प्रविधिको दुरुपयोगले निम्त्याएको दुःख

184 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • गायत्री खतिवडा

गएको हप्ता स्नातक पास गरेकी एक महिला साथीले सुनाइन् आफ्नो फेसबुक म्यासेन्जरमा चिनेको एक उच्च तहको व्यक्तिले लभ सिग्नलको स्टिकर पठाएर हैरानी दिन्छन् । जब राती ९ बजे पछिको समय हुन्छ त्यसपछि शुरुशुरुमा कुराकानी गरे जस्तो गर्ने अनि स्टिकर पठाउने, कुराले आफुलाई सधैं तनाव दिन्छ भन्ने कुरा ।

अर्को एक जना महिला साथीले त्यस्तै अनुभव बाँडिन् । आफुले मान गरेको र त्यस्तो गर्ला भनेर नसोचेको व्यक्तिले आफ्नो निजी जीवनका बारेमा सोध्ने गरेको र फोटो पठाउन अनुरोध गर्ने गरेको उनको अनुभव थियो ।

अर्को एक जना महिला फोनमा बोलेको भरमा कहिल्यै नभेटेको र नदेखेको

व्यक्तिसंग विवाह गर्न भनेर घर छोडेर हिंडिन् । तर भेटेपछि उनी छाँगाबाट खसेजस्तो भइन् । किनकी फोनमा बोल्दा उक्त पुरुषले जे जस्तो बताएको थियो त्यो सवै झुट रहेछ । उक्त पुरुषले आफ्नो नाम, उमेर, ठेगाना, पेशा, सवै ढाँटेको थाहा पाएपछि उनी निकै दुखी बनेको कुरा मसंगको भेटमा सुनाइन् ।

त्यस्तै अर्की एक १८ वर्षकी किशोरी कहिल्यै नभेटेको र नचिनेको केटासंग बिहे गर्न भनेर घरदेखि भागिन् । उक्त पुरुषले झापा ठेगाना बताएको भरमा नचिनेको मान्छेसंग विहेगर्न धादिङदेखि भागिन् । परिवारले थाहा पाएर वीच बाटोबाट फिर्ता गरे । तर उनी त्यहीकेटा संग जाने अड्ढी कसिरहेको अवस्थामा उक्त व्यक्तिको बारेमा बुझ्दा उसले किशोरीसंग नाम, थर, पेशा र परिवारको बारेमा बताएको सवै कुरा झुठ देखियो ।

मैले भेटेका यि केही व्यक्ति उदाहरण मात्रै हुन् । पछिल्लो समयमा धेरै किशोरी र बालिकाहरु फोन मार्फत गरिने र्दुव्यवहारको शिकार भएका छन् । कसैले लोभ र प्रलाभन देखाएर , कसैले साथीको नाताको दुरुपयोग गरेर र कसैले कामसंगको सम्बन्धको दुरुपयोग गरेर शोषणको शिकार भएका छन् ।

समयसंगै महिला, किशोरी र बालिकामाथी हुने हिंसा र शोषणको स्वरुप पनि बदलिएको छ । पहिले पहिले हिंसा भनेको कुटपिट ,घर निकाला वा बलात्कार मात्रै हो भन्ने बुझाइ थियो । जमाना बदलिएसंगै घटनाको स्वरुप बदलिएको छ । पहिले घरेलु हातहतियार प्रयोग गरि गरिने अपराध सुनिन्थ्यो देखिन्थ्यो अहिले प्रविधीको दुरुपयोग गरि गरिने अपराधबारे सुनिन र देखिन थालेको छ ।

आज भन्दा पाँच÷सात वर्ष अघिसम्म पनि बहुविवाहलाई समाजले हिंसा नै भन्दैनथियो । यो पुरुषको पुरुषत्व वा मर्द हुनुको पहिचान मानिन्थ्यो । मर्दकी १० वटी भन्ने उखान बनाएर सामान्यकरण गर्ने गरिन्थ्यो । आज पनि गाउँघरमा छोराले पाल्न सक्छ भने ल्याओस् न त ! भन्ने गरिन्छ ।

