अम्लेश्वर महादेव मन्दिरको पुरानो अवस्थाको खोजी
599 पटक पढिएको
केशव अधिकारी/ धादिङ न्यूज
धादिङ, २०८० भदौ ३ । धार्मिक,सांस्कृतिक,ऐतिहासिक एवम पर्यटकीय महत्व वोकेको अम्लेश्वर महादेवको मन्दिर पुरानै अबस्थामा पुर्ननिर्माण गर्नका लागि पहिलेको अवस्थाको खोजी हुन थालेको छ ।
अम्लेश्वर महादेव मन्दिर संरक्षण तथा व्यस्थापन समितिका अध्यक्ष भिमसेन पाण्डेका अनुसार धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा रहेको अम्लेश्वर महादेवको मन्दिर स्थापना कालकै अबस्थामा पुर्ननिर्माणका लागि पहल गर्न लागिएको हो । ऐतिहासिक तथा धार्मिक महत्व वोकेको अम्लेश्वर महादेवको मन्दिर पुरानै अबस्थामा पुर्ननिर्माण गर्न स्थानीयवासी,पालिका , प्रदेश र संघीय सरकार, पुरातत्व विभाग र अन्य सरोकारवाला निकाय संग समन्वय गरी सहयोग जुटाईने अध्यक्ष पाण्डेको भनाई छ ।
मन्दिर पुर्ननिर्माणका लागि पहिलेकै अवस्था थाहा पाउन समितिका अध्यक्ष पाण्डेले केही दिन अघि पुननिर्माण गर्नु अघिको तस्बिर कोही संग भए उपलव्ध गराईदिन सामाजिक सञ्जाल फेसबुक मार्फत आग्रह गर्नुभएको थियो । अध्यक्ष पाण्डेको उक्त स्टाटसलाई स्थानीय युवाहरुले व्यापक प्रचार प्रसार समेत गरेका थिए । २०५२ सालमा मन्दिर भत्काईदै गरेको बेलाको श्याम श्वेत तस्बिर फेला परेको छ । त्यति बेला बैरेनी वजारमा फोटो स्टुडियो सञ्चालन गर्ने प्रेम बहादुर अधिकारीले खिच्नु भएको तस्बिर फेला परेपछि मन्दिरको तत्कालिन अबस्थाको केही दृष्य अनुमान गर्न सजिलो हुने भएको छ । समितिले अझै स्पष्ट देखिने तस्बिर कोही संग भए उपलव्ध गराईदिन समेत आग्रह गरिरहेको छ ।
अम्लेश्वर महादेवको प्यागोडा शैलीको ऐतिहासिक पुरानो मन्दिर २०५२ सालमा भत्काएर तत्कालिन शाही नेपाली सेनाले क्रंक्रिटको मन्दिर निर्माण गरिदिएको हो । सेनाले भत्काउनु अघि यस ठाउँमा विभिन्न आकृति कुंदिएका काठै काठले बनेको मन्दिर रहेको थियो । मन्दिरको भित्रि भाग ईटाबाट वनेपनि बाहिर भने आकर्षक चित्र कुँदिएका काठहरु रहेका थिए ।
श्री नम्बर ६ वाहिनी अड्डाले २०५२ साल माघ २६ गतेबाट मन्दिरको पुननिर्माण शुरु गरी २०५३ साल मंसिर ३ गते तत्कालिन बैरेनी गाविसलाई हस्तान्तरण गरेको थियो । मन्दिर पुननिर्माणका क्रममा पुरानो मन्दिरबाट निकालिएका विभिन्न आकृति रहेका काठ र टुँडालहरु कहाँ रहेको छ अहिले सम्म केही खुल्न सकेको छैन । सेनाले भत्काएको मन्दिर निर्माण हुंदा तेलीया ईटाको प्रयोग गरेर कालिगढद्धारा बुट्टा राखिएको काठको झ्याल ढोका र दलानको प्रयोग हुनुका साथै विभिन्न आकृति कुंदिएका टुंडाल राखिएको दलान सहितको चार वटा ढोका भएको मन्दिर रहेको थियो । संरक्षणको अभावमा मन्दिर जिर्ण वन्दै जानुका साथै मन्दिरमा रहेका घण्ट त्रिशूल चोरी हुंदै जान थालेपछि सेनाले पुराना सामाग्री हटाएर अहिलेको मन्दिर वनाईदिएको हो ।
