस्थापित २४ घरधुरीलाई जग्गा र लालपुर्जा

926 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lalpurja
धादिङ । भूकम्पका कारण विस्थापित हुन पुगेका धादिङका २४ घरधुरीले जग्गा र लालपुर्जा पाएका छन् ।
धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा पर्ने साविकका पाँच गाविस तिप्लिङ, सेर्तुङ, लापा, झार्लाङ, रि गाउँका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न तत्कालीन सभासद्हरुको टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो ।
पाँच गाविसका मानिसलाई भूकम्पपछि बर्खायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको थियो । तत्कालीन सभासद्हरु दिलमान पाख्रिन, धनबहादुर घले, पररशुराम तामाङ र पुष्पविक्रम मल्लको टोली भूकम्पपछि गाउँमा गई अध्ययन गरी बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो ।
भूकम्प र भूकम्पपछिको निरन्तरको पराकम्पन्न तथा पहिरोको कारण उत्तरी धादिङका धेरैवटा बस्तीका बासिन्दा विस्थापित भएका थिए । रुवीभ्याली गाउँपालिका–५ धादिङकी शान्तिमाया तामाङ भूकम्पपछि जिल्लाको सदरमुकाम धादिङबेसीमा डेरा लिएर बस्दै आइरहेकी छन् । ‘ज्याला मजदुरी गरेर मुस्किलले दुई छाकको जोहो भएको छ’, तामाङ भन्छन्, ‘सरकारले जग्गा किन्न दिएको दुई लाख रकमले गाउँ नजिकै बस्न योग्य ठाउँमा ५ आना जग्गा किनेको छु । अब गाउँमा फर्केर घर बनाउने हो ।’
गाउँमा भएको भए खेतीपाती गरेरै भए पनि सजिलै खान पुग्थ्यो । शहरमा दिनभरि काम गरे पनि राम्रोसँग खान नपुग्ने शान्तिमायाले बताइन् । धादिङमा सरकारले पहिलो चरणमा जग्गा किन्न दुई लाख रकम पाउने सूचीमा २०० जनाको नाम सार्वजनिक गरेको थियो । अहिलेसम्म २०० जना प्रभावित मध्ये २४ जना प्रभावितहरुले आवश्यक प्रक्रिया तथा मापदण्ड पूरा गरेपछि जग्गा किन्न २÷२ लाख रुपैयाँ पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङका प्रमुख रविचन्द्र पञ्जियारले बताए ।
सरकारले जोखिम बस्तीका बासिन्दा र भूकम्पका कारण घर बनाउने जग्गा नभएका प्रभावितको लागि बढीमा दुई लाख रकम दिएको हो । प्रभावितहरुको साविकको भन्दा अन्य ठाउँमा बस्नयोग्य जग्गा जमिन नभएको वडा कार्यालय र नगरपालिकाले प्रमाणित गरेपछि मात्र दुई लाख रुपैयाँ पाउन योग्य ठहरिएका हुन् । सामुदायिक आत्मनिर्भर सेवा केन्द्र धादिङले जग्गा खरिद गर्न अनुदान रकम पाइने फारमदेखि जग्गा पास गर्ने चरणसम्म सहजीकरण गरिरहेको छ ।
प्रभावितले दुई लाख रुपैयाँमा जग्गा किन्न श्रीमान् श्रीमतीको नाममा संयुक्त लालपुर्जा लिनुपर्ने हुन्छ । संयुक्त लालपुर्जा र लिखतको आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा बिक्री गर्ने जग्गा धनीलाई बैक खातामा चेक मार्फत रकम जम्मा गर्ने गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङका प्रमुख पञ्जियारले जानकारी दिए ।
जिल्लाको साविकको तिप्लिङ, सेर्तुङ, लापा, रिगाउँ, झार्लाङ गाविसमा करिब १० वटा बस्तीहरुको पुनः भौगर्विक सर्वेक्षण भएको छ । तर, केन्द्रीय प्राधिकरणबाट अध्ययनको नतिजा भने प्रकाशन हुन बाँकी रहेको बताइएको छ ।
भूकम्पले हल्लाएका ठूलाठूला ढुंगाहरु अनि त्यही पहाडभन्दा तल बस्ती भएकाले कति खेर त्यो पहाड झर्छ र चेप्छ भन्ने त्रास त्रासमा रहेका विस्थापितहरुको लागि पुर्नस्थापना जरुरी भएको गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारी बताउँछन् ।