हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा तिहार पछि उद्योगले परीक्षण उत्पादन शुरु गर्न सक्ने

861 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ खरमटारमा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

तनहुँस्थिति तल्लो मस्र्याङदी विद्युतगृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत लिने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंको वेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए ।

‘अन्य समयमा मस्र्याङदी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैंको वेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्वीचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने। ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत जडान गर्न सक्ने छ ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्वीचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङका अनुसार, स्वीचिङ स्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन् । ‘स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरुलाई विद्युत उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरिने छ’, उनले भने । ‘यसबाट त्यस क्षेत्रको विद्युत आपूर्तिसमेत विश्वसनीय हुने छ ।’

र यो पनि पढ्नुहोस

धादिङको ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग यस बर्षको तिहारलगत्तै सञ्चालनमा आउने भएको छ । उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन थाल्ने जनाएको छ ।

ह्वासिन सिमेन्टले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख ९५ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्यका साथ करिब १६ अर्बको लगानीमा उद्योग स्थापनाका लागि पुर्वाधार निर्माण गरिरहेको छ ।
चिनियाँ लगानीमा निर्माणाधीन उद्योग निर्माण अन्तिम चरणमा रहेको छ । जग्गा प्राप्तिका लागि स्थानीयको अवरोध, कोभिड १९ महामारी, बाढी लगायतका कारण उद्योग स्थापनामा ढिलाई हुन पुगेको थियो ।

ह्वासिन सिमेन्टका लगानीकर्ता चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्य रहेका छन् । ह्वासिन सिमेन्ट नारायणी प्रालिमा वैद्यको २० प्रतिशत लगानी छ भने चिनियाँ ८० प्रतिशत लगानी रहेको उद्योगले जनाएको छ ।
उद्योगका नेपाली लगानीकर्ता वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । बैद्यका अनुसार तिहारलगत्तै उद्योग सञ्चालनमा ल्याउने तयारी छ । सुरुमा करिब १४ अर्ब लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उद्योगमा लगभग २ अर्ब लागत बढेको छ । नौ महिनामा निर्माणसम्पन्न गरी दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु भएको हो।

ह्वासिन सिमेन्ट क्लिङ्कर बेस उद्योग हो । सन २०१६ मा दर्ता भएको कम्पनीले २०१७ मा खानी खरिद गरेर २०१८ मा लगानी स्वीकृत गरि २०१९ मा उद्योग निर्माण सुरु गरेको थियो । सन् २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु भएको उद्योग गत बर्षको कोरोना संकटका कारण उद्योग पुर्वाधार निर्माण अवधि लम्बिन गएको संचालक बैद्यले वताउनुभयो ।

ह्वासिन नेपालको सिमेन्ट उद्योग करिब ५ सय रोपनी जग्गामा उद्योग निर्माणको काम भइरहेको छ । धादिङ र मकवानपुरमा रहेको आफ्नै चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने योजना छ ।

सरकारले सिमेन्ट उद्योगमा पुग्ने बाटो र विद्युत् लाइनको निर्माण गर्नुपर्ने भए पनि सरकारी ढिलाइले उद्योग आफैँले निर्माण गरिरहेको छ । तर स्थानीयले यसैमा समेत विरोध जनाउँदा विद्युतको काम अझै बाँकी रहेको कम्पनीले जनाएको छ।

ह्वासिनले १ हजार बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिने बताएको छ । ह्वासिन सिमेन्ट सञ्चालनमा आएपछि भारतमा १ लाख टन सिमेन्ट निर्यात गर्ने घोषणा गरेको थियो । प्रतिनिधि सभाका तत्कालिन सभामुख कृष्णबहादुर महराले २०७५ साल फागुन १७ गते उद्योगको शिलान्यास गरेका थिए ।