२०५२ सालमा मन्दिरको पुनिर्माण गर्दा श्री नम्बर ६ बाहिनी अडडबाट ४५,०००, नेपाली सेनाका सहायक रथी मन्सुरा बिक्रम शाहबाट ४,००१,महासेनानी ज्ञानजङ्ग थापा बाट २५,००१, सेनानी महेन्द्र नाथ भट्टराईबाट १५००, मन्दिरका पाले बाबाबाट ९००, श्री धर्म सागरबाट १५०० र ग्यामन इन्डियाबाट ९००० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको मन्दिरमा राखिएको शिलालेखमा लेखिएको छ । मन्दिरको पुर्ननिर्माण कार्यको सम्पूर्ण रेखदेख महासेनानी ज्ञानजङ्ग थापा भएको शिलालेखमा उल्लेख छ ।
मन्दिर क्षेत्रमा रहेका पुराना पुरातात्विक महत्वका पाटी, पौवा विभिन्न आकृति अंकित पुराना टुंडाल हराउनुका साथै त्रिशूली नदीमा आएको बाढीले मन्दिर क्षेत्र कटानमा पर्न थालेपछि स्थानीयवासीको अग्रसरतामा २०५० सालमा पहिलो पटक विर वहादुर भण्डारीको अध्यक्षतामा अम्लेश्वर महादेव मन्दिर संरक्षण समितिको गठन गरिएको थियो । सोही समिति मार्फत मन्दिरको संरक्षणका लागि केही काम शुरुवात गरेपनि पर्याप्त आर्थिक श्रोत र समुदायको सहभागिता नजुटदा समिति निष्क्रिय हुन पुगेको थियो ।
अम्लेश्वर महादेव मन्दिर क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोकि धार्मिक तथा सांस्कृतिक महत्वको क्षेत्रलाई संरक्षण र विकास गर्न २०५४ सालमा बैरेनी गाविसको पहलमा तत्कालिन बैरेनी ९ नम्बर वडाका अध्यक्ष शिव वहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्यिय अम्लेश्वर महादेव संरक्षण तथा पर्यटन विकास समितिको गठन गरिएको थियो । समितिको अग्रसरतामा मन्दिर क्षेत्रको जग्गा पहिचान गरी तारवार लगाउनुका साथै पर्यटकीय क्षेत्र विकासका लागि केही योजना समेत तर्जुमा गरी कार्यान्वयन गरिएको समितिका तत्कालिन अध्यक्ष शिव वहादुर भण्डारी बताउनुहुन्छ ।
धार्मिक, सांस्कृतिक एवम पर्यटकीय महत्व बोकेको अम्लेश्वर महादेव मन्दिर क्षेत्र पहिचान जोगाउन र जिर्ण भएका सम्पदाको पुर्ननिर्माण गर्न अम्लेश्वर महादेव मन्दिर जिर्णोद्धार समिति मार्फत केही पुर्वाधार निर्माण समेत गरिएका छन ।
पृथ्वीराजमार्ग र त्रिशूली नदीको किनारमा रहेको अम्लेश्वर महादेव मन्दिर स्थापना कहिले भएको हो भन्ने तिथि मिति नभेटिएपनि मन्दिरको स्थापनाका बारेमा विभिन्न किम्वदन्तीहरु भने रहेका छन् । अम्लेश्वर महादेवको मन्दिर रहेको स्थानलाई महेशदोभान भनिन्छ । बिक्रम सम्वत १९२२ साल सम्म महेशखोला अहिलेको पृथ्वीराजमार्गको किनारै किनार भएर बैरेनी वजार हुंदै अम्लेश्वर महादेव मन्दिर नजिकै आएर त्रिशूली नदीमा मिल्ने भएकाले यो ठाउँलाई महेशदोभान भनिएको हो । महेशखोलालाई बिक्रम सम्वत १९२२ साल पछि अहिलेको गल्छी वजार रहेको ठाउँमा ठुला ठुला चट्टान काटेर त्रिशूली नदीमा मिसाईएको इतिहासमा उल्लेख छ ।
