सामुदायिक बनभित्र संचालन गरिएका बालुवा उद्योग नियन्त्रणमा
1262 पटक पढिएको

धादिङ — बुढीगण्डकी किनार मैदीस्थित सामुदायिक वनमा अतिक्रमण गरि अवैधरुपमा संचालित ३ वटा बालुवा प्रशोधन केन्द्र (फिरफिरे) जिल्ला वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।

जिल्ला वन कार्यालय धादिङबाट जिल्ला वन अधिकृत इमानाथ पौडेलको नेतृत्वमा खटिएको गस्ती टोलीले जिल्लाको साविक मैदी गाविस–९ (ज्वालामुखी गाउँपालिका–१) माम पर्ने मजुवा सिमलटार महिला सामुदायिक वन क्षेत्रभित्र अवैध रुपमा राखिएका अवैध फिरफिरे नियन्त्रणमा लिएर नष्ट गरिएको हो।
सदरमुकाममा समेत सुराकी राखेर अवैध रुपमा खानी र वालुवा उद्योग संचालन गर्ने उद्योगीहरु गस्ती टोली गएको थाहा पाएर भागेका थिए। गस्ती टोलीले २ थान एचपी सिङ्गल फेज इलेक्ट्रिक मोटर, एक थान पम्पसेट बरामद गरेको छ। फिरफिरेका रबर बेल्ट लगायत सामानहरु एकीकृत पारी आगो लगाएर नष्ट गरिएको छ। गस्ती टोली धादिङवेसी, मलेखु, बेनिघाट, गोरखाको घ्यालचोक–दरबुङ हुदै उक्त स्थानमा पुगेको थियो।

वन कार्यालयका अनुसार जंगलभित्रको उक्त अवैध फिरफिरेमा स्थानीय मैदी ग्रामिण विद्युत सहकारी संस्थाले विद्युत उपलब्ध गराएको थियो। स्थानीय मैदी ग्रामिण विद्युत सहकारी संस्थाको नाममा केन्द्रिय प्रशाारण लाइनबाट विद्युत ट्रान्सफर्मर र मिटर जडान गरिदिएकाले ग्राहकलाई वितरण गर्ने र महसुल संकलन गर्ने जिम्मेवारी स्थानीय सहकारीकै भएको सदरमुकामस्थित नेपाल विद्युत प्राधिकरण ग्राहक सेवा शाखा प्रमुख ध्रुव थापाले बताए।

त्यसैगरी, जिल्ला वन कार्यालयले सामुदायिक वनभित्र गजुरी गाउँपालिकाले निर्माण गरेको ल्याण्डफिल साईट पनि पुरि दिएको छ। गाउँपालिकाले जिल्ला वन कार्यालय र स्थानीय सामुदायिक वनको अनुमति नलिइ गजुरी–२ आँपचौरमा काशीखोला सामुदायिक वन क्षेत्रभित्र कानुन विपरित जंगल अतिक्रमण गरेर फोहरमैला फाल्ने नाममा वन अतिक्रमण गरिएको जिल्ला वन अधिकृत पौडेलले बताए।