घरेलु हिंसालाई लोग्नेस्वास्नीको झगडा परालको आगो भनेर बेवास्ता गरिन्थ्यो । यदाकदा अहिलेपनि गरिन्छ । श्रीमानलाई मुख फर्काउने आइमाइ कुकुर्नी हुन्छे ,आँखा तरेमा डेरी हुन्छे भन्ने जस्ता कहावतले उल्टै महिलालाई दोषी करार गरिन्थ्यो ।

यस्ता अनेकन उखानटुक्का, भनाइ, लघुकथाहरु छन् जस्ले महिलालाई नीच भन्दा नीच दर्जामा राखेको छ । यस विषयमा अर्को बसाइमा कुरा गर्नेछु । आज यहाँ उल्लेख गर्न खोजको विषय प्रविधिको दुरुपयोग गरि हुने र्दुव्यवहारको विषय हो ।

जब कोरोना महामारी आयो त्यसपछि सवैजना घरभित्र खुम्चिन बाध्य भए । स्कुल कजेल बन्द भयो । लामो समयसम्मको बन्दाबन्दि पछि बिद्युतको सुविधा पुगेका विद्यालयले अनलाइन मार्फत बालबालिकालाई पढाउने व्यवस्था शुरु गरे ।त्यसपछि सवै बालबालिकाको हात हातमा मोबाइल, ल्यापटपको पुग्यो । यसभन्दा पहिले जुन संख्यामा मोबाइलको पहुँच थियो त्यो भन्दा दोब्बर तेब्बर संख्याको पहुँचमा पुग्यो । र आपराधिक मानसिकता भएका व्यक्तिलाई अपराध गर्न बाटो सहज बनाइदिएको जस्तो भयो । सामाजिक सञ्जाल र अनलाइनको दुरुपयोग गरि बालबालिकामाथी र्दुव्यवहार, शोषणको घटना बढ्न थाल्यो ।

अहिले हरेक दिन जसो बालबालिकाहरु अनलाइन र सामाजिक संजाल मार्फत गरिने र्दुव्यवहारबाट पीडित भएको घटना बाहिर आउँछ । नेपाल प्रहरी साइबर ब्युरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७।०७८ मा ३ हजार ९ सय ६ वटा घटनाको उजुरी परेको छ । जसमा बालक ५६ जना, बालिका १५२ जना र महिलाको संख्या २ हजार ३ जना रहेका छन् । पीडित हुनेमा पुरुष पनि रहेका छन् । पुरुषको संख्या १ हजार ४ सय ७१ छ भने १ सय २४ जना यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरु रहेका छन् । आर्थिक वर्ष ०७८।०८९ मा घटनाको संख्या बढेको देखिन्छ । ४ हजार ६ सय ८६ वटा घटना भएको छ । जसमा ४१ जना बालक, १ सय ४२ जना बालिका, २ हजार ३ सय ८९ जना महिला, १ हजार ८ सय ९८ जना पुरुष र २ सय १६ जना यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरु रहेका छन् ।

यो आर्थिक वर्षको हालसम्ममा सामाजिक संजाल र अनलाइन मार्फत गरिने र्दुव्यहारको घटनाको उजुरी अघिल्लो आर्थिक वर्षहरुमा भन्दा धेरै देखिन्छ । ६ हजार ७ सय ८८ वटा घटनाको उजुरी परेको साइबर ब्युुरोको तथ्याङ्क रहेको छ । जसमा ३३ जना बालक, ८७ जना बालिका, ३ हजार ४ सय ६४ जना महिला, २ हजार ७ सय ७८ जना पुरुष र ४ सय २६ जना यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरु रहेका छन् ।