पृथ्वीनारायण शाह नुवाकोटमा विजय हासिल गरेर गोरखा फर्कने क्रममा त्रिशूली नदी छेउको चौतारामा वासवस्दा सपनामा महादेव भगवानले पृथ्वीनारायण शाहलाई थप विजयको आर्शिवाद दिाएपछि शाहले सो स्थानमा मन्दिर निर्माण गर्न लगाएको भन्ने पनि गरिन्छ । त्यसै गरी शिव देव कँडेल र धर्मदेव कँडेल जो यसै क्षेत्रका वासिन्दा थिए पछि गजुरीको डाँडागाउँमा बस्न थालेका थिए । कँडेल परिवारले मंसिरमा धान भित्र्याउने क्रममा खलामा धान थुपारेर बसेको बेला शुरुमा बाघ देखा परेको र केही बेरमा बाघ साँढेमा परिणत भएको र साँढेले जोगिको भेष धारण गरि त्यहाँबाट हिडेपछि जोगिको पछि पछि आउँदा महेशदोभान स्थित त्रिशूली नदीको भुमरीमा पसेर अलप भएपछि कँडेल परिवारले शिवको रुपमा पुजा आजा गर्न थालेको र शिला राखेको भन्ने किम्वदन्ती रहेको छ ।
कँडेल परिवारले अम्लेश्वर महादेवको स्थापना गराई पुजाआजा गराउन अहिलेको गल्छी ७ मा रहेको कुमाइ सिम्लेमा साठीमुरी माटो विर्ता वनाएर त्यहाँबाट आएको उव्जाउले पुजापाठ गर्दै आएकोमा बिक्रम सम्त १९६० मा चन्द्र शमशेरले उक्त जग्गा हरण गरिदिएको बसढापाकाहरुको भनाई छ । राणाले हरण गरेको जमिन तत्कालिन कर्णेल प्रताप सिंह राणले मन्दिरको नाममा गुठी राख्न कँडेल परिवारलाई फिर्ता दिएको र कर्णेल रानाको आदेशमा मन्दिरको स्थापना गरिएको भन्ने जनविश्वास पनि छ ।
काठमाण्डौं वाट ५० किलोमिटरको दुरीमा रहेको मन्दिर परिसर केही बर्ष अघि सम्म चलचित्र सुटिङ, पिकनिक स्पट,त्रिशूली नदीमा जलयात्राको प्रस्थान विन्दुका रुपमा प्रयोग हने गरेको थियो ।
अम्लेश्वर महादेव मन्दिरमा हरेक बर्ष जनै पूर्णिमा,हरितालिका, ऋषि पञ्चमी,ठूलो एकादशी,शिवरात्री लगायतका तिथिमा भव्य मेला लाग्ने गर्दछ । मन्दिर क्षेत्रमा पछिल्लो समय विभिन्न पुर्वाधार मात्रै निर्माण भएका छैनन, नदीतर्फको भागलाई फराकिलो समेत वनाईएको छ । मन्दिर नजिकै गल्छी गाउँपालिकाको प्रशासकीय भवन सञ्चालनमा आएपछि यो ठाउँको महत्व अझै बढ्दै गएको छ । मन्दिरमा पुग्नेहरुले आनन्दको अनुभव गर्छन् । पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको चहलपहल बढेको सो मन्दिर पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ ।
(गल्छी –६बराडाँडाका स्थायी वासिन्दा अधिकारी २२ बर्ष देखि धादिङ जिल्लामा निरन्तर पत्रकारीतामा हुनुहुन्छ ।)