साउदीमा  नेपालीले तिर्नु पर्ने जरिवाना २९ करोड ५४ लाख

97 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

साउदी । बैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपालीले जान अन्जानमा गरेको गल्तीका कारण त्यहाँको कानून अनुसार १ सय ७७ जना नेपालीले साउदी सरकारलाई  नेपाली रुपैयाँ २९ करोड ५४ लाख ६० हजार रुपैयाँ ( ८६ लाख ९० हजार साउदी रियल )जरिवाना तिर्नु पर्ने भएको छ ।

नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छाडेर अवैधानिक कामदार बन्न पुगेकाहरुलाई सम्झौता भएको कम्पनीले मुद्दा दायर गरिदिंदा कमाउन गएका नेपाली परदेशमा उल्टै जरिबाना तिर्न वाध्य भएका हुन । कति त कम्पनिमा बन्धक समेत हुने गरेका छन् ।

साउदीमा नेपाली कामदारको संख्या र माग धेरै छ। तर, नेपालमा गरिने सम्झौता र साउदीमा पुगेपछि हुने सम्झौतामा सेवा र सुविधामा निकै भिन्नता हुने गर्छ। ‘फ्रि भिसा फ्रि टिकट’ भन्ने गरिए पनि साउदी आउने कामदारसँग म्यानपावर कम्पनीले १ लाख देखि २ लाखसम्म उठाउने गर्छन्।

अर्कोतिर नेपालमा हुने सम्झौताअनुसार साउदीमा तलब र सेवासुविधा पाइँदैन। त्यसैकारण नेपाली कामदार आफू कार्यरत कम्पनीबाट भाग्ने गर्छन्। त्यसरी भागेपछि उनीहरू स्वतः अवैधानिक कामदार बन्छन्। अनि, सम्बन्धित कम्पनीले विभिन्न बहानामा भागेका कामदारविरुद्ध मुद्दा हाल्ने र लाखौं रियल जरिबाना तिर्न बाध्य बनाउने गरेका छन्।

सम्झौताअनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परेर आफू कार्यरत कम्पनी छाडेर भाग्दा सम्बन्धित कम्पनीले प्रत्येक व्यक्ति २ हजारदेखि ३ लाखसम्म जरिबाना तोकेर मुद्दा दायर गर्छन्। कतिपय मुद्दामा अदालतको फैसला प्रक्रियामा उपस्थित नहुँदा अदालतको फैसलाअनुसार जरिबाना बढ्दै जान्छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।