ह्वासिन सिमेण्ट उद्योग तिहारपछि सञ्चालनमा आउने

1360 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,७ असोज – धादिङको ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग यस बर्षको तिहारलगत्तै सञ्चालनमा आउने भएको छ । उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन थाल्ने जनाएको छ ।

ह्वासिन सिमेन्टले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख ९५ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्यका साथ करिब १६ अर्बको लगानीमा उद्योग स्थापनाका लागि पुर्वाधार निर्माण गरिरहेको छ ।
चिनियाँ लगानीमा निर्माणाधीन उद्योग निर्माण अन्तिम चरणमा रहेको छ । जग्गा प्राप्तिका लागि स्थानीयको अवरोध, कोभिड १९ महामारी, बाढी लगायतका कारण उद्योग स्थापनामा ढिलाई हुन पुगेको थियो ।

ह्वासिन सिमेन्टका लगानीकर्ता चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्य रहेका छन् । ह्वासिन सिमेन्ट नारायणी प्रालिमा वैद्यको २० प्रतिशत लगानी छ भने चिनियाँ ८० प्रतिशत लगानी रहेको उद्योगले जनाएको छ ।
उद्योगका नेपाली लगानीकर्ता वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । बैद्यका अनुसार तिहारलगत्तै उद्योग सञ्चालनमा ल्याउने तयारी छ । सुरुमा करिब १४ अर्ब लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उद्योगमा लगभग २ अर्ब लागत बढेको छ । नौ महिनामा निर्माणसम्पन्न गरी दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु भएको हो।

ह्वासिन सिमेन्ट क्लिङ्कर बेस उद्योग हो । सन २०१६ मा दर्ता भएको कम्पनीले २०१७ मा खानी खरिद गरेर २०१८ मा लगानी स्वीकृत गरि २०१९ मा उद्योग निर्माण सुरु गरेको थियो । सन् २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु भएको उद्योग गत बर्षको कोरोना संकटका कारण उद्योग पुर्वाधार निर्माण अवधि लम्बिन गएको संचालक बैद्यले वताउनुभयो ।

ह्वासिन नेपालको सिमेन्ट उद्योग करिब ५ सय रोपनी जग्गामा उद्योग निर्माणको काम भइरहेको छ । धादिङ र मकवानपुरमा रहेको आफ्नै चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने योजना छ ।

सरकारले सिमेन्ट उद्योगमा पुग्ने बाटो र विद्युत् लाइनको निर्माण गर्नुपर्ने भए पनि सरकारी ढिलाइले उद्योग आफैँले निर्माण गरिरहेको छ । तर स्थानीयले यसैमा समेत विरोध जनाउँदा विद्युतको काम अझै बाँकी रहेको कम्पनीले जनाएको छ।

ह्वासिनले १ हजार बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिने बताएको छ । ह्वासिन सिमेन्ट सञ्चालनमा आएपछि भारतमा १ लाख टन सिमेन्ट निर्यात गर्ने घोषणा गरेको थियो । प्रतिनिधि सभाका तत्कालिन सभामुख कृष्णबहादुर महराले २०७५ साल फागुन १७ गते उद्योगको शिलान्यास गरेका थिए ।