नेपाल टेलिकमको प्रिपेड मोबाइलमा सापटी सेवा शुरु

887 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौंः नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ ।

शुक्रवार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेका छन् ।

कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ ।

यस्तो सापटी रकम रु ५ देखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

कम्तीमा तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ ।

यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ ।

एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।