हरेका वर्ष बढेको यो तथ्याङ्कले पनि अपराधको घटनाको भयावह अवस्था देखाउँछ । यो उजुरीमा गएकाको संख्या हो । उजुरीमा जान नसकेका वा थाहा नभएका वा पहुँच नभएका पीडित व्यक्तिको तथ्याङ्क अझै धेरै हुन सक्छ । किनकी प्रविधी मार्फत गरिने यस्तो र्दुव्यवहारको उजुरी दिने निकाय अहिलेसम्म एउटा मात्रै छ । नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा मात्रै उजुर गर्न सकिने व्यवस्था छ । यस सम्बन्धिको मुद्दा पनि काठमाडौं जिल्ला अदालतमा मात्रै चल्छ । त्यसकारण पनि सवैको साइबर अपराध सम्बन्धि जानकारीको पहुँच सवैमा पुग्न सकेको छैन । सुदुर पश्चिम या सुदुर पूर्वको मान्छेलाई उजुरी गर्न आउन जान नै समस्या छ । मुद्दा लड्न गा¥हो छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको अनुसार सवैभन्दा धेरै उजुरी फेसबुक म्यासन्जर गरिएको र्दुव्यवहारको बारे परेको छ । आर्थिक वर्ष २०७७।०७८ मा ३ हजार ४ सय ५१, आर्थिक वर्ष ०७८।०८९ मा ३ हजार, ९ सय ५६, र यो आर्थिक वर्षमा ५ हजार ९२ वटा घटना फेसबुक म्यासेन्जरबाट भएको देखिन्छ । त्यसपछि टिकटक, इन्टाग्राम, ह्वाट्अप, र युटुबबाट धेरै हुने गरेको तथ्याङ्क छ । साथै भाइबर, इमो ,टुइटर, इमेल ,इ सेवा बाट पनि र्दुव्यवहारकोे घटना भएको देखिन्छ ।

सवैको हात हातमा एन्ड्रोइड मोबाइल हुने र अरु एपहरु चलाउन नजानेपनि फेसबुक र टिकटक चै सवैले चलाउन जान्ने भएकोले पनि यि माध्यमबाट धेरै घटना भएको हुन सक्छ सायद । साइबर सुरक्षा सम्बन्धी जानकारीले अभावले धेरै व्यक्तिहरु र्दुुव्यवहारको शिकार भएका छन् ।

खासगरि बालबालिका र किशोरीहरु आपराधिक मानसिकता भएका व्यक्तिको पहुँमा छिटो पुग्छन् । शिक्षा, चेतना र आर्थिक रुपमा कमजोर भएका महिला पनि चाँडै विश्वासमा पर्ने, लोभमा फस्ने गरेको देखिन्छ । कसरी सुरक्षित रुपमा सामाजिक सञ्जाल चलाउने भन्ने बारेमा अहिलेसम्म कुनै मिडिया वा कुनै निकायले प्रचार गरेको छैन ।

अनलाइन र सामाजिक सञ्जाल मार्फत गरिने र्दुव्यवहा र शोषणको रुप झनै गहिरो र डरलाग्दो हुन्छ । खासगरि बालबालिकाहरुले भन्न सकिरहा हुँदैनन् । १८ वर्ष भन्दा माथीका महिलाहरुले पनि लाज, डर, त्रासको कारण भन्न सकिरहेका हुँदैनन् । भित्रभित्रै मानसिक रुपमा विक्षिप्त हुँदै पीडा सहिरहेका हुन्छन् । नेपाल प्रहरीको तथ्याङ्क हेर्दा पनि बालक भन्दा बालिका धेरे पीडित भएको देखिन्छ । पुरुष भन्दा महिलाको संख्या धेरै छ ।

साइबर अपराध बाट आफ्ना बालबालिकालाई जोगाउनको लागि साइबर सुरक्षा र अपराधका बारेमा विद्यालय शिक्षा (पाठ्यक्रममा ) पनि समावेश हुन आवश्यक छ । हरेक घरका अभिभावकले आफ्ना बालबालिकालाई अनलाइन सुरक्षा र असुरक्षाको विषयमा सचेत पार्न आवश्यक छ । सरकारी, गैरसरकारी निकाय र मिडियाले यस विषयमा व्यापक प्रचार प्रसार गर्न जरुरी हुन्छ । प्रविधीलाई उपयोग गर्न जाने खुशी मिल्छ र दुरुपयोग गरे दुःख ।